नेभिगेशन
समाज

पुतलीबजारमा कपडा बैंक स्थापनाको तयारी

स्याङ्जा सदरमुकाममा पहिलोपटक कपडा बैंक सञ्चालन हुने भएको छ । पुतलीबजार नगरपालिका र नगरपालिकाको  वडा नं. ३ मा रहेको लत्रेपिपल क्लबको साझेदारीमा स्याङ्जा बजार क्षेत्रमा कपडा बैंक स्थापना गर्न लागिएको हो ।घरघरमा रहेका तर प्रयोगमा नआएका, साना वा साघुरा भएका तर लगाउन मिल्ने कपडा, झोला, जुत्तालगायतका सामग्री संकलन गरी आवश्यक पर्ने व्यक्तिलाई उपलब्ध गराउने उद्देश्यसहित कपडा बैंकको अवधारणा अघि सारिएको पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । उहाँका अनुसार संकलित कपडा आवश्यकता र मागका आधारमा वितरण गरिनेछ ।

यस बैंकबाट आवश्यकता परेका जो कोहीले पनि कपडा लिएर जान सक्ने व्यवस्था मिलाइने जनाइएको छ । प्रयोग गर्न नमिल्ने पुराना कपडाबाट डसना बनाएर वितरण गर्ने योजना समेत रहेको कपडा बैंक स्थापना कार्यक्रमका संयोजक तथा लत्रेपिपल क्लबका अध्यक्ष मनोज मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार आवश्यकता र अभावमा रहेका व्यक्ति वा समुदायले आफैं आएर वा वडा कार्यालयमार्फत समन्वय गरेर पनि कपडा प्राप्त गर्न सक्नेछन् । कपडा बैंक सञ्चालनका लागि पुतलीबजार नगरपालिकाले स्याङ्जा बजारमा दुईवटा कोठा उपलब्ध गराएको छ ।

कपडा बैंक छिट्टै सञ्चालनमा ल्याइने तयारी भइरहेको जनाउँदै कार्यक्रम संयोजक मल्लले दराज, र्‍याक जस्ता सामग्री सहयोगका लागि सबैमा आह्वान गर्नुभएको छ  । उहाँले यो सामाजिक कार्य सफल बनाउन भौतिक, आर्थिक तथा नैतिक सहयोगको अपेक्षा गरिएको बताउनुभएको  छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्