नेभिगेशन
दुर्घटना/प्रकोप

स्कुटर र मोटरसाइकल ठोक्किँदा विवाद, कुटपिटमा संलग्न भीरकोटका युवक प्रहरी नियन्त्रणमा

स्याङ्जाको वालिङ नगरपालिका–८, जैसिपँधेरास्थित होटल रोयल अगाडि सिद्धार्थ राजमार्गमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किएपछि भएको विवाद कुटपिटमा परिणत हुँदा तीन जना घाइते भएका छन्।

गए राति करिब १२:१० बजे वालिङबाट बयरघारीतर्फ जाँदै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ५३४२ नम्बरको मोटरसाइकल ठोक्किएपछि दुवै पक्षबीच झगडा भएको थियो। झगडाका क्रममा कुटपिट हुँदा घाइते भएकाहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ ल्याइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

घाइते हुनेमा वालिङ नगरपालिका–८ का ३० वर्षीय अजिम खान हुनुहुन्छ। उहाँको निधारमा चोट लागेको र सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। यस्तै, भीरकोट नगरपालिका–१ का ३२ वर्षीय अनुप श्रेष्ठको निधार र टाउकोमा चोट लागेपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ। उहाँको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। सोही ठाउँका ४० वर्षीय राम सेन ठकुरीको मुखमा चोट लागेको र उहाँलाई पनि पोखरा रिफर गरी गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, कुटपिटमा संलग्न रहेको आरोपमा भीरकोट नगरपालिका–२ का २४ वर्षीय चन्दन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसन्न राज चौधरीले दिनुभयो। दुर्घटनाको कारण र कुटपिट घटनासम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दुर्घटना/प्रकोप