नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
राजनीति

स्याङ्जा क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि १३ जनाको उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं. १ मा मंगलबार १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ११ वटा राजनीतिक दलबाट ११ जना र दुई जना स्वतन्त्र उम्मेदवार गरी कुल १३ जनाले मनोनयन पत्र दर्ता गराउनुभएको हो।

नेपाली कांग्रेसबाट आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट पुतलीबजार नगरपालिका–९ का मीनबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पुतलीबजार–५ का डा. धनञ्जय रेग्मीले उम्मेदवारी दर्ता गर्नुभएको छ। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीबाट अर्जुनचौपारी–५ का शैलेन्द्र घिमिरे र नेकपा (माओवादी) बाट पुतलीबजार–२ का सोमबहादुर परियारले उम्मेदवारी दिनुभएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बिरुवा–६ का हुकुमबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनका यामबहादुर गुरुङ, नेसनल रिपब्लिक पार्टीबाट फेदीखोला–२ का अर्जुनकुमार गुरुङ, उज्यालो नेपाल पार्टीबाट पुतलीबजार–१ का रविन्द्र मल्ल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट फेदीखोला–४ का रनबहादुर विश्वकर्मा र श्रम संस्कृति पार्टीबाट वालिङ–४ का पिरन गुरुङले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ।

स्वतन्त्र तर्फ आँधीखोला–२ का मनोज नेपाली र अर्जुनचौपारी–१ का अशोक विष्टले उम्मेदवारी दर्ता गर्नुभएको जानकारी मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले दिनुभयो।

उम्मेदवारी दर्ता गर्न पुगेका सबै उम्मेदवारले देश बनाउने सङ्कल्पका साथ आफूहरू चुनावी मैदानमा होमिएको प्रतिक्रिया दिएका छन्। उम्मेदवारी दर्ताको क्रममा राष्ट्रिय मान्यता प्राप्त ठूला दलहरूले बाजागाजा र र्‍यालीसहित शक्ति प्रदर्शन गरेका थिए भने साना दलहरूले प्रस्तावक र समर्थकसहित सामान्य तवरले मनोनयन दर्ता गराएका थिए।

तस्बिर : उम्मेदवारी दर्तास्थलमा नेकपा एमालेका उम्मेदवार मीनबहादुर गुरुङले नेकपाका उम्मेदवार शैलेन्द्र घिमिरेलाई खादा लगाइदिएर स्वागत तथा सम्मान गर्दै।

election-082-syangja-ummedwar--1768913972.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्