नेभिगेशन
विचार

किन भीरको बाटो हिडिरहेको छ भीरकोटको शिक्षा ?

दैनिक बिहान ५ बजेबाट बेलुका ५-६ बजेसम्म वालिङ स्थित विभिन्न स्कुल र कलेजका बसहरुले सयौँ विद्यार्थीहरु भीरकोटमा चढाउने झार्ने गर्दा के यहाँको सरकार, विद्यालयका शिक्षक तथा व्यवस्थापक, सरोकारवालाहरु, राजनितीक दल, व्यापारी र बुद्धिजिविहरुलाई वालिङले गिज्याएको जस्तै लाग्दैन होला?भीरकोटबासीहरुको शैक्षिक हैसियतमाथि प्रश्न गरे जस्तो लाग्दैन होला? भीरकोटका विद्यालय खाली हुँदै जाँदा र वालिङका स्कुल र व्यापार व्यवसाय फस्टाउँदै जाँदा भीरकोटको समृद्धिका लागि राजनीति गरिरहेका छौं भन्नेलाई लाज लाग्छ कि लाग्दैन होला? उनीहरूका भाषण र व्यवहारमा तादम्यता नहुँदा भीरकोटको समृद्धि चाहने जनतलाई भने लाज र चिन्ता दुबै लागेको छ।

भीरकोटका जनप्रतिनिधिहरूले आफ्नै पालिकाका संस्थागत/सामुदायिक  विद्यालयको गुणस्तरमा सुधार गरी नागरिकलाई विश्वाश दिलाउनुको सट्टा आफ्ना बालबालिका वालिङका विद्यालयमा भर्ना गरेर शैक्षिक गुणस्तर सुधार्न लागि परिरहेको भाषण गर्छन्।समाजसेवा गर्न भीरकोट चाहिने तर शिक्षाको अपनत्व लिनु नपर्ने कस्तो गज्जबको समाजसेवा!यस्तो समाजसेवाले भीरकोटको शिक्षालाई भीरमा हिंडाइरहेको जस्तो देखिन्छ।

सयौं संख्यामा भीरकोटबाट विद्यालय र क्याम्पस पढ्न वालिङ जाने विद्यार्थीको लर्को किन?आफ्नो घर कमजोर भएको महसुस भयो भने गुनासो गर्दै घर छोडेर छिमेकीकोमा आश्रय लिने कि घरलाई मजबुद बनाउन लागि पर्ने?हामीले पहिलो विकल्प रोज्यौ!

संघियताले गाउँशहरमा सिहंदरबार र सिहंसान त स्थापना गर्यो तर संघियताको मूल मर्म स्थानिय तहलाई स्वाधिन, स्वायत्त र समृद्ध बनाउन सकेन भन्ने आमजनताको गुनासो छ। हामी भीरकोटबासी आर्थिक रुपमा आत्मनिर्भर बन्न त सकेनौ दुर्भाग्यवश शैक्षिक रुपमा पनि सकेनौ! के भीरकोटबासीले चाहेजस्तो शिक्षण संस्थाको स्थापना र व्यवस्थापन गर्न हामी असक्षम नै हौँ त?होइनौं भने सयौं संख्यामा भीरकोटबाट विद्यालय र क्याम्पस पढ्न वालिङ जाने विद्यार्थीको लर्को किन ?आफ्नो घर कमजोर भएको महसुस भयो भने गुनासो गर्दै घर छोडेर छिमेकीकोमा आश्रय लिने कि घरलाई मजबुद बनाउन लागि पर्ने?हामीले पहिलो विकल्प रोज्यौ!

हाम्रा विद्यार्थीहरुलाई वालिङ पढन पठाएर हामी कस्तो भीरकोट बनाउन चाहेका छौँ? के यो अभिभावकको रहर र फेसन मात्र हो कि अन्य केही छ?यदि देखावटी फेसन मात्र हो भने स्वयं समाजसेवा गर्छु भन्नेहरुको शिक्षाको रोजाईमा  किन पर्यो त वालिङ?

विगत केही वर्षदेखि भीरकोट नगरको केन्द्र बयरघारी बाट वालिङका शिक्षणसंस्थामा अध्ययन गर्न जाने प्रवृत्ति अस्वभाविक रुपमा बढेको पाइन्छ।वालिङबाट भीरकोटमा विद्यार्थी ओसारपसार गर्ने बसहरु भीरकोटका विद्यार्थी मात्र वालिङ लगेका छैनन् यहाँको पुँजी र भविष्य पनि पलायन गराउँदै छन् जस्तो मलाइ लाग्छ।

यि बसहरुले भीरकोटका शैक्षिक संस्था, जनप्रतिनिधि, व्यापारी, बुद्धिजिवीहरुको शैक्षिक औकातलाई गिज्याईरहे जस्तो लाग्छ।वालिङका सचेत नागरिकले भविष्यमा भीरकोटलाई केन्द्र बनाइ राजनिती गर्न चाहाना राख्नेहरुलाई कसरी मुल्यांकन गरेका होलान?हाम्रा विद्यार्थीहरुलाई वालिङ पढन पठाएर हामी कस्तो भीरकोट बनाउन चाहेका छौँ?के यो अभिभावकको रहर र फेसन मात्र हो कि अन्य केही छ ? यदि देखावटी फेसन मात्र हो भने स्वयं समाजसेवा गर्छु भन्नेहरुको शिक्षाको रोजाईमा  किन पर्यो त वालिङ?

कुनै बेला बयरघारीमा घर जग्गा किनेर बस्ने हरु अहिले सकेसम्म बेचेर अन्य  ठाउँमा बसाइसराई गरि  जाने प्रवृत्ति बढिरहेको छ।यसका धेरै कारणमध्ये एउटा कारण यस क्षेत्रमा राम्रो शिक्षण संस्था नहुनुलाई पनि उहाँहरुले मान्नु हुन्छ!तथापी कस्तो शिक्षण संस्थालाई राम्रो मान्ने भन्ने निरपेक्ष मानक छैन।शिक्षण संस्थासँगै रोजगारीका अन्य क्षेत्रपनि जोडिएका हुन्छन्।जब जनसंख्या र जनघनत्वमा ह्रास आउछ,तब व्यापार-व्यवसायमा मन्दी आउनु स्वभाविक होइन र?वालिङ, स्याङ्जा, गल्याङ आदि स्थानिय तहमा व्यापार व्यवसाय तुलनात्मक रुपमा राम्रो हुनुको कारण त्यहाँका शैक्षिक संस्थाको पनि ठुलो भुमिका छ।त्यहाँ विभिन्न गाउँबाट स्थायी वा अस्थायी रुपमा बसाइ सराइ गरी आउनेको संख्या बढदो छ।त्यहाँका जनताले आफनै स्थानिय तहका शिक्षण संस्थालाई माया गरेका छन् स्तरोन्नति  गरेका छन्।

कुनै बेला दहथुम मा.वि.गुणस्तरिय शिक्षाको हव थियो जस बाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न पेशा तथा व्यवसायमा अहिलेसम्म अब्बल साबित भएका छन्।त्यसै गरी भीरकोटका अन्य सामुदायिक विद्यालय जस्तै भाग्योदय मावि, राजेन्द्र भवानी मावि, शहिद शुक्र मावि लगायत अन्य विद्यालय विद्यालय शिक्षा पुरा गरेका विद्यार्थीहरु विभिन्न पेशा र व्यवसायमा स्थापित छन्।

 

बदलिदो समय र परिस्थिति

वैदेशिक रोजगारी लगायत अन्य कारणबाट जनताको आर्थिक स्थितिमा आएको सुधार,पश्चिमी सभ्यताको विस्तार र अंग्रेजी भाषा प्रतिको मोहसँगै देशभरी नै निजी विद्यालयको स्थापना तिव्र रुपमा बढदै गयो।फलस्वरुप बयरघारी बजारमा पनि निजी विद्यालयको स्थापना भयो। हुने खाने स्थानियले र गाउँघरबाट व्यापार व्यवसायको लागि  बयरघारी बसाईसराई भइ आएका हरुको प्राथमिकतामा निजी विद्यालय पर्न थाल्यो।अझै विगत २ दशकदेखी आफ्ना छोराछोरी राम्रो शिक्षा दिने नाममा भीरकोटका गाउँबाट बयरघारी बसाई सर्ने प्रवृत्ति भयकंर रुपमा बढ्यो।जसले गर्दा बयरघारी बजारको विस्तार मात्र भएन यहाँको व्यापार व्यवसाय पनि बढदै गयो। जसको कारण भीरकोट नगरपालिका बन्ने पूर्वाधार पनि तयार भयो।तर दुर्भाग्यवश विगत केही वर्ष देखि त बयरघारीका हुने खाने अभिभावकको रोजाइमा यो बजारको निजी शिक्षा पनि पर्न सकेन।

भीरकोटमा बसेर जागिर, व्यापार, व्यवसाय, समाज सेवा नामक राजनीतिक गर्ने, भीरकोटलाई समृद्द बनाउनुपर्छ भनेर बहस पैरवी गर्ने तर यहाँका शैक्षिक संस्थाहरुमा आफ्नो अपनत्व नराख्ने! सकेसम्म आफ्ना सन्तानलाई पोखरा काठमाण्डौँमा होस्टेल वा बोर्डस मा राखेर पढाउने नसके पनि वालिङ पठाउने प्रवृत्तिले बयरघारी बजारको समग्र विस्तार र विकास ओरालो लागिरहेको छ भन्ने पनि बुझाइ छ।हुन त अन्य कारणहरु पनि छन्।

 

 भीरकोटको विकास भएन,रोजगारीका अवसर भएनन्,व्यापार व्यवसाय चौपट भयो भनेर गुनासो गर्ने,आफ्ना बच्चालाई वालिङ पढन पठाएकोमा गर्व गर्ने!

आफुले एउटा पेन्सिल देखि लत्ताकपडा वालिङ खरिद गर्ने  तर आफ्ना व्यापार व्यवसाय भीरकोटमा गर्नेहरुबाट भीरकोट विकास होला त?यहाँका शैक्षिक लगायत अन्य संस्थाको स्तरोनोत्ती गर्ने कर्तव्य यहाँका जनप्रतिनिधि, समाजसेवी, व्यापारी, विद्यतवर्गको होइन र?समस्या हुन सक्छन् के भागेर समाधान हुन्छ ?भीरकोटको विकास कसले गरिदिने?कि यहाँका गरिब विपन्न गाउँका  जनता जसले देश विदेशमा पसिना बगाएर कमाएको रकम भीरकोटमा नै खर्च गरेका छन् उनीहरुले मात्र गर्नुपर्ने हो?

भ्रम र यथार्थता

अधिकाँशले वालिङका शिक्षण संस्थालाई शैक्षिक गुणस्तरको केन्द्र मानेर होला, वा समाजमा आफ्नो आर्थिक र सामाजिक हैसियत पुष्टि गर्न पनि हुनसक्ला!अरुको लहलहैमा लागेर पनि हुनसक्ला, यो  प्रवृत्ति यसरी नै बढदै गयो भने लाग्छ यसले भीरकोटका शैक्षिक संस्थाको लागि मात्र होइन समग्र भीरकोटको विकासको लागि भविष्यमा क्यान्सर बन्न सक्ने खतरा देखिन्छ! भनिन्छ कुनै पनि देशलाई ध्वस्त पार्न त्यहाँको शिक्षालाई ध्वस्त पारिदिए पुग्छ!भीरकोटको शिक्षालाई ध्वस्त पार्ने कदम एकातर्फ यहाँको शिक्षामा चासो नराख्दा ,लगानी नगर्दा(बालबालिका पढ्न पठाएर) र अपनत्व नलिदा हुने देखिन्छ। अर्को तर्फ यहाँ स्थित विद्यालयहरु बिच भइरहेको अस्वस्थ प्रतिस्पर्धालाई मान्न सकिन्छ।वालिङ पढाउन पठाउने अभिभावकलाई गुणस्तरिय शिक्षाको सुनिश्चितता हामीले गर्छौ भनेर आश्वात पार्नु भन्दा छिमेकी विद्यालयमा पढेका विद्यार्थीहरुलाई कसरी आफ्नो विद्यालयमा आकर्षण गर्ने भन्ने ध्यान छ ।यहाँका शिक्षणसंस्थाहरुमा अनि न रहन्छ बाँसन बज्छ बाँसुरी!

राम्रो शिक्षाको भ्रममा परि वालिङ पठाउने अभिभावकलाई प्रश्न गर्ने हो भने सबैको उत्तर एउटै आऊँछ, यहाँका विद्यालयमा पढाइ राम्रो छैन!उनीहरुसँग धेरै बहस गर्न सकिदैन किनकि उनीहरुको मन मष्तिष्कमा भीरकोटमा पढाइ राम्रो छैन वालिङमा राम्रो छ भन्ने छाप परिसकेको छ। पढाइ राम्रो वा नराम्रो भन्ने स्पस्ट मानक उनीहरुसँग छैन।यदि  एस इ इ को नतिजा नै तुलना गर्ने हो भने पनि भीरकोटका विद्यालय तहाँका भन्दा कमजोर देखिदैनन् हुनसक्छ वालिङमा धेरै विद्यार्थीहरुले एस इ इमा सहभागी हुन्छन् र  स्वभाविक रुपमा नै सोही अनुपातमा राम्रो जिपिए ल्याउने विद्यार्थीसंख्या धेरै हुन सक्छ। हुन त नजिकको तिर्थलाई हेला गर्ने हाम्रो प्रचलन नै छ, छुट्टी मनाउन, पिकनिक खान भीरकोट पार्क,सुन्दर चौर जाँदैनौँ बरु वालिङको बाहुन थान जान्छौँ। तर आम अभिभावक र जनप्रतिनिधिहरुमा नै के भाष्य निर्माण भएको छ भने वालिङमा पढाइ राम्रो छ। भीरकोटबाट वालिङ गएर पढेका र यही भीरकोटका विभिन्न विद्यालयमा पढेका विद्यार्थीहरु बिचमा सिकाइ लगायत अन्य क्रियाकलापमा प्रतिस्पर्धा गरौं न त?यसको लागि वातावरण स्थानिय तहले गरोस त अनि पत्याउला के हो वास्तविकता!

कुनै विद्यालयमा पढाइ राम्रो के कारणले हुन्छ?यसको उत्तर धेरैबाट एउटै आउछ, शिक्षकहरुले राम्रो पढाएमा!शिक्षकले राम्रो कसरी पढाउँछन्? शिक्षकहरु योग्य र दक्ष भएमा?त्यसो भए वालिङका निजी शिक्षण संस्थामा पढाउने शिक्षकहरु भीरकोटका विद्यालयका  भन्दा दक्ष र योग्य छन त ? छन भने ? के छ आधार? सरकारले(शिक्षक सेवा आयोगले) लिएको परीक्षालाई आधार मान्ने कि नमान्ने?मान्ने हो भने त सामुदायिक विद्यालयका शिक्षक अधिकाँश आयोग पास गरेर आएका छन्?वालिङका नाम चलेका निजी शिक्षण संस्थाबाट शिक्षण पेशा शुरु गरेका अधिकाँश  शिक्षक हाल  वालिङ र भीरकोटका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत छन तर अभिभावकको आकर्षण भने ति शिक्षण संस्थामा छैन!यदि वालिङका निजी शिक्षण संस्थामा राम्रो व्यवस्थापन छ भने र हाम्रा अभिभावकले पनि यस्तै हाइफाइ,महङो शुल्क चाहेका हुन भने के भीरकोटका धनाढ्यहरुले एउटा सुविधा सम्पन्न शिक्षण संस्थाको व्यवस्थापन गर्न सक्ने हैसियत छैन? शिक्षामा गरेको लगानीले पसलमा सामान बेचेजस्तो,घरभाडा उठाएजस्तो तत्कालै प्रतिफल त नदेला तर दिर्घकालिन रुपमा यस क्षेत्रमा बजार,व्यापार-व्यवसाय त पक्कै बढाउछ। फाइदा त अन्त्यमा यहाँकै व्यापारी, धनाढ्य र राजनीति गर्नेहरुलाई नै हुने हो!

वास्तवमा भन्ने हो भने विद्यार्थीको राम्रो पठन पाठनमा अभिभावक र विद्यार्थीको भुमिका नै प्रमुख मानिन्छ।राम्रा ठानिएका विद्यालयको नतिजा शिक्षक, प्रशासन र व्यवस्थापन भन्दा पनि  त्यहाँ पढने विद्यार्थी र अभिभावकको शैक्षिक  लगानी, चेतना, जिम्मेवारीपन र उत्तरदायित्वले गर्दा भएको पाइन्छ।सचेत अभिभावक, घरको वातावरण र विद्यार्थीमा पढाइ प्रतिको मोह र समर्पण हुने हो भने जुनसुकै विद्यालय पढे पनि गुणस्तरमा प्रश्न उठदैन । उदाहरणको लागि कक्षा १ देखि नै  भाग्योदय माविमा अध्ययन गरि शैक्षिक सत्र २०७८ को एस इ इ बाट पास आउट भएका जेहेन्दार विदार्थी सुसिल खनालले एम.बि.बिसमा पूर्ण छात्रवृत्ति पाएर अध्ययन गरिरहेका छन्।बालज्योति माविबाट विद्यालय शिक्षा शुरु गरेकी हाल दहथुम माविकी छात्रा चाहाना केसी जिल्लास्तरिय मात्र होइन गण्डकी प्रदेशस्तरिय अंग्रेजी निबन्ध लेखन प्रतियोगितमा प्रथम स्थान हासिल गरिन। गत वर्ष भाग्योदय माविका विद्यार्थीहरुले वालिङ आदर्शले आयोजना गरेको जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरे, विगतमा भुपु सैनिक एकेडेमीका विद्यार्थीहरुले जिल्लास्तरिय विभिन्न हाजिरीजवाफ प्रतियोगितामा प्रथम-द्वितिय स्थान पनि प्राप्त गरेका छन्। भने जनप्रिय मावि सिम्लेकी छात्राले जिल्लास्तरिय मात्र होइन प्रदेशस्तरिय वक्तित्व कला प्रतियोगितमा प्रथम स्थान हासिल गरिन यस्ता कैयौ उदाहरण छन्। तर भीरकोटबाट वालिङ पढ्न गएका विद्यार्थीहरुको यस्तो उपलब्धि मैले सुनेको छैन।सायद हुन सक्छ।

शैक्षिक नजरले हेर्दा हाम्रो समाजमा मुख्यतः दुई वर्ग देखिन्छन्,एउटा वर्गले जसो तसो निजी विद्यालयमानै आफ्ना बालबालिका पढाउन चाहन्छन्, भने अर्को वर्गले सामुदायिक विद्यालयमा।यसर्थ भीरकोट सरकारले दुवै किसिमका विद्यालयको संरक्षण र विकास गर्नुपर्ने हुन्छ । छिमेकी स्थानिय तहबाट भीरकोट प्रवेश गर्ने स्कुलबसहरुलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ।

समाधानको उपाय के?

शिक्षा सभ्यताको मुल हो। विकासको संवाहक हो।समृद्धि र सुखको आधारस्तम्भ हो। विश्वका विकसित देशहरुको जग नै त्यहाँको गुणस्तरिय  शिक्षा प्रणालीलाई मानिन्छ। यसर्थ शिक्षा पू्र्वाधारको पनि पूर्वाधार हो।जुन वास्तविकतालाई हामी भीरकोटबासीहरुले बुझेका छौँ तर व्यवहारमा कार्यन्वयन गर्न सकेनौ भन्ने लाग्छ।

राजनीतिलाई सबै नीतिहरुको प्रमुख नीति मानिन्छ।भीरकोटको समग्र शिक्षा र शिक्षण संस्थाको विकासको लागि राजनितीक दल र भीरकोट सरकारले प्रमुख भुमिका हुने कुरामा दुईमत छैन।यहाँका जनप्रतिनिधिहरु, समाजसेवीहरु, व्यापारीहरु, शिक्षक तथा बुद्धिजिविले साच्चै भीरकोटको विकास चाहने हो भने  शुरु आफैबाट गर्नुपर्छ। किनकि तपाइहरुको व्यवहारको नक्कल  आम जनताले गरिरहेका हुन्छन्।स्थानिय तह आफैमा स्वायत्त सरकार भएको हुँदा आफ्नो क्षेत्रभित्रका शिक्षण संस्थालाई कसरी राम्रो बनाउने,यहाँका अभिभावकको माग बमोजिमको शिक्षण संस्थाको स्थापना र व्यवस्थापनमा कसरी गर्ने भन्ने नीति र कार्यक्रम स्थानिय सरकारले ल्याउनुपर्छ। त्यसै गरी भीरकोटका शिक्षण संस्थाका व्यवस्थापक र कार्यरत शिक्षक कर्मचारीले वालिङ पढ्न पठाउने अभिभावकले चाहे जस्तो विद्यालय बनाउन कसरी सकिन्छ र वालिङ जाने प्रवृत्तिलाई कसरी रोक्ने भनेर गम्भिर र नतिजामुलक कदम चाल्नुपर्छ। जसरी व्यक्ति आर्थिक रुपमा सम्पन्न हुन अरुको जागिर हैन कि उद्यमशिल बन्नु पर्छ, आफैले रोजगारी सिर्जना गर्नुपर्छ, त्यसै गरि यहाँका शैक्षिक संस्था राम्रो बनाउने प्रमुख भुमिका यहाँ स्थित विद्यालयका शिक्षक, व्यवस्थापक, स्थानिय सरकार, यहाँको समाज र आफ्ना बालबालिकालाई राम्रो शिक्षा दिने भ्रममा वालिङ पठाइरहेका अभिभावकको पनि हुन्छ । जसरी देशबाट दैनिक युवा विदेशिनु को कारण यही देशका राजनिती गर्नेहरु र पुँजी भएर पनि नेपालमै लगानी नगरी विदेशी बैंकमा बचत गर्नेहरुलाई दोष लगाइन्छ भने हाम्रो भीरकोटबाट विद्यार्थी पलायन हुनु को दोष कस्लाई दिने हो त ? आगामी २०८४ को चुनावमा भीरकोट सरकारको नेतृत्व गर्न आकांक्षा गर्नेहरुले एकपटक गम्भिर रुपले सोच्नुपर्ने बेला आएको छैन र?

(हुन त एक बबुरो लेखकले समग्र भीरकोटको शिक्षाको चिन्ता मान्नु भनेको हुटिट्याङले आकाश धानेको छु,भनेर भ्रममा परेजस्तो पाठकलाई लाग्न सक्ला।)

(लेखक सिकाइ यात्रा, भीरकोट संस्थाका अध्यक्ष हुनुहुन्छ।)

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्