नेभिगेशन
समाज

प्रकाशको उज्यालो जापानबाट भीरकोट आइपुगेपछि 

स्याङ्जाको भीरकोट नगरपालिका–६ का कृष्ण बोटेको घरमा केही समयअघिसम्म न बिजुलीको उज्यालो थियो, न सुत्नका लागि गतिलो बिस्तारा। अपांगता र आर्थिक अभावले थिचिएका माझी (बोटे) समुदायका कृष्ण महिनौँदेखि अँध्यारो कोठाको भुइँमै  एक्लै रात कटाइरहनुभएको  थियो। दैनिक गुजारा चलाउनसमेत संघर्ष गरिरहेका उहाँको जीवन असहज र कष्टपूर्ण थियो।

कृष्णको यही पीडादायी अवस्था स्याङ्जाका क्रियाशील पत्रकार हिमाल न्यौपानेले नेपाल टेलिभिजनमार्फत सम्प्रेषण गर्नुभयो। टेलिभिजनबाट प्रसारीत समाचार स्मार्ट अखबारले  पनि पुन: सम्प्रेषण गर्‍यो। समाचारमार्फत कृष्णको अवस्था सार्वजनिक भएपछि त्यो दृश्य हजारौँ किलोमिटर टाढा जापानमा रहेका भीरकोट–८, खोरबार निवासी प्रकाश खत्रीको आँखामा पुग्यो। समाचार हेरेपछि उहाँले आफू जन्मिएको गाउँका एक नागरिकको पीडामा मौन बस्न सक्नुभएन। तत्काल सहयोग गर्ने निर्णय गर्दै स्थानीय समाजसेवी बाबुराजा खत्रीमार्फत १६ हजार रुपैयाँ पठाउनुभयो।

1000068077-1784001789.jpg
प्रकाशले पठाएको रकमबाट सबैभन्दा पहिले कृष्णको घरमा काटिएको विद्युत् लाइन पुनः जडान गरियो।  बक्यौता महसुल र नयाँ मिटर जडान बापत ३ हजार ५ सय ८ रुपैयाँ तिरियो र  सोमबार साँझ नयाँ मिटर जडान गरियो। त्यसपछि घरमा महिनौंको अध्यारोलाई चिर्दै  बिजुलीको उज्यालो फैलियो। महिनौँसम्म अन्धकारमा जीवन बिताएका कृष्णका लागि त्यो उज्यालो केवल बत्तीको प्रकाश थिएन, नयाँ आशाको सुरुवात पनि थियो।

बाँकी रकमबाट एक सेट पलङ, खाना पकाउने भाँडाकुँडा, बाल्टी, ओड्ने सिरक तथा अन्य आवश्यक सामग्री खरिद गरी कृष्णको घरमै पुर्‍याइयो। अब उहाँ भुइँमा होइन, पलङमा सुत्न पाउनुभएको  छ भने आधारभूत घरायसी सामग्रीको अभाव पनि केही हदसम्म टरेको छ।

यो अभियानमा स्थानीय समाजका विभिन्न व्यक्ति र संस्थाले पनि हातेमालो गरे। सहयोग समन्वयमा लायन्स क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारी, भाग्योदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ अर्याल, समाजसेवी बाबुराजा खत्रीले सक्रिय भुमिका खेल्नुभयो। उहाँहरूले  वालिङ बिपिसीको कार्यालय पुगेर महसुल भूक्तानी, नयाँ मिटर खरिद र अन्य सामागी खरिद गरी कृष्णको घरसम्म पुर्‍याउन   सक्रिय भूमिका निर्वाह गर्नुभयो।

1000068151-1784001790.jpg
लायन्स क्लबको तर्फबाट एक बोरा चामल, दाल, मसला, तेल लगायतका खाद्यान्न सामग्री उपलब्ध गराइयो। सफल फर्निचरले डसना, सिरानी र तन्नासहितको बिस्तारा सेट सहयोग गर्‍यो। के.सी. भाडा पसलले थाल, कचौरा र गिलास उपलब्ध गरायो।

सहयोग सामग्री कृष्णको घरसम्म पुर्‍याउने काम पनि कम चुनौतीपूर्ण थिएन। बयरघारीदेखि चिउरेनीसम्म करिब ६ किलोमिटर कच्ची सडक पार गरेर सामग्री ढुवानी गर्नुपर्थ्यो। यो जिम्मेवारी लायन्स क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले निःशुल्क रूपमा पूरा गर्नुभयो।

कृष्ण बोटेको घरमा पुगेको यो सहयोग रकमभन्दा ठूलो कुरा मानवीय संवेदना हो। एउटा समाचारले विदेशमा रहेका नेपालीको मन छोयो, एक व्यक्तिको पहलले धेरै सहयोगी हातहरू जोडिए, र एउटा घरको अँध्यारो उज्यालोमा परिणत भयो।

1000068150-1784001639.jpg
यो घटनाले सञ्चारमाध्यमले उजागर गरेका वास्तविक समस्याले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ। साथै, विदेशमा रहेर पनि जन्मभूमिका दुःखी र असहाय नागरिकको पीडालाई आफ्नै पीडा ठान्ने प्रवासी नेपालीहरूको भावना अझै जीवित रहेको सन्देश पनि दिएको छ। कृष्ण बोटेको घरमा बलेको बिजुलीको उज्यालो केवल एउटा बल्बको प्रकाश होइन, मानवता, सहकार्य र आशाको उज्यालो बनेर फैलिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्