नेभिगेशन
स्वास्थ्य

वालिङमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ शुभारम्भ

 

“स्वास्थ्य सेवा अस्पतालमा मात्र होइन, परिवार र समुदायसम्म” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै वालिङ नगरपालिकाले नुरा हेल्थ इन्टरनेशनलसँगको साझेदारीमा 'परिवार स्वास्थ्य हेरचाह कार्यक्रम' शुभारम्भ गरेको छ। यससँगै वालिङ स्थानीय सरकारको तहमा यो नमुना कार्यक्रम लागू गर्ने देशकै पहिलो पालिका बन्न सफल भएको छ। यस कार्यक्रमले विशेषगरी गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य सेवा, नियमित निगरानी तथा आवश्यक परामर्श प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमअन्तर्गत समुदायमा खटिएका नर्सहरूले घरघरमै पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाको अनुगमन गर्नेछन् भने कुनै जोखिम देखिएमा तत्काल सम्बन्धित स्वास्थ्य संस्थासँग जोड्ने व्यवस्था मिलाइएको छ। यसका साथै टेलि–सहायता सेवामार्फत स्वास्थ्यसम्बन्धी जानकारी र परामर्श सहज रूपमा उपलब्ध गराइने नुरा हेल्थ इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा. सुशील कोइरालाले जानकारी दिनुभयो। संघीय तथा प्रदेश तहका १७ वटा अस्पतालमा सञ्चालित यस कार्यक्रमलाई स्थानीय तहमा ल्याउने वालिङ पहिलो पालिका भएको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षभित्र ५० भन्दा बढी अस्पतालमा यो सेवा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।

वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले पालिकाले यसअघि नै सञ्चालन गर्दै आएको घरदैलो सामुदायिक नर्सिङ सेवा र विद्यालय नर्सिङ कार्यक्रमलाई यस नयाँ अभियानले थप प्रभावकारी र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। निकट भविष्यमै वालिङलाई पोषणमैत्री र बालमैत्री पालिका घोषणा गर्ने तयारी भइरहेको सन्दर्भमा यो कार्यक्रमले उक्त अभियानलाई ठूलो टेवा पुर्‍याउने उहाँको भनाइ छ। त्यसैगरी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले स्वास्थ्यसम्बन्धी अज्ञानता, ढिलो निर्णय र समयमै उपचार नपाउँदा हुने आमा र शिशुको मृत्युदर न्यूनीकरण गर्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने बताउनुभयो।

घरमै पुगेर दिइने स्वास्थ्य सेवा र प्रविधिमा आधारित परामर्शले स्वास्थ्य सेवाको पहुँचलाई थप विस्तार गर्नेछ। गर्भावस्थादेखि सुत्केरी अवस्था र नवजात शिशुको नियमित स्वास्थ्य निगरानी हुने भएकाले जटिल स्वास्थ्य समस्याको समयमै पहिचान र व्यवस्थापन गर्न सहज हुनेछ। सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरणका साथै समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै समग्र वालिङको स्वास्थ्य अवस्थामा यस कार्यक्रमले सकारात्मक र दूरगामी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्