नेभिगेशन
समाज

सवारी चालकलाई स्याङ्जा प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुपदार्थ सेवन गरी सवारी साधन नचलाउन सम्पूर्ण चालकहरूलाई अनुरोध गरेको छ। सडक दुर्घटना न्यूनीकरण गर्दै यात्रालाई अझ सुरक्षित, मर्यादित तथा भरपर्दो बनाउने र लागुपदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले प्रहरीले “लागुपदार्थ सेवन चेकिङ अभियान” सञ्चालन गर्दै आएको छ। स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा ‘टेस्ट किट’ (Test Kit) प्रयोग गरी नियमित रूपमा यस्तो चेकजाँच भइरहेको भन्दै प्रहरीले लागुपदार्थ सेवन गरी जथाभावी रूपमा सवारी नचलाउन सचेत गराएको हो।

यसै अभियान अन्तर्गत हालै पुतलीबजार नगरपालिका–१ स्थित बसपार्क क्षेत्रको सिद्धार्थ राजमार्गमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधन चेकजाँच गर्दा १४ जना चालकमध्ये ९ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाइरहेको पाइएको थियो। नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक अनुसन्धान गरी अदालतमा पेस गरिएकोमा अदालतले जनही १४/१४ दिन कैद र जरिवानाको फैसला सुनाएको छ।

यस प्रकारको चेकिङ अभियान आगामी दिनहरूमा पनि स्याङ्जा जिल्ला अन्तर्गत पर्ने सिद्धार्थ राजमार्गका विभिन्न स्थानहरू तथा सहायक भित्री सडक मार्गहरूमा समेत निरन्तर रूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ। सवारी चालकहरूलाई आफ्नो तथा अरूको ज्यानको सुरक्षालाई मध्यनजर गर्दै लागुपदार्थ सेवन गरी सवारी साधन नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सधैँ सजग र जिम्मेवार भई सवारी सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्