शिक्षा सामाजिक रूपान्तरणको आधार हो । स्थानीय तहले गुणस्तरीय उच्च शिक्षा आफ्नै नगरभित्र उपलब्ध गराउन सकेमा मात्र जनतामा शिक्षाप्रतिको विश्वास बढ्छ । तर, हाल भीरकोट नगरपालिकाभित्रका दुई क्याम्पस—दहथुम बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पस—आफ्नै अस्तित्व जोगाउन संघर्षरत छन् । नगरपालिकाले दीर्घकालीन योजना नबनाउँदा र राजनीतिक नेतृत्वले चासो नदिँदा यी दुवै संस्थामाथि बन्द हुने खतरा मडारिएको छ ।
समस्या के हो भने, दुवै क्याम्पस विद्यार्थी सङ्ख्याको हिसाबले कमजोर अवस्थामा छन् । कतिपय ठाउँमा त ‘फर्जी विद्यार्थी’ भर्ना गरेर क्याम्पसलाई देखाउन र नगरपालिकाबाट आउने अनुदानमार्फत प्राध्यापकलाई तलब खुवाउने अभ्यास भइरहेको भन्ने गुनासो छ । यस्तो प्रवृत्ति शिक्षा क्षेत्रको मर्यादाविरुद्ध मात्र होइन, नगरवासीको करबाट संकलित रकमको दुरुपयोग पनि हो । यसरी चलाइएका क्याम्पसले गुणस्तरीय शिक्षा दिन सक्दैनन्, बरु शिक्षा क्षेत्रलाई अविश्वसनीय बनाउने काम मात्र गर्छन् ।
अर्को समस्या भनेको नगरपालिकाले यस्ता चुनौती समाधान गर्न सक्रिय भूमिका नखेलेको हो । स्थानीय सरकारको दायित्व भनेकै आफ्नै नगरका विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु हो । यदि दुवै क्याम्पस कमजोर व्यवस्थापन र राजनीतिक हस्तक्षेपकै कारण बन्द भए भने नगर नै उच्च शिक्षाविहीन बन्नेछ, जसको दीर्घकालीन असर नगरको समग्र विकासमा पर्छ ।
यस परिस्थितिबाट निस्कने उपाय भने स्पष्ट छ —यी दुई क्याम्पसलाई मर्ज गरेर एकीकृत संस्थाको रूपमा अघि बढाउनु । मर्ज गर्दा नयाँ सहमति आवश्यक पर्छ । क्याम्पसले विद्यार्थीको मागअनुसार विषय छनोट गर्नुपर्छ, रोजगारीमूलक तथा व्यावहारिक कार्यक्रम सुरु गर्नुपर्छ र शैक्षिक वातावरणलाई प्रतिस्पर्धी बनाउनुपर्छ । यसो गरेमा विद्यार्थीको आकर्षण बढ्छ, रोजगारीको अवसर सिर्जना हुन्छ र नगरकै युवाले नगरमै उच्च शिक्षा हासिल गर्न सक्छन् ।
यसबाहेक, स्थानीय तहले रोजगारी सिर्जना गर्दा पनि भीरकोटमै पढेका विद्यार्थीलाई प्राथमिकता दिनुपर्छ भन्ने माग जायज छ । यसले नगरकै युवामा शिक्षाप्रतिको आकर्षण बढाउँछ । नगरपालिकाले अनुदान दिने मात्र होइन, क्याम्पसलाई पारदर्शी व्यवस्थापन, गुणस्तरीय शिक्षण र परिणाममुखी कार्यक्रम सञ्चालन गर्न बाध्यकारी नीति बनाउनुपर्छ ।
अब नगरपालिकाले सहजीकरण गर्दै क्याम्पस मर्जका लागि सकारात्मक वातावरण तयार पार्नुपर्ने समय आएको छ । यदि अहिले पनि उदासीनता देखाइयो भने निकट भविष्यमा दुवै क्याम्पस अस्तित्व गुमाउनेछन् र नगरवासीले शिक्षा खोज्न अन्यत्र धाउनुपर्ने बाध्यता आउनेछ ।
शिक्षा क्षेत्रमा राजनीतिक स्वार्थभन्दा बढी दीर्घकालीन भलाइ हेर्नुपर्छ । नगरपालिकाले साहसिक निर्णय गर्दै दहथुम बहुमुखी र कालिका बहुमुखी क्याम्पसलाई मर्ज गर्ने पहल तत्क्षण गर्नुपर्छ । यसैमार्फत मात्र भीरकोट नगरलाई उच्च शिक्षामा आत्मनिर्भर र युवाप्रति उत्तरदायी बनाउन सकिन्छ ।