"असिम तैले पनि चुरोट तान्न लागिस "??चिया खाम भन्दा भो ग्यास्ट्रिक हुन्छ भन्ने साथीले चुरोट तानेको देखेर अचम्म मान्दै सोधे। "उम यार दशैँमा गाउँ गएको साथीभाइको संगतले नखाई नसक्नु बनायो नि" उसले स्ट्रमा खरानी टकटकाउँदै भन्यो। अब हाम्रो साथीहरुमा चुरोट नखाने म मात्र थिएँ। अरुले चुरोट तान्दा पहिला पहिला असिम र म छुट्टै बस्थ्यौं। अब एक्लै भइने भयो। मलाई भने चिन्ता त्यसकै लागिरहेको थियो।
"ओय दुईटा चुइगम किन त" असिमले चिच्याउँदै भन्यो। टोलाइरहेको म झसङ्ग भएँ। "चुरोट तान्ने पैसा छ चुइगम किन्ने छैन"?? अचम्म छ "मैले हल्का ठट्टा गरेको स्वरमा भने । आफ्नै आत्माले मागेर तानेपछि कसलाई लुकाउन चुइगम चपाउनु पर्ने होला!! चौथो क्लास हुँदै थियो। आज ट्याक्स पढाउने मिस हल्का ढिलो आउनुभयो। असिमले भन्यो "आज बेलुका मेरो मै बसौँ ल , बाबा मम्मी बाहिर जानुभएको छ आउँदा ढिलो हुन्छ रे" । "यत्रो भएर पनि डराउँछस् एक्लै बस्न"?? "ह्या आइज भनेपछि आइज न" उसले हल्का झर्केर भन्यो । " ल ल हल्का काम छ ५ बजेतिर आउँछु" । मैले उसको कुरामा सहमति जनाउँदै भने ।
कक्षा सकियो म आफ्नो डेरातिर लागे बाटोमा जाँदा सोच्दै थिएँ होइन यो असिमले चुरोट तान्न कसरी सिक्यो ज्यानको जात्रै माया मान्थ्यो , त्यहीमाथि बाबा मम्मी भनेपछि थरथर हुन्छ। अचम्म लागिरहेको थियो। संगतले मात्र त मान्छेलाई कुलतमा फसाउँदैन जब आफ्नो आत्मा नै केही प्रति आकर्षित हुन्छ भने संगतलाई दोष दिनु त केवल आत्मरक्षा मात्र हो ।
दिउँसो आफ्नो काम सकेर पठाउ गरेर ५-१५ तिर म उसको फ्ल्याटमा गए गेटमा पुगेर फोन गरे। " ओए ढोका खोल त म आए " उसले ढोका खोल्यो । कोठा गनाइरहेको थियो मैले मुख बिगार्दै सोधेँ। "फेरि चुरोट खाइस क्या"?? " उम यार दिनमा तीनवटा खाने त बानी परिसक्यो" उसले ठुलै साहस गरे जसरी गर्भम्भित हुँदै भन्यो ।
गफै गफमा ८ बजे छ। "खाना बनाउने होइन" ? मैले सोधे। "उम् बनाउने हो " उसले जवाफ फर्काएपछि हामी किचनतिर लाग्यौ। खाना बनाएर रूममा आयौ। करिब करिब १० बजेको थियो। उसले बुफर मा र्याप बजायो फुल साउन्डमा । "सुस्त बजा यो गाउँ होइन आउलान् फेरि छिमेकी झपार्न " मैले हल्का हाँस्दै भने। " केही हुन्न झ्याल ढोका लागेको छ सुनिँदैन बाहिर " उसले त्यति भनेर फेरि एउटा चुरोट निकाल्यो "यो अन्तिम हो"? मैले हल्का रिसाउँदै भने "चुरोट पनि बिरामीले दबाइ खाए जस्तो समय हेरी हेरी मिलाई मिलाई खान पर्दो रहेछ त" मैले थपे ।
उसले लाइटर बाल्न खोज्दै थियो। तर लाइटर बलेन "ऊ लाइटरले पनि नतान भन्यो"। मैले झिस्किदै भने । " बरु जा किचनमा गएर लाइटर लिएर आइज" उसले भन्यो म उठ्दै थिए एक्कासी बाबालाई ढोकामा देखे ऊ भन्दा बढी म डराइरहेको थिए बाबा किचनमा गएर अर्को लाइटर ल्याएर फुत्त फाल्दिनु भयो र बाथरुम पस्नु भयो उ कापिरहेको थियो ममी गेट लाउँदै भएर रूममा आइपुग्नुभएको थिएन। बुफरमा गीत घन्किरहेको थियो त्यसैले हामीले गेट बजेको पत्तो पाएनौ ।
असिम बाथरूमको ढोकामा गएर "सरी बाबा अबदेखि तान्दिन मम्मीलाई नभन्नु है"। मसिनो आवाजमा भन्यो । बाबा हल्का मलिन हुँदै आँखाले हुन्छ भन्ने इशारा गरेर हलको सोफामा गएर बस्नुभयो। मम्मी पनि आउनुभयो । "ए सुदीप तिमी पनि आएको एक्लै बस्नै सक्दैन ज्यानको माया यसलाई जति बढी कसलाई होला र" उहाँले भन्नुभयो । म झुटो हाँसो मुसुक्क हाँसे।
कोठा शान्त थियो। मम्मी फ्रेस हुन बाथरुम जानुभयो । असिम बाबातिर हेर्न सकिरहेको थिएन मैले सोधे " छिट्टै आउनुभयो त" । बाबाले झर्किदै भन्नुभयो " छिट्टै आएको होइन गलत समयमा आएछु । " आजसम्म बाबाले चुरोट रक्सी भन्ने चिज छोएको थिएन मेरो छोरो त ठूलो भएछ " उहाँले थप्नुभयो। "ल ल खाना खानुपर्यो किचेनमा हिँड त" मम्मीले बाथरुमबाटै चिच्याउनु भयो। हामी सबै खाना खान बस्यौँ। "आहा कति मिठो पकाएका केटाहरुले अब त ठूला भएछन्" ममीले मिठो मुख गर्दै भन्नुभयो । बाबाले थप्नुभयो "जात्रै ठूला भए सम्हाल्नै नसकिने" असिमले आँखा झुकायो ।
"आजकाल खाना पनि कमकम खाँदैछ असिमले बाहिरको खाना धेरै नखा है फेरि बिरामी भइन्छ" आमालाई छोराको शरीरकै पिर । एउटा छोरो असिम बाउआमाले जे भन्यो त्यही पुर्याएर राखेका थिए। हामी खाना खाएर सक्यौ र आफ्नो आफ्नो बिस्तारामा लाग्यौ ।
आज त्यो १५ रुपैयाँको चुरोटले असिमको जिन्दगीभरको विश्वास बेचिदियो । मसँग बोल्दै नबोली कुनामा फर्केर सुत्यो । मैले हाँस्दै भने "आज त दुईटा मात्रै भयो र्याग हानेको छ होला है"। उसले आँखा तर्यो । आज बाबाले देखेर तलाई डर लाग्यो तर त पहिले आफ्नो आत्मा र परिवारको विश्वाससँग डराएको भए सायद यो दिन आउने थिएन होला। त्यो चुरोट त्यति ठूलो कुरा पनि होइन। तर आज तैले आफ्नो परिवारमाथि गरेको विश्वासघातले तलाई बेचैन र लाजमर्दो बनाएको छ। अब बाँकी कुरा आफै विचार गर ।