नेभिगेशन
स्वास्थ्य

वालिङलाई ‘पोषणमैत्री पालिका’ बनाउने अभियान सुरु

आगामी आर्थिक वर्ष २०८३/०८४ भित्र वालिङ नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्ने लक्ष्यका साथ अभियान सुरु गरिएको छ। यस अभियानअन्तर्गत नगरपालिकाका १४ वटै वडामा जनप्रतिनिधि तथा वडास्तरीय पोषण र खाद्य सुरक्षा सहजीकरण समितिलाई लक्षित गर्दै सचेतना तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। अभिमुखीकरणमा पोषणमैत्री स्थानीय तह निर्माणका लागि आवश्यक मापदण्ड, समुदायको भूमिका, खाद्य सुरक्षा, सरसफाइ र स्थानीय सरकारको जिम्मेवारीका विषयमा गहन छलफल गरिएको छ।

नगर उपप्रमुख कविता तिवारी गैह्रेले स्वस्थ नागरिकबिना समृद्ध समाज निर्माणको परिकल्पना अधुरो रहने भन्दै पोषण, स्वास्थ्य र बाल विकासलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार पोषणमैत्री अभियानसँगै वालिङलाई आगामी मङ्सिर ४ गते ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने लक्ष्यसहित बालअधिकार, शिक्षा, स्वास्थ्य र सुरक्षासम्बन्धी सूचकहरू पूरा गर्न नगरपालिका थप सक्रिय रूपमा लागिरहेको छ।

स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले यो अभियानले विशेषगरी बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। हालै वालिङभित्र पाँच वर्षमुनिका २ हजार ४ सय ८३ बालबालिकामा गरिएको स्वास्थ्य परीक्षणमा ३४ जनामा कुपोषण र ३ जनामा दीर्घ कुपोषण देखिएको उहाँले जानकारी दिनुभयो। पहिचान भएका कुपोषित बालबालिकाको स्वास्थ्य सुधारका लागि नियमित निगरानी, पोषण परामर्श, पोषणयुक्त खाद्य सामग्री वितरण र अभिभावक सचेतनामूलक कार्यक्रमहरू अगाडि बढाइएको छ।

कुनै पनि स्वास्थ्य संस्था, वडा वा पालिकालाई पोषणमैत्री घोषणा गर्न स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपन्छी, खानेपानी, महिला तथा बालबालिका र शासकीय प्रबन्ध लगायतका क्षेत्रसँग सम्बन्धित ५९ वटा सूचकहरू पूरा गर्नुपर्ने प्रावधान छ। यी सम्पूर्ण मापदण्ड पूरा गरी पोषणमैत्री पालिका घोषणा भएपश्चात् कुपोषण न्यूनीकरण हुनुका साथै मातृ तथा शिशु स्वास्थ्य सुधार, खाद्य सुरक्षा र स्वच्छ समाज निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने नगरपालिकाको अपेक्षा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्