नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

अध्यक्ष तिवारीलाई 'जेसीआई यूथ अवार्ड' को सम्मान

स्याङ्जा जिल्ला स्थित अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) यूथ अवार्डबाट सम्मानित हुनुभएको छ।

युवामैत्री नेतृत्व, नवप्रवर्तनशील सोच र स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादनको कदर गर्दै जेसीआई नेपालले ५२ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरेको हो । जेसीआई नेपालले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका युवालाई सम्मान गर्दै आएको छ ।

यसअघि पनि तिवारी चर्चित अनलाइन सञ्चारमाध्यम अनलाइनखबरद्वारा प्रकाशित ‘४० मुनिका ४०’ सूचीमा सूचीकृत भई सम्मानित भइसकेका छन् । देशभरका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका प्रभावशाली युवालाई समेट्दै उक्त सूची सार्वजनिक गरिँदै आएको छ ।

पहिले गुमनाम र विकासका दृष्टिले पछाडि परेको अर्जुनचौपारी गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउन तिवारीको नेतृत्व निर्णायक बनेको स्थानीयहरू बताउँछन् । सीमित स्रोत–साधनका बाबजुद स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यान्वयन र जनसहभागितामूलक विकास मोडेलमार्फत उहाँले गाउँपालिकालाई विभिन्न राष्ट्रिय सम्मान र पुरस्कारको योग्य बनाउन सफल हुनुभएको छ।

तिवारी नेपालकै पहिलो नवग्रह मन्दिरका परिकल्पनाकारका रूपमा पनि परिचित छन् । धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनलाई एकीकृत गर्दै अघि सारिएको उक्त अवधारणाले गाउँपालिकाको पहिचान स्थापित गर्नुका साथै आन्तरिक पर्यटन विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ । उहाँको कार्यकालमा सुशासनलाई प्राथमिकतामा राख्दै प्रशासनिक पारदर्शिता, डिजिटल सेवा विस्तार र छिटोछरितो सेवा प्रवाहमा सुधार गरिएको छ ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न पहल गरिएको छ भने स्वास्थ्य क्षेत्रमा आधारभूत सेवाको पहुँच विस्तार गरिएको छ । साथै सडक, खानेपानी, भवन निर्माणलगायत भौतिक पूर्वाधार विकासमा पनि उल्लेखनीय प्रगति भएको छ ।

जेसीआई यूथ अवार्डमार्फत प्राप्त सम्मानले स्थानीय तहमा युवाको नेतृत्व, नवीन सोच र प्रतिबद्धताबाट दिगो विकास सम्भव छ भन्ने सन्देश दिएको अध्यक्ष तिवारीले बताउनु भएको छ। उहाँले यस उपलब्धिलाई अर्जुनचौपारी गाउँपालिकावासीले गौरवका रूपमा लिएको र यसले अन्य युवालाई पनि सार्वजनिक सेवामा सक्रिय हुन थप प्रेरणा दिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्