नेभिगेशन
स्वास्थ्य

भीरकोट नगर अस्पतालमा  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

भीरकोट नगर अस्पतालमा  एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। भीरकोट नगरपालिका र मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको संयुक्त आयोजनामा  स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो।

स्वास्थ्य शिविर चैत ७ गते शनिबार बिहान ८:०० बजेदेखि भीरकोट नगर अस्पताल, हेलुमा सञ्चालन गरिनेछ। शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन्।

शिविरमा विशेषगरी स्त्री तथा प्रसूति, जनरल मेडिसिन र हाड–जोर्नी तथा नशासम्बन्धी रोगको परीक्षण गरिनेछ। स्त्री तथा प्रसूति रोगका लागि डा. मनोर दिन सैयद,  जनरल मेडिसिनतर्फ डा. इवराज सिम्खडा (MDGP) र डा. कृष्ण गुप्ता (MO) , हाड–जोर्नी तथा नशासम्बन्धी रोगको उपचारका लागि डा. उजोन शाक्यले बिरामीहरूलाई सेवा प्रदान गर्ने मनमोहन  मेमोरियल अस्पतालका डा. मनोर दिन सैयदले जानकारी दिनुभयो।

यसका साथै अन्य वरिष्ठ चिकित्सकहरू पनि शिविरमा सहभागी हुने जनाइएको छ। नाक, कान र घाँटीसम्बन्धी रोगको उपचारका लागि डा. कृष्ण कोइराला, मानसिक तथा स्नायुसम्बन्धी रोगका लागि डा. राजन शर्मा,  हाड–जोर्नी तथा नशासम्बन्धी रोगका लागि डा. दिनेश कुमार विकले पनि सेवा प्रदान गर्ने बताइएको छ।

नगरपालिकाले यस स्वास्थ्य शिविरबाट स्थानीय नागरिकहरूलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेको छ। ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको नगर प्रमुख  कर्माचार्यले बताए।

नगर प्रमुख  कर्माचार्यले सबै नगरवासीलाई स्वास्थ्य शिविरमा उपस्थित भई सेवा लिन अनुरोध गरेका छन्। शिविरमा स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरू निःशुल्क प्रदान गरिने भएकाले यस अवसरको सदुपयोग गर्न नगरपालिकाले आग्रह गरेको छ।यस प्रकारका स्वास्थ्य शिविरले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्