सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा वालिङ नगरपालिका वडा नं. १, खहरेमा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।वालिङ नगरपालिकाको आयोजना तथा सागर देवी टोल विकास संस्थाको सहकार्यमा एक दिने अभिमुखीकरणमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहभागीहरुलाई घरेलु हिंसाको कानुनी उपचार, स्थानीय सरकार अन्तर्गत रहेको न्यायिक समितिमा कसरी न्याय खोज्न सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गरिएको थियो ।स्थानीय तहलाई महिलाको अधिकार संरक्षण , घरेलु हिंसाको न्यूनिकरण र पीडितलाई न्याय दिने विशिष्ट जिम्मेवारी रहेको नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक कविता तिवारी गैह्रेले बताउनुभयो ।
उहाँले भन्नुभयो , ”अझै पनि समाजको डरले गाउँघरमा घरेलु हिंसा दबेर बसेको छ । यस्ता हिंसामा परेका दिदी बहिनीलाई न्याय दिन स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नेछ । “”अहिले पहिले जस्तो छैन , घरेलु हिंसामा परेका र पीडित महिलाहरुले नजिकको स्थानीय तहमै न्याय खोज्ने वातावरण पाएका छन् । ,“ तिवारीले बताउनुभयो ।
स्थानीय तहमा भएको न्यायिक समितिलाई नगरवासीले पनी नजिक बाट बुझ्नुपर्ने बताउँदै वडा नं १ का अध्यक्ष तथा नगर प्रवक्ता पदम राज गुरुङले भन्नुभयो , ”अन्यायमा परेका व्यक्तिहरुलाई हिजो जिल्ला जानुपर्ने र मान्छे चिन्नुपर्ने समस्या अन्त्य भएको छ । न्यायिक समितिबाट यस्ता विवाद छिटो समाधान हुने वातावरण सिर्जना भएको छ । “
कानूनी सहजकर्ता नेत्र सुवेदीका अनुसार चालू आर्थिक वर्षमा घरेलु हिंसा लगायतका विभिन्न हिंसाका २३ वटा मुद्दा वालिङ नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका छन् ।
सहजकर्ता सीता काफ्ले रेग्मीले ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ को परिच्छेद ८, धारा ४७ (१) र (२) अनुसार स्थानीय तहको न्यायिक समितिले गर्ने न्यायिक निरुपणको अधिकार र प्रक्रिया सम्बन्धमा जानकारी गराउनुभयो ।
कार्यक्रमले महिलाहरूमा कानूनी साक्षरताको अभिवृद्धि गर्दै घरेलु हिंसाका घटनाहरू न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा कार्यपालिका सदस्य सिता विक,निवर्तमान वडा अध्यक्ष केदार काफ्ले , टोल विकास संस्थाका अध्यक्ष मदन काफ्ले , वालिङ नगरपालिका सामाजिक विकास शाखाका प्रमुख उमा डुम्रे लगायतले स्थानीय तहमा महिला अधिकारको विस्तारले घरेलु हिंसा विरुद्धको अभियानमा सकारात्मक प्रभाव पारेको बताउनुभएको थियो ।