नेभिगेशन
सुरक्षा/अपराध

कुटपिटबाट मृत्यु , ८  जना आरोपीहरू पक्राउ 

स्याङ्जाको वालिङमा ३२ वर्षीय युवा ढाल बहादुर थापालाई मृत्यु  हुनेगरी कुटपिट गरेको आरोपमा ८ जना युवाहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय सिजन थापा , २० वर्षीय बिवेक मानन्धर , २३ वर्षीय गुरु प्रसाद लम्साल (गोरे), १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले र हरिनास गाउँपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय निशान थापा रहेका छन्। यसैगरी चापाकोट नगरपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय बादल बि.क.  २४ वर्षीय अनिल शाही ठकुरी पनि अनुसन्धानका क्रममा पक्राउ परेका छ्न्।

भाद्र ७ गते राती अन्दाजी ११ बजेको वालिङ् नगरपालिका वडा नम्बर  ५ जर्कोटमा   मोटरसाईकल चर्को आवाजमा चलाएको विषयमा वादविवाद भएको थियो । विवादका क्रममा  उनीहरूले  स्थानीय  ढाल बहादुर थापालाई मरणासन्न हुनेगरी कुटपिट गरी घाईते बनाएका थिए। घाइते थापालाई तत्काल उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा लगेकोमा उपचारको क्रममा ८ गते बिहान करिब १.३० बजे  मृत्युु  भएको थियो।  

घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा कुटपिटमा संलग्न भनिएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र मातहतबाट खटिएको विशेष अप्रेसन टोलीले स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो। पक्राउ परेका आरोपी युवाहरू विरूद्ध कर्तव्य ज्यान मुद्दामा  स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद लिइ आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  प्रहरी नायव उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्