नेभिगेशन
राजनीति

युवा व्यवसायी ढुंगानाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सफल युवा व्यवसायी एवं जनप्रतिनिधि रूद्र ढुङ्गानाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्। ३० वर्षीय ढुङ्गानाले स्याङ्जा क्षेत्र नं. १ बाट युवातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

भीरकोट नगरपालिका–४ का वडा सदस्यसमेत रहेका ढुङ्गाना लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै आएका उनले युवाको सहभागिता, नेतृत्व विकास तथा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै पार्टीको महाधिवेशनमा प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका ढुङ्गाना व्यवसायसँगै सामाजिक गतिविधिमा पनि सक्रिय छन्। स्थानीयस्तरमा युवामाझ परिचित ढुङ्गानाले युवालाई पार्टीको नीति निर्माण र नेतृत्व प्रक्रियामा थप प्रभावकारी रूपमा सहभागी गराउन आवश्यक रहेको बताउँदै आएका छन्।

उनको उम्मेदवारी घोषणासँगै स्याङ्जा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनीतिक गतिविधि थप बढ्ने देखिएको छ। युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको संगठनलाई थप गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको ढुङ्गानाको भनाइ छ।

स्थानीय तहमा जनप्रतिनिधिका रूपमा प्राप्त अनुभव, व्यवसायिक क्षेत्रको संलग्नता र युवासँगको सम्बन्धलाई आधार बनाउँदै उनले महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीभित्र रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला ढुङ्गानाको उम्मेदवारीले स्याङ्जा क्षेत्र नं. १ मा युवा प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्