भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य सेवा र सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख गोविन्दकुमार कर्मचार्यले सोमबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “समृद्ध भीरकोटको आधारः कृषि, पर्यटन आँधीखोलाको उपहार” भन्ने मूल नारालाई आत्मसात गरिएको छ ।
नगर प्रमुख कर्मचार्यले सीमित स्रोत–साधनका बीच पनि नागरिकको अपेक्षा सम्बोधन गर्ने प्रयास गरिएको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, सडक सञ्जाल विस्तार, खानेपानी पहुँच र डिजिटल सेवा प्रवाहलाई आगामी वर्षको मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो।
बढ्दो विद्यार्थी पलायन र खस्कदो शैक्षिक गुणस्तरलाई सम्बोधन गर्न नगरपालिकाले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ। शैक्षिक गुणस्तर सुधारका लागि ५ वर्षे रणनीति तथा कार्ययोजना तयार गरी आगामी आर्थिक वर्ष २०८३/८४ लाई शैक्षिक गुणस्तर सुधारको आधार वर्षको रूपमा लिई सोहि बमोजिम कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
शैक्षिक सुधारका लागि कक्षा ८,१० र १२ कक्षाको वार्षिक परिक्षामा उच्चतम GPA प्राप्त गर्ने विद्यार्थी तथा उच्च सिकाई उपलब्धी हासिल गर्ने शिक्षकलाई प्रोत्साहन र पुरस्कृत गरिनेछ ।
अनिवार्य र निःशुल्क आधारभूत तहको शिक्षालाई गुणस्तर सुधारमा समेत केन्द्रित गरी आगामी आर्थिक वर्ष २०८३/०८४ देखि सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम मार्फत विद्यालय व्यवस्थापन खर्च, शैक्षिक सामग्री, विद्यार्थी मूल्याङ्कन लगायतका विषयमा आवश्यक स्रोतको प्रबन्ध गरिनेछ ।
नीति तथा कार्यक्रममा आधारभूत तह (बाल विकास देखि कक्षा ८ सम्म) को शिक्षामा विद्यार्थी भर्ना, मासिक शिक्षण शुल्क, परीक्षा र पाठ्यपुस्तक बापतको शुल्क नलाग्ने गरी निःशुल्क गरिने उल्लेख छ। यस्तै नयाँ विद्यालय खोल्ने कार्यलाई निरुत्साहसित गरी विद्यालय नक्साङ्कनका आधारमा मात्र अनुमति प्रदान गरिने नीति लिइएको छ।
नगरपालिकाले आगामी वर्ष शतप्रतिशत घरधुरीमा खानेपानी पहुँच पुर्याउने लक्ष्य राखेको छ । मुख्य सडकहरूलाई क्रमशः ढलान तथा कालोपत्रे गर्दै जाने, सबै मौसममा सञ्चालन हुने सडक निर्माणलाई प्राथमिकता दिने तथा सिद्धार्थ राजमार्ग विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय बढाउने नीति लिइएको छ । नगरका संवेदनशील क्षेत्र र बजार क्षेत्रमा सिसिटिभी जडान गरी सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।
कृषि क्षेत्रतर्फ भीरकोट कृषि तथा पशु विकास परियोजनालाई निरन्तरता दिइने भएको छ । तरबुजा खेती, अकबरे खुर्सानी उत्पादन, सुन्तला खेती, मौरीपालन, बाख्रापालन तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई विस्तार गरिने नीति लिइएको छ । कृषक सूचीकरण गरी परिचयपत्र वितरण गर्ने तथा अनुदानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने व्यवस्था गरिने जनाइएको छ ।
शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आगामी आर्थिक वर्षलाई शैक्षिक गुणस्तर सुधारको आधार वर्षका रूपमा घोषणा गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन, आधारभूत तहसम्म निःशुल्क शिक्षाको सुनिश्चितता, उत्कृष्ट विद्यार्थी र शिक्षकलाई पुरस्कार तथा विद्यालय व्यवस्थापन सुधारका कार्यक्रम अघि बढाइनेछन् । कक्षा ६ सम्मका विद्यार्थीका लागि दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गरिने नीति पनि समेटिएको छ ।
स्वास्थ्यतर्फ नगर अस्पतालमा डायलासिस सेवा सञ्चालनको पहल गरिने, गाउँघर क्लिनिक कार्यक्रमलाई विस्तार गरिने तथा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा र महिला स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
सुशासन र सेवा प्रवाह सुधारका लागि ‘डिजिटल सिटिजन चार्टर’, अनलाइन कर भुक्तानी प्रणाली, सार्वजनिक सुनुवाइ, चौमासिक समीक्षा तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने भएको छ । नगरपालिकाको सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य राखिएको छ ।
पर्यटन प्रवर्द्धनका लागि छाङ्छाङ्दी, स्वरेक मैदान, खिलुङ कालिका, भीरकोट कालिका, गडहरे गुफा, कोखे झरना लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइने भएको छ । घरबास (होमस्टे) पर्यटनलाई समेत सुदृढ बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख कर्मचार्यले चालू आर्थिक वर्षमा सडक ढलान, तटबन्धन, कृषि तथा पशु विकास कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य शिविर, शिक्षा सुधार अभियान र सामाजिक सुरक्षा वितरणलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गर्नुभयो । उहाँले आगामी वर्ष नागरिकको अपेक्षाअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र जनमैत्री बनाउँदै समृद्ध भीरकोट निर्माणको अभियानलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।