स्याङ्जा जिल्ला अदालतमा परेका मुद्दामध्ये आधाभन्दा धेरै सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी रहेका छन् । अदालतमा आर्थिक वर्ष २०८१/८२ मा दर्ता गरिएका १हजार ७ मुद्दामध्ये ५ सय २१ मुद्दा सम्बन्ध विच्छेदका मात्रै रहेका जिल्ला अदालतका श्रेष्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो । अदालतमा दर्ता भएका नयाँ मुद्दामध्ये ६० प्रतिशत सम्बन्ध विच्छेदकै रहेका छन् ।
पुराना जिम्मेवारीसहित सम्बन्ध विच्छेदका ६सय ८ मुद्दा रहेकोमा अब ९० मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । यस्तै, पुराना जिम्मेवारीसहित वैवाहिक सम्बन्ध अन्त्यका १सय १ मुद्दा रहेकोमा अब २४ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा अदालतमा दर्ता भएका नयाँ मुद्दामा ६६ वटा अंशबण्डा, २२ वटा मानाचामल, लेनदेन ३० वटा, चेक अनादर र लिखित बदर १७/१७ वटा, घरेलु हिंसा ४, जालसाजी २५, जबरजस्ती करणी १७, बहुविवाह २, किर्ते २, लागू औषध १६, चोरी १७, कर्तव्य ज्यान १४, अभद्र व्यवहार ९, जग्गा सम्बन्धी १३, बैंकिङ कसुर १४ र अन्य (निषेधाज्ञा, वन सम्बन्धी मुद्दा, पुनरावेदन, जुवातास, मिलापत्र बदर, हातहतियार, दामासाही आदि) १ सय १६ गरी एक हजार ७ वटा मुद्दा रहेका छन् ।
पुरानो जिम्मेवारी र नयाँसहित एक हजार ३ सय ५९ मुद्दा रहेकोमा एक हजार ४४ अर्थात् ७६.८२ प्रतिशत मुद्दा फछ्र्यौट भएको श्रेष्तेदार शर्माले बताउनुभयो । उहाँले हाल ३१५ मुद्दा मात्र बाकी रहेको बताउँदै दुई वर्षभन्दा बढी पुराना मुद्दा कुनै पनि नरहेको जानकारी दिनुभयो ।
न्यायाधीश वासुदेव पौडेलले आर्थिक वर्ष ८१/८२ मा ६८ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएकोमा झण्डै ९ प्रतिशत धेरै ७६.८२ प्रतिशत मुद्दा फछ्र्यौट गर्न अदालत सफल भएको उल्लेख गर्दै मुद्दा फछ्र्यौटका आधारमा स्याङ्जा अदालत गण्डकी प्रदेशमै उत्कृष्ट अदालत बन्ने सफलता समेत हात पारेको बताउनुभयो