जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू पदार्थ र मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ जना चालकहरूलाई कानुनी कारबाही गरेको छ। लागू पदार्थ सेवन गरी सवारी चलाउने ३ जना र मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने १ जना सहित ४ जना चालक कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो।
सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा गत जेठ ६ गतेदेखि लापसे चेकिङ अभियान सुरू गरेको थियो। "लापसे चेकिङ अभियान" अन्तर्गत यही असार १३ गते जिल्ला स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर -१ रामबाच्छा स्थित सिद्धार्थ राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधनका चालकहरूलाई लागूऔषध सेवन गरे नगरेको चेकजाँच गर्दा ३ जना चालकहरूले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको थियो। चेकिङका क्रममा प्रहरीले
लागू पदार्थ सेवन गरी सवारी चलाउने ग.२३ प. ६९ नम्बरको मोटरसाईकल चालक पर्बत पैयु गाउँपालिका वडा नम्बर-०४ बस्ने वर्ष २३ को हिमाल सेन ठकुरी , लु.१ ह. १७३९ नम्बरको अटो चालक बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर -०१ घर भई हाल वालिङ नगरपालिका वडा नम्बर-०२ बस्ने वर्ष २४ को दिपक घर्ती र लु.७०प.४६३७ नम्बरको मोटरसाईकल चालक स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर-०३ बस्ने वर्ष ४७ को दिपक सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। चेकिङका क्रममा ग.२ च. ५६८४ नम्बरको एम्बुलेन्स चालक आँधिखोला गाउँपालिका वडा नम्बर-०४ बस्ने वर्ष ४८ को धनश्याम पौडेलले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो।
लापसे र मापसे गरी सवारी चलाउने ४ जनालाई नियन्त्रणमा लिई असार १५ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट दिन १० (दश) को म्याद थप अनुमति लिई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट कानूनी कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी चौधरीले जानकारी दिनुभयो।