नेभिगेशन
स्वास्थ्य

भीरकोटमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न : ८ जनामा क्यान्सरको आशंका

भीरकोट  नगरपालिकाले प्रजनन स्वास्थ्य  तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न  गरेको छ।  माघ  १३ देखि १५ गतेसम्म    नगरपालिका अन्तर्गतका वडा नम्बर ३, ४ र ५ मा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन र महिलाहरूको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण शिविर (VIA Camp) सञ्चालन गरिएको थियो।

शिविरमा जम्मा २५० जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ४ जना महिलामा पाठेघर झर्ने समस्या देखिएको छ । यस्तै, ८ जना महिलामा पाठेघरको मुखको क्यान्सरको शङ्का (VIA Positive) गरिएको छ। स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाले महिलाहरूले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “महिलाहरूले समयमै स्वास्थ्य जाँच र उपचार गरेमा यस्ता समस्या रोकथाम गर्न सकिन्छ। पाठेघर झर्ने समस्याको समाधान सम्भव छ र पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लागेमा उपचार गर्न सकिन्छ। त्यसैले हरेक महिलाले नियमित स्क्रिनिङ गराउनु अत्यन्त आवश्यक छ।”

भीरकोटका ३ वटा स्वास्थ्य चौकीमा नियमित प्रजनन स्वास्थ्य  तथा पाठेघरको मुखको क्यान्सर (VIA )जाँच सुविधा छ। दार्सिङ दहथुम स्वास्थ्य चौकी, खिलुङ देउराली स्वास्थ्य चौकी र  ढापुक स्वास्थ्य चौकीमा यो सुविधा उपलब्ध रहेको नगर स्वास्थ्य शाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्