नेभिगेशन
दुर्घटना/प्रकोप

ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

स्याङ्जाको चापाकोट नगरपालिकामा सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकाअनुसार बुधबार साँझ चापाकोट नगरपालिका–४ पुम्दीस्थित मल्याङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको ट्रिपर उकालो सडकमा चिप्लिएर करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा ट्रिपरमा सवार म्याग्दीको मालिका गाउँपालिका–५ निवासी २३ वर्षीय तिलक परियार गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो।

त्यस्तै सोही ठाउँका १८ वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको र स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि ट्रिपर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी २६ वर्षीय रेशमबहादुर गिरी घटनास्थलबाट फरार हुनुभएको छ । उहाँको खोजी कार्य जारी रहेको सूचना अधिकारी डिएसपी अवस्थीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको ट्रिपर मल्याङकोट–घुर्लीचौर सडक निर्माणका लागि बालुवा ढुवानी गर्दै गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्