नेभिगेशन
धर्म संस्कृति

२१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ।

युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्।

महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिट अग्लो छ। त्यसैगरी आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको जानकारी दिए। त्यसैले पनि कोटिहोममा आएका भक्तजन शिवलिङ्ग र शिवमूर्तिसँगै फोटो खिच्दै जाने गरेका छन्।

तनहुँ दमौलीकी कामना क्षेत्री बुधबार कोटिहोम दर्शन गर्न आउनुभयो। उहाँले कोटिहोम प्रवेश गर्नासाथ सबैभन्दा पहिला शिवलिङ्ग खोज्नुभयो र दर्शनपछि कोटिहोमका अन्य स्थानहरू घुम्नुभयो।“घरमा टिभी हेर्दा शिवलिङ्ग देखेँ, अनि त्यत्तिकै बेलादेखि कोटिहोम पुगेर प्रत्यक्ष दर्शन गर्ने धोको थियो, जुन आज पूरा भयो,” उहाँले भन्नुभयो। यस्तै प्रतिक्रिया अधिकांश भक्तजनको सुनिएको छ। त्यसैगरी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निशान प्रतिमा र १०० कुण्डीय कोटिहोमको परिक्रमा गर्ने भक्तजनको पनि भिड लागेको छ।

अर्कोतर्फ, मूलद्वारको प्रवचन स्थल भने आजका अन्य दिनहरूभन्दा केही फरक देखिएको छ। प्रवचन स्थललाई विशेषरूपमा सजाइएको थियो, जहाँ भक्तजनहरूको उपस्थिति उल्लेखनीय थियो। सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उहाँहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो।

नगरप्रमुख विष्णुबहादुर विष्ट र उप–प्रमुख भरत गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाउनुभएको  थियो। कार्यक्रमको क्रममा नगरप्रमुखले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिनुभयो। उहाँले ज्येष्ठ नागरिकप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य भएको बताउनुभयो। साथै, उहाँले केही सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाउनुभयो। उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उहाँले  स्पष्ट पार्नुभएको थियो।

प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावना प्रति प्रशंसा व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको उपस्थितिले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। यस्तो सहभागिताले जन–प्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ बलियो हुने विश्वास लिइएको छ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन कोटिहोम दर्शनमा आउने संकेत पाएको बताउनुभयो। जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो अनुमान गरिएको हो।

देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नुहुनेछ। जेठ १४ देखि २२ गतेसम्म श्रीमद् देवीभागवत कथावाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीको पनि प्रवचन हुनेछ। यी दुई ख्यातिप्राप्त वाचिकाहरूको उपस्थिति भक्तजनको आकर्षण बढाउने आयोजकको विश्वास छ।

कोटिहोममा युवा दार्शनिक चैतन्यकृष्ण महाराज, अनन्त श्री विभूषित पुज्य १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले पनि भजनसहित कथा वाचन गरिसक्नुभएको छ। राष्ट्रिय भजन प्रतियोगितामा बुधबारसम्म १७० समूहले भजन प्रस्तुत गरिसकेका छन्।खुला रक्तदान कार्यक्रममा ३०० भन्दा बढीले रक्तदान गरिसकेका छन्।

कोटिहोममा जेठ ९ र १० गते फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्य, गुरु, धार्मिक तथा सामाजिक अभियन्ता, संघसंस्थाका पदाधिकारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ।

मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम को नयाँ भवनको शिलान्यास गरिसकेको छ। यसै उद्देश्यले पोखरामा कोटिहोम सञ्चालन गरिएको हो। यहाँ विभिन्न जातजातिका संस्कृतिहरूको पनि प्रस्तुति भइरहेको छ।

कोटिहोममा जेठ ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुनेछ। नामावली दर्ता जेठ १० गतेसम्म खुला गरिएको छ।

जेठ १४ गते नेपालका सुप्रसिद्ध मोटिभेटर डा. तारा प्रसाद गिरीले निशुल्क प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। विद्यालयस्तरका विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आयोजकले आह्वान गरेका छन्।धार्मिक क्षेत्रमा उदाउँदै गरेका प्रतिभालाई कोटिहोममा उचित स्थान दिइने संकल्पकर्ता महाराजले जानकारी दिनुभएको  छ।

कोटिहोममा दैनिक ४ सय बढी ब्राह्मणले  हवन कुण्डमा हवन गरिरहेका छन्। यहाँ तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराण, कालसर्प योग पूजा, हनुमान चालीसा १०८ आवृत्ति पाठ, रुद्राभिषेक, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, दशमहादान, भूमिदान, गोदान लगायतका धर्मकर्महरूको व्यवस्था गरिएको छ।

जेठ १० गते दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट झाँकी प्रस्तुत हुनेछ। उनीहरूले थाली नृत्यसमेत प्रदर्शन गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्