नेपाली काँग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले नेपाली काँग्रेस देशको मूल शक्ति भएको बताउनुभएको छ। उहाँले काँग्रेसमा मात्रै देशका समस्या सम्बोधन गर्ने र समाधान गर्ने क्षमता रहेको दाबी गर्नुभयो। स्याङ्जा क्षेत्र नं. १ को दोस्रो क्षेत्रीय सम्मेलनमा स्थानीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो।
उहाँले २००७ सालमा राणा शासनविरुद्ध, २०४६ सालमा पञ्चायती निरङ्कुशता विरुद्ध, र २०६२/०६३ मा हिंसात्मक आन्दोलन विरुद्ध काँग्रेसले निर्णायक भूमिका खेलेको स्मरण गराउँदै पार्टीले सदैव लोकतन्त्र र शान्तिको पक्षमा संघर्ष गरेको बताउनुभयो।
शनिबारका दिन पुतलीबजार-१ स्थित सिटी हलमा भएको सम्मेलनमा सम्बोधन गर्दै उहाँंले नेपाली काँग्रेस देशको सबैभन्दा ठूलो लोकतान्त्रिक र राष्ट्रिय शक्ति भएको दोहोर्याउनु भयो।हाल काँग्रेसको नेतृत्व देशभर ३३० भन्दा बढी पालिका र २ हजार ६ सय ६५ वडामा भएको बताउँदै उहाँले निस्वार्थ तरिकाले संगठन निर्माणमा लागे मात्रै पार्टी बलियो हुने बताउनुभयो । क्षेत्रीय सम्मेलनको मुख्य उद्देश्य संवाद र समझदारी कायम गर्नु रहेको बताउँदै महामन्त्री थापाले पार्टी संगठनलाई बलियो बनाउन स्थानीय नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो।
थापाले पार्टीमा शुद्धीकरण आवश्यक रहेको र अब सामाजिक न्याय र विकास निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। उहाँले काँग्रेस हाल केही हदसम्म दिशाहीन बनेको स्वीकार गर्दै घुमाउरो तरिकाले सुधारको आवश्यकता औंल्याउनुभयो।
राजनीतिक कार्यक्रमका लागि स्याङ्जा आउनुभएका महामन्त्री थापाले शनिबार जिल्लाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा पूजाआजा समेत गर्नुभएको थियो।