राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाको प्रथम जिल्ला अधिवेशनबाट रुक्मागत भण्डारी (विश्वास) जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ।
पुतलीबजार नगरपालिका-१ स्थित सिटीहलमा सम्पन्न अधिवेशनमा सभापति र उपसभापति पदका लागि निर्वाचन भएको थियो । कुल ३ सय १४ मत मध्ये निर्वाचित अध्यक्ष भण्डारी २ सय ८४ मत सहित निर्वाचित हुनु भएको हो ।
सभापति पदका अर्को प्रतिस्पर्धी उपेन्द्र अर्याललाई २६० मतान्तरले पराजित गर्दै भण्डारीले नेतृत्व दोहोऱ्याउन सफल हुनुभएको हो । उहाँका प्रतिस्पर्धी उपेन्द्र अर्यालले २४ मत प्राप्त गर्दा ६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यसअघि भण्डारी नै जिल्ला सभापतिको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
यस्तै, चार जनाको उम्मेदवारी परेको उपसभापति पदमा उमा फुयाल १४५ मतसहित विजयी हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धामा रहेका श्रीराम घिमिरेले १००, शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गर्नुभयो । अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध चयन गरेको रास्वपा स्याङ्जाले जनाएको छ । अधिवेशनबाट सचिवमा प्रसन्न पौडेल र सहसचिवमा जिल्ला संगठन विभाग प्रमुख टुकराज अर्याल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा पिताकुमारी खनाल, टंकप्रसाद न्यौपाने, देवीप्रसाद रेग्मी, डोलराज लम्साल र चण्डिका सापकोटा नि भएको प्रमुख निर्वाचन अधिकृत संघीय सांसद तथा पार्टीका केन्द्रीय संगठन विभाग सदस्य झविलाल डुम्रेले जानकारी दिनुभयो। त्यस्तै दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर १ को सभापतिमा सूर्यप्रसाद पौडेल र क्षेत्र नम्बर २ को सभापतिमा जगदीश गैह्रे चयन भएका छन् ।
जिल्लाका ११ वटै स्थानीय तहकोअधिवेशन सकेर पाटीले जिल्ला अधिवेशन गरेको हो। अधिवेशनबाट कालिगण्डकीमा माधव न्यौपाने, गल्याङमा टिकाराम भण्डारी, चापाकोटमा अकबर अलि, वालिङमा सुरेन्द्र काफ्ले, भीरकोटमा मिन बहादुर के.सी., अर्जुनचौपारीमा कमलकान्त अर्याल सभापतिमा निर्वाचित भएका छन् । यस्तै, पुतलीबजारमा बेदप्रसाद दोगा, फेदिखोलामा कुल बहादुर खत्री, आँधिखोलामा हिरामणी पौडेल, विरुवामा सुमित गुरुङ र हरिनासमा अमूल्य रिजाल निर्वाचित भएको केन्द्रीय विभाग सदस्य बोधराज रेग्मीले जानकारी दिए। गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सभापतिहरू पदेन जिल्ला कार्यसमिति सदस्य हुने उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्याङ्जा क्षेत्र नम्बर १ का संघीय सांसद धनञ्जय रेग्मीले संघीय सांसदको भूमिका प्रत्यक्ष रूपमा बजेट विनियोजन र व्यवस्थापन गर्नुभन्दा पनि देश सञ्चालनका लागि आवश्यक नीति तथा नियम निर्माणमा केन्द्रित हुने बताउनुभयो। उहाँले निर्वाचनका क्रममा विकास निर्माणका एजेन्डालाई प्राथमिकतामा राखेपनि बजेट विनियोजन अपेक्षाअनुसार हुन नसकेको सन्दर्भमा यस्तो धारणा व्यक्त राख्नुभएको हो ।