नेभिगेशन
राजनीति

महाधिवेशन प्रतिनिधिमा सफल युवा व्यवसायी रेग्मीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि स्याङ्जा क्षेत्र नं. १ बाट ३५ वर्षमुनिका युवाको खुला कोटातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा युवा व्यवसायी चिन्तामणी रेग्मी (विक्रम) ले उम्मेदवारी घोषणा गरेका छन्।

‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने मूल भावनासहित उम्मेदवारी घोषणा गरेका २६ वर्षीय रेग्मीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि स्याङ्जाको आवाज केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

रेग्मीले केन्द्रमा गएर औपचारिक उपस्थिति जनाउने वा ताली बजाउने प्रतिनिधिभन्दा जिल्लाका वास्तविक समस्या, आवश्यकता र सम्भावनालाई तथ्य र तर्कसहित केन्द्रीय तहमा उठाउने जिम्मेवार प्रतिनिधि बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पछिल्लो समय युवामा राजनीति र राजनीतिक दलप्रति देखिएको वितृष्णालाई केवल आलोचनाको विषय नबनाई त्यसका कारण पहिचान गरेर युवालाई राजनीतिक चेतना, सहभागिता र नेतृत्वसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार युवा भविष्यका कर्णधार मात्र नभई वर्तमानका सक्रिय साझेदारसमेत हुन्।

राजनीति पद प्राप्त गर्ने माध्यम मात्र नभई समाज, भूगोल र नागरिकका आवाजलाई सम्बन्धित तहसम्म पुर्‍याउने जिम्मेवारी भएको बताउँदै रेग्मीले स्याङ्जाको विकास र राजनीतिक संगठनलाई प्राथमिकतामा राख्ने बताएका छन्।

राजनीतिक तथा प्रशासनिक क्षेत्रमा काम गर्ने क्रममा जिल्लाका विभिन्न भूगोल, गाउँ–बस्ती र समुदायसँग प्रत्यक्ष रूपमा जोडिने अवसर पाएको उल्लेख गर्दै रेग्मीले स्याङ्जाका ९७ वटै वडाका विभिन्न टोल–बस्तीको भौगोलिक अवस्था, स्थानीय आवश्यकता, समस्या र सम्भावनाबारे आफू प्रत्यक्ष जानकार रहेको दाबी गरेका छन्।

केन्द्रीय तहमा प्रतिनिधित्वको अवसर पाए स्याङ्जाका विकास, संगठन सुदृढीकरण, युवा सहभागिता, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा स्थानीय आवश्यकतासँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउने उनको प्रतिबद्धता छ।

‘मत मात्र होइन, विश्वास र जिम्मेवारी माग्न आएको हुँ’ भन्ने सन्देशसहित रेग्मीले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए स्याङ्जाको पक्षमा स्पष्ट, निर्भीक र जिम्मेवार ढंगले उभिने बताएका छन्।

युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्व विकासलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधार बनाएका रेग्मीले अग्रजको अनुभव र युवाको ऊर्जालाई संयोजन गर्दै कांग्रेसको संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित आफू अघि बढेको बताएका छन्।

चिन्तामणी रेग्मी (विक्रम) स्याङ्जा क्षेत्र नं. १ बाट ३५ वर्षमुनिका युवा खुला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै