नेभिगेशन
कृषि

फेदीखोलामा मनाइयो  प्रथम राष्ट्रिय कोदो दिवस 

फेदीखोला गाउँपालिकाले  प्रथम कोदो दिवस मनाएको छ। वडा नं–१ रामकोटमा प्रथम राष्ट्रिय कोदो दिवस- २०८२ शुक्रबार कोदो रोपाइँ सहित  विभिन्न औपचारिक कार्यक्रम गरेर   मनाइएको हो । 

"कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार " भन्ने नारा सहित  मनाइएको दिवसमा कोदोको परिकार प्रदर्शनी र कोदोको उपयोगिताको विषयमा  अन्तरक्रिया समेत गरिएको थियो।

कोदो जलवायु प्रतिकुलताको अवस्थामा पनि उत्पादन हुने, पोषिलो तथा बहुआयामिक रैथाने बाली भएको र ग्रामीण खाद्य सुरक्षा प्रणालीलाई  सुदृढ तथा खाद्य सुरक्षालाई टेवा पुर्‍याउने  उद्देश्यले कोदो  दिवस मनाइएको हो । 

अन्तक्रियामा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कोदो  दिवसलाई दिवसका रुपमा मात्र नभई व्यवहारमा उतार्ने गरी अगाडि बढेको बताउनुभयो । उहाँले पहिलो चरणमा पालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय, सरकारी तथा गैरसरकारी कार्यालयका हप्ता दुई दिन कोदोको परिकार प्रयोग शुक्रबारबाटै अनिवार्य गरिएको र होमस्टे, गोष्ठी, सेमिनार, चमेना गृह लगायतमा कोदोका परिकार प्राथमिकता दिने गरी अगाडि बढाएको बताउनुभयो । उहाँले कोदोको  उत्पादन र उपयोगमा वृद्धि गर्ने  तरिकाले गाउँपालिकाले विभिन्न नीतिगत निर्णयहरू गरेको बताउनुभयो।उहाँले यसले एकै बर्षमा ८० लाख बराबरको कोदोको प्रयोग पालिकामै हुने दाबी गर्नुभयो ।  

यहाँ कोदोको परिकार अनिवार्य रूपमा विद्यालय तथा कार्यालयमा दिवा खाजामा रूपमा खानु पर्ने फेदीखोलाले साउन १२ गते कार्यपालिकाको बैठकले नीतिगत निर्णय गरेको थियो । कोदोको पोषण मूल्य, खाद्य सुरक्षा, कृषक आम्दानी तथा स्थानीय अर्थतन्त्रमा यसको योगदानलाई मध्यनजर गर्दै पालिकाले नीतिगत निर्णय गरेको हो । 

पालिकाले गरेको राष्ट्रिय प्रथम कोदो दिवसमा २६ प्रकारका कोदोको परिकार प्रदर्शनी गरिएको थियो । यहाँ तोङ्बा, छ्याङ, तिनपाने, खोले, चट्नी, सुप, तावा रोटी, पुरी, कपकेक, नमकिन, सुत्केरी मसला, नरिवल लडडु, सेफाली, खुर्मा, जेरी, कसार, पुवा, पकौडा, फुरौला, बिस्कुट, मम, सेल रोटी, ढिडो, दाम्ले मिठाई, तोक्बी(चाइनीज खाना) प्रदर्शनी गरिएको थियो ।

दिवसमा पालिका भित्रका १९ विद्यालयले शुक्रबार दिवाखाजा कोदोको परिकार खाएर पालिकाको नीतिगत निर्णयलाई सर्मथन समेत गरेका छन् । गाउँपालिकाले २०७७ सालदेखि कक्षा –६ को स्थानीय पाठ्यक्रम “हाम्रो फेदीखोला” मा “कोदोः बहुपयोगी खाद्यान्न” शीर्षक समावेश गरी विद्यार्थीहरूलाई यसबारे सचेत गराउँदै आएको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्