नेभिगेशन
राजनीति

विद्यार्थी नेता कोइरालाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

विद्यार्थी नेता गोविन्द कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। २७ वर्षीय कोइराला शिक्षा र विद्यार्थीका सवाललाई कांग्रेसको मूल राजनीतिक प्राथमिकतामा स्थापित गर्ने एजेन्डासहित मैदानमा उत्रिएका हुन्।

अर्थशास्त्रमा स्नातकोत्तर तहको चौथो सेमेष्टरमा अध्ययनरत कोइराला त्रिचन्द्र क्याम्पसमा रहँदा ‘किताबमाथिको कर हटाउ’, ‘शिक्षा ऐन परिमार्जन’, ‘सेभ त्रिचन्द्र , सेभ लाइब्रेरी ’ र ‘सेभ कन्स्टिट्युसन ’ लगायतका अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। 

नेपाल विद्यार्थी संघको तर्फबाट त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति पदमा उम्मेदवार बनेका कोइराला निर्वाचनमा विजयी भएका थिए। स्याङ्जाबाट त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बन्ने पहिलो व्यक्ति आफू भएको उनको दाबी छ।

स्याङ्जाको भीरकोट नगरपालिका–६ निवासी कोइरालाले कालिका माध्यमिक विद्यालयबाट कक्षा १० सम्म अध्ययन गरेका हुन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा अघि बढेका कोइरालालाई पार्टी सभापति गगन थापानिकट युवा नेताका रूपमा समेत चिनिन्छ।

महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो मुख्य एजेन्डा शिक्षा र विद्यार्थी वर्गका सवाललाई नेपाली कांग्रेसको पहिलो प्राथमिकतामा स्थापित गर्नु रहेको कोइरालाले बताएका छन्। त्यसका लागि १५औँ महाधिवेशनमार्फत शिक्षा, विद्यार्थी अधिकार, सार्वजनिक शिक्षा तथा शैक्षिक संस्थाको संरक्षणसम्बन्धी विषय समेटिएको प्रतिवेदन पार्टीमा पेस गर्ने उनको तयारी छ।

विद्यार्थी आन्दोलनमा उठाउँदै आएका मुद्दालाई अब पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको कोइरालाको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्