नेपालमा बेरोजगारी र दक्ष जनशक्तिको अभाव दुबै समस्या छन् । एउटा पक्षमा रोजगारीको अवसर खोज्दै युवाहरू वैदेशिक रोजगारीतर्फ धाइरहेका छन् भने अर्काेतर्फ यहाँका उद्योग–व्यवसायीले आवश्यक सीपयुक्त जनशक्ति नपाएर कार्यक्षेत्रमा कठिनाइ भोगिरहेका छन् ।
यस्तै समस्या समाधान गर्न गण्डकी प्रदेशमा करियर बुथको स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय र इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (आइल्याव) नेपाल कार्यक्रम अन्तर्गत गण्डकी टिम मार्फत १० स्थानमा करियर बुथ स्थापना भएको हो ।
करियर बुथ स्थापना गर्नका लागि प्रदेशका शैक्षिक र व्यवसायिक संस्थाहरुसँग आईतबार पोखरामा आयोजित एक कार्यक्रमका वीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी भई हस्ताक्षर भएका संस्थाहरुमा रोजगार सूचना केन्द्र (सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय) पोखरा , प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेश,गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका,माछापुच्छ्रे गाउँपालिका , पोखरा प्राविधिक शिक्षालय , किसान प्राविधिक शिक्षालय , उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट रहेका छन् ।
गण्डकी प्रदेशमा स्थापना भएको करियर बुथ को पहललाई भविष्यमा रोजगारी, सीप र युवाको भविष्यसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण कदमका रूपमा हेरिएको आइल्याव गण्डकीका संयोजक तथा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी (गैरे)ले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ , “यसको लक्ष्य भनेको बेरोजगार युवाहरूलाई रोजगारीका अवसरसँग जोड्नु, विभिन्न संस्थालाई दक्ष जनशक्ति उपलब्ध गराउनु, र कामदारलाई उनीहरूको सीप र रूचिअनुसार मार्गदर्शन गर्नु हो । ” विशेषगरी पाँच प्रकारका व्यक्तिहरूलाई सेवा दिने गरी करियर बुथ डिजाइन गरिएको आइल्याव गण्डकीका सदस्य शरद कोइरालाले बताउनुभयो ।
रुचि र क्षमताबारे स्पष्टता नभएकाहरू ,काममा संलग्न तर अपूरा दक्षता वालाहरू,अनौपचारिक रूपमा दक्षता हासिल गरेका व्यक्तिहरू, अनुभवी व्यक्तिहरू र पेशागत रूपमा स्थापित व्यक्तिहरू यो कार्यक्रमबाट प्रत्यक्ष फाईदा लिन सक्ने कोइरालाको भनाई छ ।
शिक्षा प्रणाली कार्यशाला कार्यक्रम नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम प्रणालीलाई सुदृढ बनाउन लक्षित छ । यसै काठमाडौँ विश्वविद्यालयले देशभरबाट करियर बुथ स्थापनाका लागि प्रस्ताव आह्वान गरेको थियो । सो आह्वानमा गण्डकी प्रदेशको टिमले प्रस्तुत गरेको अवधारणा छनोट भई कार्यान्वयन र परीक्षणका लागि स्वीकृत भई १० वटा संस्था छनौट भएको आइल्याव गण्डकीका सदस्य नवराज अधिकारीले जानकारी दिनुभयो ।
करियर बुथले सेवाग्राहीलाई पेशागत विकासका लागि आवश्यक पहिचान, तालिम, सीप परीक्षण, रोजगार अवसर र उद्यमशीलता परामर्श उपलब्ध गराई प्रदेशभित्रै दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउनेछ । यसले बाहिर रोजगारी खोज्नुपर्ने बाध्यता कम गर्न सक्छ । यससँगै प्रदेशको आर्थिक चक्रभित्रै युवाको श्रम–शक्ति परिचालन हुने र उद्यमशीलता बढ्ने अपेक्षा गरिएको छ ।
यसरी छनोट भएपछि गण्डकी प्रदेशको टोलीले करियर बुथको मोडालिटी, सञ्चालन प्रणाली र परामर्श सेवाबारे अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
यसरी करियर बुथले केवल बेरोजगारलाई मात्र होइन, रोजगारीमा लागि सकेकाहरूलाई पनि थप सशक्त बनाउन भूमिका खेल्नेछ । शिक्षा विज्ञहरूका अनुसार, नेपालमा शिक्षा र रोजगारीबीच ठूलो खाडल छ । शिक्षाले दिने सीप र बजारले माग गर्ने सीपबीच मेल छैन। करियर बुथजस्ता अभ्यासले त्यो खाडल घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
यदि यसलाई निरन्तरता दिइयो भने गण्डकी प्रदेश केवल प्राकृतिक सुन्दरता लागि होइन, सीपयुक्त मानव संसाधनको केन्द्र का रूपमा समेत चिनिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।