नेभिगेशन
राजनीति

खिमबहादुर थापाको चुनावी बाचा : 'एक पालिका–एक उद्योग' देखि राम्दी–देवघाट जल यातायातसम्म

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका खिमबहादुर थापाले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । उम्मेदवार थापाले सुशासन, पूर्वाधार र कृषिलाई आफ्नो मुख्य प्राथमिकतामा राख्नुभएको छ ।

विद्यार्थी जीवनदेखि नै राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका थापाले पछिल्ला वर्षहरूमा युवा वर्गले उठाएको सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, सरकारी निकायमा हुने ढिलासुस्ती अन्त्य गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कुरा उहाँको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कृषि तथा पशुपालनमार्फत स्वरोजगार सृजना गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ। कालीगण्डकी, आँधीखोला, लुब्दीखोला, ज्याग्दीखोला, मिर्दीखोला, पाठखोला र बायँखोला लगायतका उर्वर फाँट तथा टार क्षेत्रको सदुपयोग गर्दै कृषकलाई व्यावसायिक बनाउने लक्ष्य उहाँले राख्नुभएको छ। सहुलियत ऋण, प्राविधिक सहयोग र व्यवस्थित बजार व्यवस्थापनमार्फत कृषकको आम्दानी वृद्धि गर्ने योजना सार्वजनिक गरिएको छ।

पूर्वाधारतर्फ उहाँले प्रत्येक पालिकामा व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, ‘एक निर्वाचन क्षेत्र–एक सुविधा सम्पन्न अस्पताल’ स्थापना गर्ने र ‘एक पालिका–एक उद्योग’ अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। ग्रामीण कच्ची सडक स्तरोन्नति तथा कालोपत्रे, करिडोर तथा अन्तरपालिका–अन्तरजिल्ला सडक विस्तार, सिद्धार्थ राजमार्गको स्तरोन्नति र आँधीखोला हाईड्याम निर्माण जस्ता योजना पनि उहाँको प्राथमिकतामा रहेका छन्।

धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। बहुजातीय तथा बहुसांस्कृतिक पहिचान रहेको यस क्षेत्रमा खस, आदिवासी जनजाति, दलित र अल्पसङ्ख्यक समुदायको भाषा, भेषभूषा र परम्परा संरक्षणका लागि राष्ट्रिय स्तरमा समन्वय गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ। युवालाई लक्षित गर्दै प्रत्येक वडामा व्यायाम केन्द्र (जिम) स्थापना र बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने योजना समेत अघि सारिएको छ।

दुग्ध विकास संस्थान (डीडीसी) को कार्यकारी र कालीगण्डकी गाउँपालिकाका पूर्व अध्यक्षका रूपमा समेत काम गरिसक्नुभएका थापाले आफूलाई इमानदार र जनमुखी प्रतिनिधिको रूपमा प्रस्तुत गर्दै यसपटक विकास र सुशासनलाई मूर्त रूप दिने दाबी गर्नुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै