नेभिगेशन
राजनीति

प्रतिकूल मौसमका कारण नेपाली कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित

अविरल वर्षा र प्रतिकूल मौसमका कारण नेपाली कांग्रेस स्याङ्जाको प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन स्थगित भएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा असोज १० गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको हो। 

नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सचिव दामोदर लम्सालका अनुसार आगामी केही दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान तथा मौसम विभागलगायत विभिन्न निकायले जारी गरेको सतर्कता सूचनालाई ध्यानमा राख्दै अधिवेशनको मिति सारिएको हो।

कांग्रेस केन्द्रीय समितिले असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने गरी दिएको समयसीमाअनुसार संशोधित निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको सचिव लम्सालले बताए। 

संशोधित कार्यतालिकाअनुसार असोज १२ गते साँझ ७ बजेसम्म मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता, अन्तिम सूची प्रकाशन तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसैगरी, निर्वाचन कार्यक्रम असोज १३ गते बिहान ७ बजेदेखि सञ्चालन हुने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै