नेभिगेशन
विचार

भीरकोटको शैक्षिक पुनर्जागरणको मार्गचित्र

पलायन रोक्न र गुणस्तर जोगाउन अबको बाटो

शैक्षिक सत्र २०८२ को एसईई नतिजामा भीरकोट नगरपालिकाको खस्कँदो सूचकाङ्कले आम भीरकोटबासीलाई चिन्तित बनाएको छ।तर, एउटा परीक्षाको नतिजालाई मात्र आधार मानेर भीरकोटको समग्र शैक्षिक धरातललाई नै कमजोर भन्नु पूर्वाग्रह र हतारोको निष्कर्ष हुन्छ। यद्यपि, हाम्रा शिक्षण संस्थाहरू पूर्ण रूपमा सबल छन् भन्ने भ्रम पाल्नु पनि प्रत्युत्पादक हुनसक्छ।भीरकोटमा व्याप्त शैक्षिक पलायनको मुख्य कारण गुणस्तरप्रतिको शंका नै हो। यस शंकालाई चिर्दै भीरकोटलाई शैक्षिक केन्द्रको रूपमा पुनर्जागृत गर्न अब परम्परागत शैली होइन, रणनीतिक र तार्किक हस्तक्षेपको आवश्यकता छ।

भीरकोटको शैक्षिक उपलब्धि वृद्धि गरी विद्यार्थी पलायन रोक्न र गुणस्तर सुनिश्चित गर्न देहायका बहुआयामिक उपायहरू अवलम्बन गर्नु अपरिहार्य देखिन्छ:
१.त्रि-पक्षीय अन्तरसम्बन्ध र अभिभावक सचेतना

शैक्षिक गुणस्तरको दिगो आधार भनेको शिक्षक, विद्यार्थी र अभिभावक बीचको बलियो अन्तरसम्बन्ध हो। सफल विद्यालयहरूको इतिहास हेर्दा अभिभावकको समय र पुँजीको लगानी महत्त्वपूर्ण देखिन्छ। विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको नेतृत्वमा अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरी उनीहरूलाई विद्यालय प्रति अपनत्वको बोध गराइ विद्यालयका गतिविधिमा संलग्न गराउनुपर्छ । जसले शिक्षक, विद्यार्थी र अभिभावकबिचको अन्तरसम्बन्ध मजबुत बनाउछ।विद्यालय तथा स्थानीय सरकारले असल र जिम्मेवार अभिभावकलाई नगरस्तरमै सम्मान गर्ने संस्कृति बसाल्नुपर्छ।

२. शिक्षकको पेशागत विकास 

कृत्रिम बौद्धिकता (AI) र सूचना प्रविधिको वर्तमान युगमा ज्ञान, शिक्षण प्रविधि र शिक्षणसिकाइ शैलीमा तीव्र गतिमा परिबर्तन भइरहेको छ। तसर्थ, शिक्षकहरूलाई केवल परम्परागत तालिम मात्र दिएर पुग्दैन; नियमित अनुगमन, आधुनिक प्राविधिक ज्ञान र पृष्ठपोषण (Feedback) को व्यवस्था स्थानीय तहले गर्नुपर्छ। स्थानीय तहले शैक्षिक सुधार कार्यदल गठन गरी बिदाको दिनमा विषयगत शिक्षकहरूबीच अनुभव र असल अभ्यास आदानप्रदान गर्ने कार्यशाला सञ्चालन गर्नुपर्छ।

३. शैक्षिक नेतृत्वको पुन: संरचना 

कुनै पनि शैक्षिक संस्थाको मेरुदण्डको रुपमा प्रधानाध्यापक रहने हुँदा प्रअको नेतृत्व शैली,  ज्ञान, अनुभव, भिजन, रणनीति र कार्यनीतिले त्यस विद्यालयको शैक्षिक उपलब्धिमा उल्लेखनीय भुमिका खेल्छ । तसर्थ सामुदायिक विद्यालयमा व्यवस्थापन समिति र स्थानीय सरकारले (संस्थागतमा सम्बन्धित स्कुलको वि.व्य.स.ले ) खुला प्रतिस्पर्धात्मक प्रणालीबाट (शिक्षा नियमावली २०५९ समेतलाई मध्यनजर राखी) विद्यालय विकासको भिजन, रणनीति र कार्यनीति भएका व्यक्तिलाई (सम्बन्धित विद्यालयका शिक्षक तथा अभिभावकको मूल्यांकनलाई समेत आधार लिएर) छनोट तथा नियुक्ति गर्नुपर्छ।जसले गर्दा प्रअलाई जवाफदेही र अधिकारसम्पन्न बनाई विद्यालयमा शैक्षिक सुशासन कायम गर्न सहज हुन्छ।जुन अभ्यास धेरे जसो स्थानीय तहले गरेका छन्।

४. उदार कक्षोन्नतिको विकृति र उपचारात्मक शिक्षण

प्राथमिक तहमा अवलम्बन गरिएको उदार कक्षोन्नति कारण न्यूनतम सिकाइ उपलब्धि हासिल नगरेका विद्यार्थीहरू पनि माथिल्लो कक्षामा पुग्ने गम्भीर समस्या देखिएको छ। यसको समाधानका लागि शैक्षिक सत्रको सुरुवातदेखि नै कमजोर विद्यार्थी पहिचान गरी अतिरिक्त उपचारात्मक कक्षा (Remedial Classes) सञ्चालन गर्नुपर्छ। यसका लागि दैनिक कक्षा शिक्षणमा TTT (Test, Teach and Test) विधि र एकीकृत पाठ्यक्रमको मूल्याङ्कन प्रणालीलाई अक्षरसः कार्यान्वयन गरिनुपर्छ।

५. समतामूलक शिक्षा र लक्षित छात्रवृत्ति

संस्थागत विद्यालयको पहिलो प्राथमिकता दक्ष र योग्य शिक्षक नियुक्त गरी शिक्षणसिकाइ सुधार गर्ने हुनुपर्छ(नाफा भनेको स्कुल ब्राण्ड बनेपछि हुने कुरा हो) भने सामुदायिक विद्यालयले गरीब, विपन्न तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई विद्यालयमा नियमित उपस्थित गराउन स्थानीय तहको समन्वयमा विशेष छात्रवृत्ति, यातायात र आवश्यक शैक्षिक सामग्रीको ग्यारेन्टी गरिनुपर्छ, जसले गर्दा कोही पनि आर्थिक अभावका कारण शिक्षाको मूलधारबाट बाहिरिनु नपरोस् र उनीहरुको सिकाइ उपलब्धि अपेक्षित होस्।

६. नेतृत्वको प्रतिबद्धता: सुरुवात आफैंबाट

भीरकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सरकारी कर्मचारी र व्यवसायीहरूको कथनी र करणीमा एकरूपता हुनुपर्छ। समाजका अगुवाहरूका छोराछोरी छिमेकी पालिका पढ्न जाने तर भाषणमा "भीरकोट बनाउँछु" भन्नु विरोधाभासपूर्ण छ। जब नेतृत्वले आफ्ना सन्तान स्थानीय विद्यालयमा भर्ना गर्छन्, तब मात्र आम सर्वसाधारणमा नगरभित्रका विद्यालयप्रति विश्वासको वातावरण सिर्जना हुन्छ।

७. परीक्षा प्रणालीमा एकरूपता

भीरकोटका संस्थागत विद्यालयहरूबीच प्रश्नपत्र निर्माण तथा परीक्षा सञ्चालनमा सहकार्य र समन्वय गर्दै एकरूपता कायम गरिएको पाइन्छ। यसले मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाउन सहयोग पुगेको देखिन्छ। तर सामुदायिक विद्यालयहरूमा यस्तो अभ्यास विकसित हुन सकेको छैन।

त्यसैले सामुदायिक विद्यालयहरूमा पनि आन्तरिक परीक्षा सञ्चालन, प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन प्रक्रियामा एकरूपता कायम गर्न सकेमा शिक्षण–सिकाइ प्रक्रियामा सुधार आउनुका साथै विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि हुन सक्ने देखिन्छ।

. सिकाइप्रति विद्यार्थीको आकर्षण बढाउने

विद्यार्थीहरूमा पढाइप्रति आकर्षण बढाउन शिक्षणलाई रोचक, व्यवहारिक र प्रविधिमैत्री बनाउनुपर्छ।प्रत्येक विद्यार्थीको सानो सफलतालाई पनि कक्षामा सार्वजनिक प्रशंसा गर्दा आत्मविश्वास र पढाइप्रति लगाव दुवै बढ्छ।  खेल, कथा, परियोजना कार्य र प्रयोगात्मक सिकाइले विद्यार्थीलाई सक्रिय बनाउँछ। शिक्षकको सकारात्मक व्यवहार र अभिभावकको सहयोगले अध्ययनमैत्री वातावरण सिर्जना हुन्छ। साथै, पढाइलाई जीवनोपयोगी सीप र भविष्यसँग जोडेर सिकाउँदा विद्यार्थीमा सिकाइप्रति स्वाभाविक रुचि विकास हुन्छ।

९. शिक्षक र विद्यालयमाथि उठ्ने प्रश्न

विगत लामो समयदेखि सामुदायिक विद्यालयका शिक्षकहरूमाथि लाग्ने एउटा प्रमुख आरोप भनेको उनीहरू कुनै न कुनै राजनीतिक दलको पक्षमा खुलेर लाग्छन् भन्ने हो। वास्तवमा मानिस राजनीतिक चेतना भएको प्राणी भएकाले हरेक व्यक्तिको आफ्नै राजनीतिक आस्था र विचार हुनु स्वाभाविक कुरा हो। तर सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै दलको पक्ष वा विपक्षमा अत्यधिक समर्थन वा विरोध व्यक्त गर्दा समुदायका आम नागरिकमा त्यस्ता व्यक्तिप्रति विश्वास कमजोर बन्न सक्छ।

यद्यपि वास्तविकता के हो भने अधिकांश शिक्षकहरूको पहिलो प्राथमिकता शिक्षण–सिकाइ प्रक्रिया र विद्यार्थीको शैक्षिक उपलब्धि नै हुन्छ।तर आम नागरिकले सधैं यही पक्षलाई नदेख्न पनि सक्छन्।समाजमा विभिन्न राजनीतिक दलमा आस्था राख्ने मानिसहरुले आफ्नो भन्दा फरक राजनीतिक दलमा खुलेर आस्था राख्ने शिक्षकहरु माथि प्रश्न उठाउँदै गर्दा त्यसले आम शिक्षकहरुको समेत छवि धमिलाउने सम्भावना रहन्छ। त्यसैले शिक्षकहरू यस विषयमा अझ संवेदनशील र जिम्मेवार बन्न आवश्यक छ। कुनै समय प्रजातन्त्रको संस्थागत विकासका लागि शिक्षक तथा आम कर्मचारीहरूको महत्वपूर्ण भूमिका थियो, तर समयसँगै समाजका अपेक्षाहरू पनि बदलिएका छन्। आज समाजले शिक्षकलाई केवल कर्मचारीका रूपमा होइन, नैतिकता, निष्पक्षता र आदर्शको प्रतीकका रूपमा हेर्ने खोज्छ। त्यसैले शिक्षकहरूले आफ्नो व्यवहार र अभिव्यक्तिमा सन्तुलन कायम गर्नु जरुरी छ।

अर्कोतर्फ, भीरकोटका संस्थागत विद्यालयहरूप्रति अभिभावकहरूको अर्को गुनासो भनेको विद्यालयमा शिक्षकहरू बारम्बार परिवर्तन भइरहनु हो। वर्षमा धेरै पटक शिक्षक फेरिने अवस्थाले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा प्रत्यक्ष असर परेको अभिभावकहरूको भनाइ छ। वास्तवमा यो समस्या केवल भीरकोटमा मात्र नभई अधिकांश निजी विद्यालयहरूको साझा समस्या बनेको छ। यसतर्फ विद्यालय व्यवस्थापन समिति तथा शेयर होल्डरहरूले गम्भीर ध्यान दिन आवश्यक देखिन्छ।1000060780-1779432480.jpg

१०. भ्रम चिर्दै सफलताको प्रचार प्रसार

"भीरकोटमा पढाइ हुँदैन" भन्ने नकारात्मक भाष्यलाई चिर्न यहाँका विद्यालयका सफलताहरूलाई उजागर गर्नु आवश्यक छ। विगत (२०७८ र २०८०) मा भाग्योदय माध्यमिक विद्यालयबाट एस.ई.ई. उत्तीर्ण गरी चिकित्सा शास्त्र (MBBS) मा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सुशील खनाल र भीष्म रेग्मी जस्ता प्रतिभाहरू तथा विभिन्न प्राज्ञिक विधामा जिल्लास्तरमा उत्कृष्ट नतिजा हासिल गरेका अन्य विद्यालयका उदाहरणहरूलाई आम अभिभावकसम्म पुर्‍याउनुपर्छ। विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा गरेर विद्यार्थी तान्ने होइन, बरु एउटा साझा 'शैक्षिक क्यालेन्डर' र 'गुणात्मक मानक' तयार गरी सहकार्यको संस्कृति विकास गर्नुपर्छ। नगरस्तरमा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने संयन्त्र बनाउँदा यसले स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।त्यसैगरी, भीरकोट नगरभित्र वालिङका प्रसिद्ध “१०+२” तहमा सञ्चालन हुँदै आएका होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स जस्ता वर्तमान समयमा विद्यार्थीहरूको रोजाइमा परेका विषयहरू गत वर्षदेखि बयरघारीको भू.पु. सैनिक कम्युनिटी स्कुल ले पनि सञ्चालन गरेको छ। यस्ता कार्यक्रमहरूको संस्थागत विकासका लागि नगरपालिकाले प्रचार–प्रसार गर्दै नैतिक तथा प्राविधिक सहयोग गर्न आवश्यक छ। साथै वरिपरिका विद्यालयहरूले पनि इच्छुक विद्यार्थीहरूलाई त्यहाँ अध्ययनका लागि पठाएर सहकार्यको वातावरण बनाउनुपर्छ। किनकि छिमेकी संस्था राम्रो, बलियो र समृद्ध हुनु भनेको अप्रत्यक्ष रूपमा समग्र समाजकै विकास र समृद्धि हुनु हो भन्ने सत्यलाई सबैले मनन गर्न आवश्यक छ।

निष्कर्ष:

भीरकोटको शैक्षिक अवस्था र शैक्षिक पलायन संकट मात्र होइन, रूपान्तरणको एउटा विशिष्ट अवसर पनि हो। स्थानीय सरकारको अभिभावकत्व, शिक्षकको व्यावसायिक निष्ठा, नेतृत्वको प्रतिबद्धता र वि.व्य.स.तथा अभिभावकको सक्रियता मिल्ने हो भीरकोट शैक्षिक हव बन्ने कुरामा दुईमत छैन।यसर्थ अबको बाटो केवल गफ, भाषण र सरोकारवाला बिच आरोप–प्रत्यारोपको होइन; स्पष्ट योजना, साझा प्रतिबद्धता र रणनीतिक कार्यान्वयनको हुनुपर्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्