नेपाल कम्युनिष्ट पार्टी एमाले का तर्फबाट स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिन प्रसाद गुरुङले आगामी पाँच वर्षका लागि विस्तृत सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ।
समृद्ध स्याङ्जा र जनताको हित नारासहित सार्वजनिक गरिएको उक्त सङ्कल्प–पत्रमा पूर्वाधार विकासदेखि सामाजिक रूपान्तरण, उद्यमशीलता प्रवर्धन, पर्यटन विस्तार र कृषि आधुनिकीकरणसम्मका योजना समेटिएका छन्।
राजनीतिक परिवर्तनपछि देश नयाँ शक्ति सन्तुलनतर्फ अघि बढिरहेको उल्लेख गर्दै सुशासन, राष्ट्रहित र जनमुखी नीतिमा दृढ प्रतिबद्धता जनाइएको छ। उम्मेदवार गुरुङ विद्यार्थी जीवनदेखि नै सामाजिक, राजनीतिक तथा आर्थिक विकासका क्षेत्रमा सक्रिय रहँदै आएको दाबी गरिएको छ।
सङ्कल्प–पत्रअनुसार निर्वाचन क्षेत्रभित्रका सबै स्थानीय तहका केन्द्रहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, वडा केन्द्रसम्म सडक विस्तार गर्ने तथा सिद्धार्थ राजमार्ग लाई स्तरोन्नति गरी स्याङ्जा–पाल्पा–रुपन्देही आर्थिक करिडोरका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। राजमार्गका घुम्ती सुधार, साना सुरुङ निर्माण तथा पोखरा–बुटवल दूरी घटाउने लक्ष्य पनि राखिएको छ।
त्यसैगरी ज्याग्दी र आँधीखोला करिडोरको स्तरोन्नति, नयाँ वैकल्पिक लोकमार्ग विकास, एक घर एक धारा कार्यक्रममार्फत खानेपानी सुविधा विस्तार तथा आवश्यक स्थानमा पक्की र झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। खेलकुद पूर्वाधार विस्तारअन्तर्गत निर्माणाधीन क्रिकेट रंगशालालाई उच्चस्तरीय बनाउने र प्रत्येक पालिकामा कम्तीमा एक खेल मैदान निर्माण गर्ने योजना पनि समावेश छ।
सामाजिक विकासतर्फ निरपेक्ष गरिबी आधाले घटाउने, अति विपन्न परिवारलाई उद्यमशील कार्यक्रममा आबद्ध गर्ने, बेरोजगारी दर घटाउने तथा स्वास्थ्य बिमामा शतप्रतिशत सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। स्याङ्जा सदरमुकामस्थित प्रदेश अस्पताललाई ५० शय्याको पूर्ण क्षमतामा सञ्चालन गर्ने, सबै स्थानीय तहका अस्पतालका पूर्वाधार पूरा गर्ने र सामुदायिक विद्यालय सुधारका लागि संघीय शिक्षा ऐन संशोधन पहल गर्ने उल्लेख गरिएको छ।
प्राविधिक शिक्षाको विस्तार गर्दै प्रत्येक पालिकामा कम्तीमा दुई विषयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने, खरका छाना भएका घरलाई जस्तापाताले छाउने तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि क्षमता अनुसार स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
उद्यमशीलता तथा स्थानीय आर्थिक विकासअन्तर्गत विद्यालय तहदेखि उद्यमशीलता शिक्षा लागू गर्ने, दलित समुदायका परम्परागत सिप संरक्षण गर्दै आयआर्जनमा जोड्ने, विधवा तथा एकल महिलालाई लक्षित कार्यक्रम सञ्चालन गर्ने र युवालाई सिप विकास तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ।
पर्यटन प्रवर्धनतर्फ सिरुवारीसहितका होमस्टेलाई स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, साहसिक पर्यटनका सम्भावना पहिचान गरी पूर्वाधार विस्तार गर्ने तथा निजी क्षेत्रसँग सहकार्यमा सुन्तला प्रशोधन र जडिबुटीजन्य उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ। वैदेशिक रोजगारीमा रहेका नागरिकको सिप र पूँजी परिचालनका लागि संयन्त्र विकास गर्ने उल्लेख गरिएको छ।
कृषि तथा पशुपन्छी विकासअन्तर्गत सुन्तला, कफी र मसलाबाली क्षेत्र विस्तार, गाईभैंसी जोन विकास, सहकारीमार्फत जग्गा चक्लाबन्दी र दुई सय आधुनिक मोडेल कृषि तथा पशुपन्छी फर्म स्थापना गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको छ।
उम्मेदवार गुरुङले निर्वाचन क्षेत्रको समग्र राजनीतिक, सामाजिक, आर्थिक तथा भौतिक विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन्।