आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले बिहीबार काठमाडौँमा उम्मेदवार र मतदाताबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
वसुन्धरास्थित सनराइज पार्टी प्यालेसमा बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा स्याङ्जा क्षेत्र नं. १ का उम्मेदवार भरतराज ढकाल, क्षेत्र नं. २ का उम्मेदवार भागवत प्रकाश मल्ल र समानुपातिक उम्मेदवार माया रानासँग काठमाडौँमा रहेका स्याङ्जाली मतदाताले प्रत्यक्ष छलफल गरेका हुन्। यसपटक स्याङ्जाका दुवै क्षेत्रमा नेपाली कांग्रेसभित्र गुटरहित, एकताबद्ध र उत्साहजनक माहोल देखिएको सहभागी नेताहरूले बताएका छन्।
सम्पर्क समितिका सभापति देवीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परम्परागत शैलीलाई तोड्दै 'प्रमुख अतिथि' को आसन ग्रहण गराइएको थिएन। सभापति अर्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै यो एउटा नयाँ थालनी र अभ्यास भएको बताउनुभयो।
अन्तरक्रियामा सहभागी मतदाताहरूले विकासका खोक्रा आश्वासन दिनुभन्दा दिगो विकासका लागि नीति निर्माण गर्ने कुरामा जोड दिन उम्मेदवारहरूलाई सुझाव दिएका थिए।
कार्यक्रममा उम्मेदवारहरूको सबल पक्षबारे चर्चा गरिएको थियो। वित्तीय क्षेत्रका अनुभवी मानिने क्षेत्र नं. १ का उम्मेदवार भरतराज ढकाललाई देशको अर्थतन्त्र सुधार्न सक्ने क्षमता भएका र भावी अर्थमन्त्रीका रूपमा समेत हेरिएको भन्दै कार्यकर्तामा ऊर्जा थपिएको छ। त्यस्तै, क्षेत्र नं. २ का उम्मेदवार भागवत प्रकाश मल्ल अघिल्लो प्रदेशसभा सदस्य हुँदा गरेका विकास निर्माण र जनताको सुखदुःखमा निरन्तर साथ दिने लोकप्रिय नेताका रूपमा बलियो देखिएको चर्चा गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नं. ५ का उम्मेदवार प्रदिप पौडेलले विशेष सम्बोधन गर्नुभयो। 'जेन–जी' (Gen-Z) आन्दोलनपश्चात् विशेष महाधिवेशनसम्म आइपुग्दा नेपाली कांग्रेसभित्र छुट्टै आत्मीयता र एकता कायम भएको उल्लेख गर्दै उहाँले जनताले खोजेजस्तो रूपान्तरित कांग्रेस निर्माण भएको बताउनुभयो।
"हामीले प्रधानमन्त्री, मन्त्री र सांसद बन्नका लागि एउटै व्यक्ति नदोहोरिने गरी नयाँ नियम बनाएका छौँ," महामन्त्री पौडेलले भन्नुभयो, "अब हामी 'डिजिटल इकोनोमी' (Digital Economy) को नारा बोकेर अगाडि बढेका छौँ। जनताको सम्पूर्ण काम एउटै टेबलबाट हुने गरी सेवा प्रवाहको मोडल तयार गर्दैछौँ।"
कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका संयोजक दिलीपप्रताप खाँणले सम्बोधन गर्दै काठमाडौँमा रहेका सम्पूर्ण स्याङ्जावासीलाई समयमै आफ्नो गाउँ फर्केर चुनाव प्रचारप्रसारमा सहयोग गर्न अनुरोध गर्दै बिदा हुनुभएको थियो।
कार्यक्रमको सञ्चालन तारा अर्यालले गर्नुभएको थियो भने समापन कल्पना तिवारीले गर्नुभएको थियो। कार्यक्रममा काठमाडौँमा रहेका स्याङ्जाली कांग्रेस समर्थकहरूले दुवै उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्। जननायक बीपी कोइरालाले भनेझैँ “संगठन हेर्न स्याङ्जा जानू” भन्ने भनाइलाई यसपटकको चुनावले फेरि प्रमाणित गर्ने विश्वास नेताहरूले व्यक्त गरेका छन्।