नेभिगेशन
कृषि

एक लिटर दुधमा पाँच रुपैयाँ अनुदान

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र  स्याङ्जाले एक लिटर दुधमा पाँच रुपैयाँ अनुदान दिएको छ ।  भीरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १ सय ३० लिटरको छ लाख ६० हजार ६५० रुपैयाँ र आँधीखोला कृषि उद्यम सहकारी संस्थालाई ६९ हजार ७ सय २० लिटर दुधको तीन लाख ४८ हजार छ सय रुपैयाँ गरी नौ लाख ९९ हजार २५० रुपियाँ अनुदान दिएको हो । 

पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रूपेश श्रेष्ठले कार्यालयले निकालेको सूचनामा माग भएका तीन मध्ये दुई वटा छनौट गरी अनुदान दिएको बताउनुभयो । कार्यालयले दुई चरणमा गरेर अनुदान दिएको बताउदै श्रेष्ठले सिधै अनुदान भन्दा उत्पादनको आधारमा प्रभावकारी देखिएको बताउनुभयो । उहाँले सहकारी दुध सङ्कलन गरेको दैनिक विवरणको आधारमा अनुदान दिएको बताउनुभयो । 

यस्तै कार्यालयले भीरकोट सहकारीलाई ७५ प्रतिशत अनुदानमा १लाख १ हजार रुपियाँको मिल्क एनोलाईजर प्रदान गरेको हो । यस्तै विज्ञ केन्द्र स्याङ्जाले चापाकोट ९ को केलादी दुग्ध उत्पादक समुहलाई नयाँ गोठ निर्माणमा नौ वटाको छ लाख ९६ हजार ५१८ रुपैयाँ, १० वटा भकारो सुधारको लागि तीन लाख ४५ हजार छ सय रुपियाँ, ८१ हजारको राँगो, १३ वटा च्याफ कटरको तीन लाख ३१ हजार पाँच सय रुपैयाँ, डेरी उपकरण खरिदको एक लाख ४९ हजार ७४० लगायत १६ लाख ३९ हजार ९ सय ५३ रुपियाँ बराबरको अनुदान दिएको श्रेष्ठले बताउनुभयो । 

यस्तै विज्ञ केन्द्रले चापाकोट ९ को सिद्धबाबा एग्रो फर्म एण्ड सिचर्स सेन्टर प्रालिलाई ९५ लाख पाँच प्रतिशत अनुदानमा कृषि ऋण दिएको हो । विज्ञ केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा चार करोड ५४ लाख चालू र ७० लाख पूँजीगत बजेटमध्ये ८२.६३ प्रतिशत खर्च गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्