नेभिगेशन
स्वास्थ्य

पुतलीबजारमा सेवाग्राहीको निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा

स्याङ्जाको पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क जाँच सेवा सञ्चालनमा ल्याएको छ । पालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गर्दै पालिका परिसरमै आधारभूत स्वास्थ्य परीक्षण  मङ्सिर २४ गते  बुधबारदेखि सुरु गरिएको हो ।सेवाग्राहीसँगै जनप्रतिनिधि र कर्मचारीले पनि आफूमा मधुमेह र रक्तचापको समस्या छ कि छैन भन्ने सहजै थाहा पाउन सक्ने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो  । नागरिकको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी गराउने उद्देश्यले पहिलो चरणमा सुगर र रक्तचाप जाँच सुरु गरिएको उहाँको भनाइ छ ।

नगरप्रमुख रेग्मीले स्वास्थ्य सेवा विस्तार गर्दै क्रमशः अन्य उपचार तथा परीक्षण सेवा थप गर्ने योजना रहेको पनि बताउनुभयो  । नगरपालिकाभित्रका नागरिकको स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको उहाँको उल्लेख गर्नुभयो  ।मधुमेह परीक्षणका लागि आवश्यक ३० रुपैयाँ पर्ने कीट नगरपालिकाले खरिद गरेको र पालिकामा आउने सेवाग्राहीलाई सोही माध्यमबाट जाँच गरिने प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिनुभयो  । स्वास्थ्य परीक्षण गर्न चाहने नागरिकलाई  स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत ईश्वर थापाले सेवा दिइरहनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्