नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

स्याङ्जाका बालिका तथा किशोरीहरुलाई आत्मरक्षा तालिम

बदलिंदो समाजमा बालिकाहरू तथा किशोरीहरु विभिन्न किसिमका हिंसा, दुर्व्यवहार तथा असुरक्षाको शिकार बन्ने गरेको तथ्य लुकेको छैन। यस्तो अवस्थामा बालिका तथा किशोरीहरुलाई आत्मरक्षाको ज्ञान अत्यावश्यक बन्न गएको छ। यसै विषयलाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकार अन्तर्गतको एकिकृत सेवा कार्यालय स्याङ्जाले जिल्लाका किशोरीहरुलाई शारीरिक र मानसिक तरिकाले उनीहरुलाई सुरक्षित राख्न सक्षम बनाउने उद्धेश्यले आत्मरक्षा तालिम दिइएको छ ।

किशोरीहरु एक्लै हिड्दौड गर्दा  र मेलापात घाँसदाउरा गर्दा हुन सक्ने सम्भावित लैङ्गिक हिंसाको  अवस्थामा आवश्यक पर्दा प्रतिकार सहित आफ्नो रक्षा आफैँ गर्न सकुन भन्ने उद्धेश्यले विभिन्न चरणका सीपहरु मार्फत् किशोरिहरुलाई आत्मरक्षा तालिम सञ्चालन गरिएको हो । लैङ्गिक हिंसाको १६ दिने अभियानको अवसरमा कार्यालयले आयोजना गरेको कार्यक्रममा  २ दिन सम्म सञ्चालन भएको थियो ।   तालिममा  किशोरिहरुलाई गुड टच र व्याड टचको अवस्थाको विश्लेषण गर्न, बालिका र किशोरीमा नेतृत्व विकास, साइबर अपराधबाट सुरक्षाका उपाय लगायत   शारिरिक र मानसिक रुपमा आत्मसुरक्षाका चरणबद्ध सीपहरुको प्रशिक्षण गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको तालिमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले आत्मरक्षा तालिम निकै महत्वपुर्ण रहेको भन्दै नेपाली समुदायको पुरातन परम्पराले महिला दिदिबहिनीहरुलाई साँघुरो घेरामा राखेको बताउँदै यस्ता किसिमका तालिमले त्यस्ता घेरालाई तोड्न सहयोग गर्ने बताउनुभयो ।

चापाकोट नगरपालिका शिक्षा शाखा प्रमुख इन्दु भेटवालले यस किसिमको कार्यक्रमले लैङ्गिक हिंसा र विभेदका घटना कम हुनुको साथै किशोरीहरु हरेक क्षेत्रमा सक्षमता बृद्धि गर्ने वताउनु भयो । उहाँले छात्राहरूले हरेक क्षेत्रको नेतृत्व गर्न आफ्नो अन्तरनिहित सक्षमता बृद्वि गर्नु पर्नेमा जोड दिनुभयो ।

एकिकृत सेवा कार्यालय स्याङ्जा  प्रमुख जीवन पौडेलले यस किसिमको तालिमले किशोरीहरूलाई आफूलाई सुरक्षित राख्ने उपायहरू मात्र सिखाउँदैन, उनीहरूलाई हरेक परिस्थिति सामना गर्ने साहस र आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । प्रहरी नायव उपरीक्षक दिपक मल्लले लैङ्गिक हिंसा अन्त्य गर्न सचेतनासँगै कानूनी उपचारको बाटो अवलम्बन गर्नु पर्ने बताउनु भयो ।


तालिममा कराँते प्रशिक्षक तास्बिन पुनको टोलीले आत्मरक्षा सम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।  प्रशिक्षक आयुष्मा काफ्लेले  गुड टच र ब्याड टचको विषयमा प्रशिक्षण दिनुभएको थियो भने बिना रेग्मीले बालिका र किशोरीहरुमा नेतृत्व विकास तथा उत्प्रेरणाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै सहभागिहरुले अब समाजमा लैङ्गिक विभेद विरुद्ध ढुक्क सँग बोल्न र प्रतिकार गर्न सक्षम भएको साथै विद्यालयमा र टोलमा गएर आफूले सिकेको कुराहरु अन्य साथीहरुलाई सिकाउने बताउनु भयो ।

 “आत्मविश्वासयुक्त बालिका र किशोरी : लैङ्गिक हिंसा र विभेदको अन्त्य, समता र समानतासहितको न्यायपूर्ण समुन्नत समाजको निर्माण” भन्ने मुल नाराकासाथ चापाकोटस्थित सिटीहलमा  चापाकोट नगरपालिकाको समन्वमा चापाकोट नगरपालिकाका विद्यालय तथा  जिल्ला बाल सञ्जालका ६० जना बालिका र किशोरीहरुलाई तालिम सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्