नेभिगेशन
सुरक्षा/अपराध

आँधिखोलामा अवैध उत्खनन र चोरी  निकासी गर्ने ३ ट्याक्टर नियन्त्रणमा 

स्याङ्जाको वालिङ नगरपालिका र भीरकोट नगरपालिका सिमाना र आसपासका क्षेत्रमा आँधीखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले ३ ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भाद्र १० गते राती विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र मातहतका टोलीले वालिङ नगरपालिका वडा नं. १ ओडारेस्थित आँधीखोलाबाट दुईवटा ट्याक्टर र चालक तथा भीरकोट नगरपालिका नं. ४ बगरस्थित आँधीखोलाबाट एक ट्याक्टरसहित चालक पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

नियन्त्रणमा लिइएका सवारी साधनहरूमा  ग १ त ४९४१, ग १ त ४४८९ र ग १ त ४८६० नम्बरका जम्मा तीनवटा ट्याक्टर  रहेका छन्।ट्याक्टरका  तीन चालक नियन्त्रणमा परेका छन् । पक्राउ परेकामा बाँके र पाल्पाका स्थायी घर भई हाल स्याङ्जामा बसोबास गर्ने २४ वर्षीय सोभिराम थारु, ३२ वर्षीय बलबहादुर थारु र २९ वर्षीय दुर्गा बहादुर सिंजापती रहेको प्रहरीले जनाएको छ । तर सवारीधनीहरू बारे प्रहरीले केही नखुलाएको भए पनि सवारी धनीहरू भीरकोट नगरपालिका वडा ४ का निर्माण व्यवसायीहरू नै रहेको बुझिएको छ। उनीहरूले उक्त क्षेत्रबाट रातीको समयमा निरन्तर चोरी गर्ने गरेको एक स्थानीयले बताउनुभयो।

प्रहरीका अनुसार अनुगमनका क्रममा भीरकोट नगरपालिका –४ छाङ्छाङ्दी बगरमा ५६७.५ घनमिटर बालुवा, र भीरकोट नगरपालिका –४ तथा वालिङ नगरपालिका –११ मा १९७७.३५ घनमिटर बालुवा संकलन गरी राखिएको अवस्थामा फेला पारिएको हो ।

सो अनुगमनमा जिल्ला समन्वय समिति उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, भीरकोट नगरपालिकाका प्रमुख, पत्रकार तथा स्थानीयबासीको उपस्थितिमा संकलित सामग्री जफत गरिएको थियो ।

प्रहरीले पक्राउ परेका चालक, ट्याक्टर र जफत गरिएका नदीजन्य पदार्थसम्बन्धी थप अनुसन्धान र कानुनी प्रक्रिया सम्बन्धित पालिकामार्फत अघि बढाइएको जनाएको छ ।रातीको समयमा हुने अवैध उत्खनन र चोरी निकासीको बारेमा  वालिङ र भीरकोटका जनप्रतिनिधिलाई पटकपटक जानकारी गराउँदा समेत वेवास्ता गरेको एक स्थानीयले बताए। यसको अर्थ स्थानीय सरकारकै संरक्षण र मिलोमतोमा अवैध उत्खनन तथा चोरी भएको प्रष्ट हुन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्