नेभिगेशन
समाज

भीरकोटका जेष्ठ नागरिकलाई लायन्स क्लबको न्यानो उपहार

लायन्स क्लब भीरकोट जेष्ठ नागरिकहरूको सम्मानका लागि उहाँहरूको घरदैलोमै पुगेको छ। क्लबले ८४ वर्ष नाघेका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा उपहार लिएर उहाँहरूको घरघरमा पुगेको हो। भीरकोट नगरपालिकाका ९ वटै वडामा रहनुभएका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने अभियानको शुभारम्भ शुक्रबार वडा नं. ९ बाट गरिएको छ। क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष यस्ता सामाजिक तथा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ। यसै क्रममा यो वर्ष क्लबले जेष्ठ नागरिक सम्मान स्वरूप न्यानो कपडा उपहार प्रदान गरेको हो।

शुक्रबार वडा नं. ९ मा बसोबास गर्नुहुने ८४ वर्ष माथिका २० जना जेष्ठ नागरिकहरूको घरघरमा पुगेर सिरक, टोपी र जुत्ता उपहार प्रदान गरिएको कुरा क्लबका सचिव श्री अमृत अर्यालज्यूले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष श्री लक्ष्मण अधिकारीज्यूले सेवा भावका साथ अगाडि बढेको लायन्स क्लबले अभिभावक तुल्य जेष्ठ नागरिकहरूको आशीर्वाद लिन पाउँदा निकै खुसी लागेको बताउनुभयो।

कार्यक्रममा वडा अध्यक्ष भीमबहादुर गुरुङ, वडा नं. ७ का अध्यक्ष ताराप्रसाद अर्याल, क्लबका निवर्तमान अध्यक्ष ढाकाराम खनाल, वर्तमान अध्यक्ष चिन्तामणि चापागाँई, उपाध्यक्ष किरण केसी, सचिव अमृत अर्याल, कोषाध्यक्ष राजन सुनार, वडा नं. १ का सदस्य सुरेश खांण, खेमबहादुर गुरुङ लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। क्लबले एक जना जेष्ठ नागरिकलाई ४ हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेको छ। शुक्रबार मात्रै २० जनालाई ८० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो।

यो कार्यक्रम क्लबको सामाजिक उत्तरदायित्व कोषमा रहेको रकमबाट सञ्चालन गरिएको क्लबले जनाएको छ। क्लबका सदस्य तथा पदाधिकारीहरूले आ–आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर उक्त कोषमा रकम जम्मा गर्ने र सोही रकमबाट यस्ता पवित्र सामाजिक कार्यहरू गर्दै आएको क्लबले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्