नेभिगेशन
राजनीति
प्रतिनिधि सभा सदस्यको काम, कर्तव्य, अधिकार तथा योग्यता

प्रतिनिधि सभा सदस्यको काम, कर्तव्य, अधिकार तथा योग्यता

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो। नेपालको संविधान २०७२ अनुसार संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक हुन्छ। आगामी फागुन २१ गते  प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। प्रतिनिधि सभामा २७५ जना  सदस्य जनताबाट प्रत्यक्ष वा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन्।

निर्वाचित सदस्यको काम, कर्तव्य र अधिकार

प्रतिनिधि सभा सदस्यको मुख्य काम कानून निर्माण गर्नु हो। देशको आवश्यकता अनुसार विधेयक पेश गर्ने, छलफल गर्ने र पारित गर्ने अधिकार उनीहरूसँग हुन्छ। सरकारका कामकारबाहीबारे प्रश्न सोध्ने, छलफल गर्ने र आवश्यक निर्देशन दिने जिम्मेवारी पनि प्रतिनिधि सभा सदस्यकै हो। बजेट प्रस्तुत हुँदा त्यसमा छलफल गर्ने, संशोधन प्रस्ताव गर्ने र स्वीकृति दिने अधिकार उनीहरूलाई हुन्छ।

त्यसैगरी, कार्यपालिकामाथि निगरानी राख्नु प्रतिनिधि सभा सदस्यको महत्वपूर्ण कर्तव्य हो। सरकार जनमुखी, पारदर्शी र जवाफदेही बनोस् भन्ने उद्देश्यले संसद्मा आवाज उठाउने, जनताका समस्या प्रस्तुत गर्ने र समाधानका लागि पहल गर्ने दायित्व उनीहरूको हुन्छ। राष्ट्रिय हित, सार्वभौमसत्ता, अखण्डता र संविधानको रक्षा गर्नु पनि प्रतिनिधि सभा सदस्यको कर्तव्य हो।

योग्यता:
प्रतिनिधि सभा सदस्य हुन चाहिने योग्यता
नेपालको संविधान अनुसार प्रतिनिधि सभा सदस्य हुनका लागि नेपाली नागरिक हुनुपर्छ। उमेर कम्तीमा २५ वर्ष पूरा भएको हुनुपर्छ। कुनै गम्भीर फौजदारी कसुरमा सजाय पाएको नहुनु आवश्यक छ। साथै, कानुनले अयोग्य ठहर गरेको व्यक्ति प्रतिनिधि सभा सदस्य बन्न सक्दैन।
यसका अतिरिक्त, नैतिक आचरण राम्रो भएको, जनसेवाको भावना भएको र संविधानप्रति प्रतिबद्ध व्यक्ति प्रतिनिधि सभा सदस्यका लागि योग्य मानिन्छ।यसरी प्रतिनिधि सभा सदस्य लोकतन्त्रको मेरुदण्डका रूपमा देश र जनताको हितमा काम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको पद हो।

तसर्थ प्रतिनिधि सभामा उच्च शिक्षा आर्जन गरेको, नेपाली समाज र परिवेश बुझेको, जनप्रतिनिधिका रूपमा स्थानीय वा प्रदेश सरकारमा काम गरेर अब्बल प्रमाणित भएको र कानुन पढेको व्यक्तिलाई मतदान गर्नु देश र जनताको हितमा हुन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्