नेभिगेशन
राजनीति

स्याङ्जा क्षेत्र नं २ मा रास्वपाबाट डा. खनालको चर्चा

आसन्न प्रतिनिधि सभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट शिक्षाविद् डा. तुलसी प्रभास खनाल चर्चा हुन थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख डा. तुलसी प्रभास खनालले सामाजिक संजाल मार्फत  आफूलाई आकांक्षी उम्मेदवारको रूपमा प्रस्तुत गरेपछि उहाँ अहिले चर्चामा हुनुहुन्छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका–८ निवासी डा. खनालले शिक्षा, संस्कृति र अनुसन्धानलाई राजनीतिक नेतृत्वको मूल आधार बनाउने प्रतिबद्धतासहित  प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं २ बाट आकांक्षीको रूपमा  उम्मेदवारी सार्वजनिक गर्नुभएको हो।

संस्कृतिविद्, शिक्षाविद्, लेखक, प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित डा. खनाल तीन दशकभन्दा बढी समय अध्यापन क्षेत्रमा सक्रिय रहनुभएको छ। “तुलसी सर” का नामले देशभर परिचित उहाँले नेपालका १२० भन्दा बढी जातजातिको गहिरो अध्ययन गर्नुका साथै ८० वटा स्थानीय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

भीरकोट, वालिङ, गल्याङ, चापकोट र कालीगण्डकी क्षेत्रका सबै जातजाति तथा शैक्षिक अवस्थामाथि विस्तृत अनुसन्धान गर्नुभएका डा. खनाल भारतको नयाँ दिल्लीमा प्रयोगमा आएको “खुसी पाठ्यक्रम” का अनुसन्धानकर्ता समेत हुनुहुन्छ। साथै उहाँ गण्डकी प्रज्ञा प्रतिष्ठानका अनुसन्धान विज्ञका रूपमा रहेर काम गरिसक्नुभएको छ।

राजनीतिशास्त्र (बी.ए.), नेपाली (एम.ए.), शिक्षा योजना तथा व्यवस्थापन (एम.एड.) तथा नेपाली लोकसंस्कृतिमा विद्यावारिधि (पीएचडी) सम्मको शैक्षिक योग्यता हासिल गर्नुभएका डा. खनालले नेपाल र विदेशमा गरी दर्जनौँ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको छ। उहाँका ४० भन्दा बढी लघु अनुसन्धान सम्पन्न भइसकेका छन् भने देश–विदेशबाट विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ।

उम्मेदवारी घोषणा गर्दै डा. खनालले शिक्षामैत्री नीति, सांस्कृतिक संरक्षण, अनुसन्धान–आधारित विकास र सुशासनलाई आफ्नो राजनीतिक प्राथमिकता रहने बताउनुभयो। “शिक्षित नागरिक बिना समृद्ध राष्ट्र सम्भव छैन,” भन्दै उहाँले जनताको विश्वास र सहभागितामार्फत उत्तरदायी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै