नेभिगेशन
राजनीति

नेपाली कांग्रेस भीरकोटको सभापतिमा दुई प्रभावशाली वडा अध्यक्षहरूको  प्रतिस्पर्धा 

नेपाली कांग्रेस भीरकोटको नगर सभापतिमा भीरकोटका २ जन प्रभावशाली वडा अध्यक्षहरूबिच प्रतिस्पर्धा हुने भएको छ। वडा नं ८ का अध्यक्ष नन्दलाल खनाल र वडा नं ७ का अध्यक्ष तारा प्रसाद अर्यालबिच कडा प्रतिस्पर्धा हुने भएको हो । वर्तमान नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र निवर्तमान नगर प्रमुख छायाराम खनालको बलियो साथ पाएका खनालले स्मार्ट अखबारसँग कुरा गर्दै  आफूले भारी मतले जित्ने दाबी गरेका छ्न्। प्रभावशाली नेता एवं नेपाली कांग्रेस भीरकोटका पूर्व सभापति तोयनाथ अर्याल र वर्तमान सभापतिको साथ पाएका अर्याल पनि आफूले चुनाव जित्नेमा ढुक्क छन्। ३ सय ८८ मतदाता रहेको नगर अधिवेशन असोज ७ गते सिटीहलमा हुँदैछ।

को हुन्  खनाल?

प्रजातन्त्र पुनःस्थापनासँगै २०४७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका नन्दलाल खनाल नेपाली कांग्रेस भीरकोट नगर सभापति पदका लागि उम्मेदवारी दिएका छन्। नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पसको इकाइ सभापतिको जिम्मेवारीबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका खनालले शिक्षण, सामाजिक क्षेत्र र पार्टी संगठनमा लामो समय काम गरेको अनुभवलाई आफ्नो उम्मेदवारीको आधार बनाएका छन्।

जुझारू र हक्की स्वभावका ५२ वर्षीय खनालले स्नातक तहसम्मको अध्ययन गरेका छन्। उनले करिब २९ वर्ष शिक्षण पेशामा बिताएका छन्। शिक्षण पेशामा रहँदा नेपाल शिक्षक संघमा आबद्ध भएर पार्टीका गतिविधिमा समेत निरन्तर सक्रिय रहेको उनको दाबी छ। २०७२ पछि उनले  शिक्षक संघ, भीरकोटको सचिव समेत भएर काम गरेका थिए।

खनालले २०७४ देखि २०७९ सालसम्म तत्कालीन नगर प्रमुख छायाराम खनालको स्वकीय सचिवका रूपमा समेत काम गरेका थिए। उक्त जिम्मेवारीका क्रममा स्थानीय सरकारको कामकाज, जनप्रतिनिधि र नागरिकबीचको समन्वय तथा स्थानीय तहका विकास गतिविधिसँग नजिक रहेर काम गर्ने अवसर पाएको उनी बताउँछन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भीरकोट नगर कार्यसमितिको सचिवको जिम्मेवारी सम्हालेका खनाल पार्टी संगठनमा आफ्नो निरन्तर सक्रियतालाई सभापतिको उम्मेदवारीको अर्को आधारका रूपमा प्रस्तुत गर्छन्। त्यसबाहेक उनी हिन्दु महासंघ भीरकोट तथा सामुदायिक वन उपभोक्ता महासंघ भीरकोटको अध्यक्ष भएर पनि काम गरिसकेका छन्।

स्थानीय राजनीतिक वृत्तमा खनाललाई स्पष्टवक्ता र खरो स्वभावका नेताका रूपमा चिनिन्छ। विकासका विषयमा स्पष्ट धारणा राख्ने र स्थानीय तहका समस्या तथा आवश्यकतालाई नजिकबाट बुझेको उनको दाबी छ। स्थानीय तहको राजनीतिक गतिविधिमा उनको प्रभावसमेत रहेको समर्थकहरूको भनाइ छ।

सभापतिमा उम्मेदवारी दिनुको कारणबारे खनालले पारिवारिक जिम्मेवारी अधिकांश पूरा भइसकेकाले अब आफू चौबीसै घण्टा पार्टी संगठनका लागि समय दिन सक्ने अवस्था रहेको बताए।“पारिवारिक जिम्मेवारी पूरा भइसकेको छ। अब चौबीसै घण्टा पार्टीका लागि दिन सक्छु भन्ने आत्मविश्वासका साथ सभापति पदमा उम्मेदवारी दिएको हुँ,” खनालले भने।

खनालले आफू लामो समयदेखि पार्टी गतिविधिमा सक्रिय रहेको दाबी गरेका छन्। विशेषगरी द्वन्द्वकालमा आफू पार्टीमा सक्रिय नरहेको भन्दै प्रतिस्पर्धीबाट प्रश्न उठाइएको उल्लेख गर्दै उनले त्यसलाई प्रमाणित गर्न चुनौती दिएका छन्। उक्त आरोप प्रमाणित भए आफू उम्मेदवारी फिर्ता लिन तयार रहेको उनको भनाइ छ। “द्वन्द्वकालमा म पार्टीमा सक्रिय थिइनँ भन्ने कुरा प्रमाणित गर्न सक्नुभयो भने म उम्मेदवारी फिर्ता लिन तयार छु,” उनले स्पष्ट पारे।

आफ्नो संगठनात्मक आधार र कार्यकर्तासँगको सम्बन्धका कारण निर्वाचनमा आफूले स्पष्ट मतान्तरसहित जित हासिल गर्ने खनालको दाबी छ। उनले आफू कम्तीमा ५० मतको अन्तरले विजयी हुने दाबीसमेत गरेका छन्।

स्थानीय तहको राजनीतिमा वडा तहसम्म आफ्नो प्रभाव रहेको बताउँदै खनालले आफूलाई नगरपालिकाका प्रभावशाली वडा अध्यक्षका रूपमा समेत प्रस्तुत गरेका छन्। पार्टी संगठनलाई थप व्यवस्थित बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने र स्थानीय विकासका मुद्दालाई पार्टीको राजनीतिक एजेन्डासँग जोडेर अघि बढाउने उनको प्रतिबद्धता छ।

करिब तीन दशक शिक्षण पेशा, पार्टी संगठन, स्थानीय सरकार तथा विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभवलाई राजनीतिक नेतृत्वमा प्रयोग गर्ने उद्देश्यसहित खनाल कांग्रेस भीरकोटको नगर सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन्।

को हुन् अर्याल?

युवाहरू माझ लोकप्रिय  ४२ वर्षीय अर्याल हाल भीरकोट नगरपालिका–७ का वडा अध्यक्षसमेत हुन्। स्नातक तहसम्मको शिक्षा हासिल गरेका अर्यालले लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

अर्यालले २०६२/६३ को जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। २०६८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी १२औँ महाधिवेशनबाट पार्टीको औपचारिक राजनीतिक यात्रामा अघि बढेका थिए। साविक खिलुङ्देउराली–९ का सचिव हुँदै उनले खिलुङ्देउराली गाविस तरुण दलको सचिव तथा पछि गाविस सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

१३औँ महाधिवेशनमा नेपाली कांग्रेस भीरकोट नगर सहसचिवको जिम्मेवारी पाएका अर्याल २०७२ सालमा नेपाल तरुण दलको जिल्ला कार्यसमिति सदस्य बनेका थिए। १४औँ महाधिवेशनमा उनी नेपाली कांग्रेस भीरकोट नगर सचिव पदमा सर्वाधिक मतसहित निर्वाचित भएका थिए।

स्थानीय तहको राजनीतिमा समेत सक्रिय अर्याल नेपाली भीरकोटका लोकप्रिय वडा अध्यक्ष समेत हुन्। वडा तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै आएका उनले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएका छन्।

कृषिमार्फत स्थानीय स्तरमै रोजगारी र आयआर्जन बढाउन सकिने धारणा राख्दै आएका अर्यालले सुन्तला सुपरजोन, स्याङ्जाको सहसचिव तथा अध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका छन्। कृषि क्षेत्रसँगको उनको संलग्नतालाई नगरको आर्थिक विकाससँग जोडेर हेर्ने गरिएको छ।

राजनीतिक यात्रासँगै अर्यालको शिक्षण क्षेत्रमा समेत अनुभव रहेको छ। उनले कालिका माध्यमिक विद्यालय, झापाकोटमा २०६६ देखि २०७१ सालसम्म करिब ६ वर्ष अध्यापन गरेका थिए।

प्रजातान्त्रिक विचारबाट निर्देशित रहेको बताउने अर्याल संगठनलाई थप सुदृढ बनाउने, युवाको सहभागिता बढाउने तथा स्थानीय आवश्यकता र विकासका मुद्दालाई पार्टीको राजनीतिक गतिविधिसँग जोड्ने विषयलाई आफ्नो प्राथमिकतामा राख्दै आएका छन्। उनको विनोदप्रिय स्वभाव र कार्यकर्तासँग सहज रूपमा घुलमिल हुन सक्ने शैली पनि राजनीतिक परिचयको एक पक्षका रूपमा रहेको छ।

नगर सभापतिको उम्मेदवारीसँगै अर्यालले आफ्नो राजनीतिक अनुभव, संगठनात्मक जिम्मेवारी र स्थानीय तहमा प्राप्त कार्यानुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्