देशभरबाट सहभागी ३ हजारभन्दा बढी प्रतिस्पर्धीहरूलाई पछि पार्दै स्याङ्जाकी प्रशंसा अर्याल राष्ट्रिय स्तरको चर्चित रियालिटी शो ‘द लिडर’ (The Leader) को टप–१० मा प्रवेश गर्न सफल हुनुभएको छ। वालिङ नगरपालिका स्थायी घर हुनुभएकी प्रशंसाले आफ्नो अब्बल तार्किक क्षमता र नेतृत्व कौशलका माध्यमबाट यो सफलता हात पार्नुभएको हो। डिजिटल अडिसनदेखि फिजिकल अडिसन, सर्भाइभल स्टेज र विभिन्न कठिन प्रतिस्पर्धात्मक चरणहरू पार गर्दै उहाँले क्रमशः टप–५०, टप–३०, टप–२०, टप–१५ हुँदै अहिले टप–१० मा आफ्नो स्थान सुरक्षित गर्नुभएको हो। उल्लेखनीय कुरा के छ भने, उहाँ गण्डकी प्रदेशबाट टप–१० मा पुग्ने एक्ली प्रतियोगी हुनुहुन्छ। राष्ट्रिय मञ्चमा स्याङ्जा र सिङ्गो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै अघि बढिरहेको उहाँको यो यात्राले स्थानीय स्तरमा ठूलो उत्साह थपेको छ।
दामी मिडियाको प्रस्तुति रहेको यो ‘सोसियो–पोलिटिकल’ रियालिटी शो OSR Reality युट्युब च्यानल र AP1 HD टेलिभिजन मार्फत हरेक सोमबार र मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको छ। प्रतिस्पर्धीहरूको विचार, प्रस्तुति, नेतृत्व कौशल र अभिव्यक्ति क्षमतालाई मापन गर्ने निर्णायकका रूपमा वरिष्ठ सञ्चारकर्मी श्री दिल भूषण पाठकज्यू, पूर्व मिस नेपाल माल्भिका सुब्बा र ईक्यान (ECAN) का अध्यक्ष शेषराज भट्टज्यू रहनुभएको छ भने कार्यक्रमको सञ्चालन सौनक भट्टले गरिरहनुभएको छ। युवाहरूमा नेतृत्व विकास र सामाजिक मुद्दाहरूमा स्पष्ट धारणा राख्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले यो शो आयोजना गरिएको हो।
स्याङ्जा वालिङकी चेली प्रशंसा अर्यालको यो सफलता स्याङ्जावासी तथा समग्र युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। आफूलाई उत्कृष्ट–५ (Top-5) सम्म पुर्याउन र उपाधिको दाबेदार बन्नका लागि सबैको साथ, सहयोग र भोटको आवश्यकता रहेको बताउँदै प्रशंसा अर्यालले सम्पूर्ण शुभेच्छुकहरूलाई भोट गरिदिनुहुन विनम्र आग्रह गर्नुभएको छ। उहाँलाई Aventoz App, eSewa, Khalti वा Direct QR मार्फत भोट गर्न सकिनेछ। भोटिङ लाइन हरेक साता सोमबार राति ९ बजेदेखि बिहीबार दिउँसो २ बजेसम्म खुला रहने जनाइएको छ। उहाँको प्रखर वक्तृत्व कला र नेतृत्व क्षमतालाई कदर गर्दै अत्याधिक भोट गरेर जिताउन विभिन्न संघ–संस्था तथा वालिङवासीले अपिल समेत गरेका छन्।