परिचय
सरल भाषामा अभिभावक शिक्षा भनेको बालबालिकाको शिक्षा, स्वास्थ्य, सामाजिक विकास, तथा चरित्र निर्माणमा आमाबुबा तथा अभिभावकहरूको भूमिकालाई प्रभावकारी बनाउने एक प्रक्रिया हो। यसले अभिभावकहरूलाई बालबालिकाहरुको चौतर्फी विकासको लागि आवश्यक ज्ञान, सिप र अभिवृत्ति प्रदान गर्छ ताकि उनीहरूले आफ्ना सन्तानहरूको स्वास्थ्य, शिक्षा, पोषण, स्याहार, मार्गदर्शन आदि पक्षहरुमा प्रत्यक्ष रुपमा सहयोग गरि उनीहरुको सर्वाङ्गीण विकासमा टेवा पुर्याउन सकुन।
अभिभावक शिक्षाको उद्देश्य/औचित्य
स्वभाविक रुपले आफ्ना सन्तानको भविष्य राम्रो होस भन्ने सबै अभिभावकहरुको चाहना हुन्छ।तर उनीहरुको चौतर्फी विकासमा घर परिवारमा, बाबु,आमा,हजुरबा,हजुरआमा तथा अन्य परिवारका सदस्यहरुको भूमिका के कस्तो हुनुपर्छ भन्ने सबैलाई जानकारी नहुन सक्छ। यि र यस्तै अन्य उपयोगी जानकारीको लागि अभिभावक शिक्षा प्रदान गर्नुपर्ने हुन्छ।अभिभावक शिक्षा सन्चालनका प्रमुख उदेश्यहरु निम्नानुसार छन्:
बालबालिकाको उचित विकास : अभिभावकहरूलाई बालबालिकाको उमेरअनुसारको विकासका चरणहरू बुझ्न र सोहीअनुसारको वातावरण सिर्जना गर्न सहयोग पुर्याउनु।
सकारात्मक अभिभावकत्वको विकास : बालबालिकालाई माया, स्नेह र अनुशासनका साथ हुर्काउने सकारात्मक अभिभावकीय शैलीहरू सिकाउनु।
पारिवारिक सम्बन्ध सुधार: अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई सुदृढ पार्नु र आपसी समझदारी बढाउनु।
शैक्षिक सहयोग: बालबालिकाको पढाइमा अभिभावकको भूमिकालाई प्रभावकारी बनाउन र उनीहरूलाई घरमै पनि सिक्ने वातावरण उपलब्ध गराउन प्रोत्साहन गर्न।
समस्या समाधानको सीप: बालबालिकामा देखिने व्यवहारिक समस्याहरूलाई कसरी सम्बोधन गर्ने भन्नेबारे अभिभावकलाई ज्ञान दिनु।बालबालिकाको सुरक्षा र स्वास्थ्य: बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्ने तथा उनीहरूलाई सुरक्षित राख्ने उपायबारे जानकारी गराउनु।
अभिभावक शिक्षाको आवश्यकता र महत्व
घर-परिवार बालबालिकाको पहिलो पाठशाला हो भने आमा -बाबु पहिलो गुरु हुन्। हुन त आजकल सानै उमेरमा बालबालिकाहरुलाई मन्टेश्वरीमा भर्ना गराउने चलन छ र सबै कुरा त्यही सिक्छन् भन्ने पनि अपेक्षा राखिन्छ। तर बालबालिकाको अधिकाँश समय घर परिवारमा नै बित्ने,पोषण,स्वास्थ्य र प्रारम्भिक बानी व्यवहारको सिकाइ घर परिवारबाट नै हुने हुँदा बालबिकासमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ।अभिभावक शिक्षाको आवश्यकता र महत्वलाई देहायका बुँदामा प्रष्ट पार्न सकिन्छ।
- बालबालिकाको शारीरिक,मानसिक र सामाजिक स्वास्थ्यको सम्बन्धी आधारभूत पक्षहरुको जानकारी लिइ बालविकासमा टेवा पूर्याउन।
- उमेर अनुसार बालबालिकाको संवेगात्मक विकास, व्यवहार, आउन सक्ने समस्या तथा बालमनोविज्ञानको जानकारी पाउन र सोहि अनुसार व्यवहार गर्न।
- बालबालिकाका हक अधिकार तथा अन्य कानुनी व्यवस्था बुझेर घर परिवारमा बालमैत्री वातावरण कायम गर्न।
- बालबालिकाको लागि आवश्यक खोप,पोषण,सम्भावित अपाङ्गताको पहिचान,प्रजनन स्वास्थ्य,मनोरञ्जन आदि सम्बन्धि जानकारी राख्न र सोही अनुसार व्यवहार गर्न।
- बालबालिकाहरुमा आउन सक्ने निराशा,दिक्दारी तथा अन्य मानसिक समस्याहरुलाई पहिचान गरी आवश्यक परामर्श, योग तथा ध्यानको माध्यमबाट उनीहरुको स्वस्थ जीवनशैली विकासमा सहयोग गर्न।
- विद्यालय,शिक्षक र बालबालिका बिचको अन्तरसम्बन्ध बुझेर आफ्ना बालबालिकाको सिकाइ उपलब्धि अभिबृद्धि गर्न।
- बालबालिकालाई खराब संगत,कुलत तथा अन्य सम्भावित विकृतिबाट टाढा राखि उनिहरुको सर्वाङ्गीण विकासको लागि परामर्श र मार्गदर्शन प्रदान गर्न।
- बालबालिकाहरुलाई जीवनोपयोगी सिपहरु सिकाइ स्वाबलम्बी, सुसंस्कृत र सामाजिक बन्न सहयोग गर्न।
- बालबालिकाहरुमा सिकाइ प्रति मोह सिर्जना गर्न तथा विद्यार्थी, अभिभावक र शिक्षकबीचको अन्तरसम्बन्ध बलियो बनाउन।
अभिभावक शिक्षा कसले प्रदान गर्ने?अभिभावक शिक्षा कार्यक्रमका प्रमुख क्षेत्रगत विषयहरुमा स्वास्थ्य,बालबालिकासम्बन्धि कानुन,शिक्षक,विद्यार्थी,अभिभावक सम्बन्ध र अभिभावक स्वःजागरण समेटिने हुँदा सोही क्षेत्रसँग सम्बन्धित विज्ञहरुबाट अभिभावक शिक्षा प्रदान गर्दा प्रभावकारी हुन्छ।अर्को शब्दमा भन्नुपर्दा शिक्षा, स्वास्थ्य, समाजसेवा, जिवनविज्ञान, कानुन आदि क्षेत्रमा प्रत्यक्ष रुपमा संलग्न सरोकारवालाहरूले अभिभावक शिक्षा प्रदान गर्न सक्छन्:
शिक्षकहरू: विशेष गरी विद्यालयका शिक्षकहरूले अभिभावकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर।
मनोविद् र परामर्शदाताहरू: बालबालिकाको विकास र व्यवहारसम्बन्धी विशेषज्ञता भएका व्यक्तिहरू।
स्वास्थ्यकर्मीहरू: बालबालिकाको स्वास्थ्य र पोषणसम्बन्धी जानकारी प्रदान गरेर।
स्थानीय तहका शिक्षाका कर्मचारी: स्थानीय तहका शिक्षाका कर्मचारीहरुले बालबालिका सम्बन्धी कानुनी तथा नीतिगत ब्यवस्थाबारेमा अभिभावकलाई परामर्श र प्रशिक्षण दिने।
गैर-सरकारीसंस्थाहरू: बालबालिका, महिला, विकास र शिक्षामा काम गर्ने संस्थाहरूले।
जीवन विज्ञान विशेषज्ञः जीवन विज्ञान सम्बन्धी क्षेत्रमा संलग्न व्यक्तित्वहरुले योगा,ध्यान र नैतिकताको बारेमा अभिभावकलाई प्रशिक्षण दिने।
सरकारी निकायहरू: शिक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका निकायहरू।
स्थानिय सरकार,सामुदायिक सिकाइ अध्ययन केन्द्र तथा स्थानिय स्वास्थ्य चौकीहरुले।
अभिभावक शिक्षा कसरी दिने?
अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिन सकेमा मात्र यसको प्रभावकारीता रहन्छ।यसर्थ यस कार्यक्रमलाई उपयुक्त समय र परिस्थिति अनुसार भौतिक तथा भर्चुल(अनलाईन)का माध्यमबाट प्रदान गर्न सकिन्छ।जस्तैः
कार्यशाला र तालिमहरू : विद्यालय, समुदायिक संस्था वा गैर-सरकारी संस्थाहरूद्वारा आयोजित कार्यशाला र तालिमहरू मार्फत।
परामर्श सेवा : व्यक्तिगत वा समूहगत परामर्श सेवा प्रदान गरेर।
सूचनामूलक सामग्री: हातेपुस्तिका, पर्चा, भिडियो, वेबसाइट वा रेडियो/टेलिभिजन कार्यक्रमहरू मार्फत।
अभिभावक-शिक्षक भेला: विद्यालयमा आयोजना गरिने अभिभावक-शिक्षक बैठक तथा भेलामार्फत।
सामुदायिक छलफल: स्थानीय समुदायमा छलफल कार्यक्रमहरू आयोजना गरेर।
सामाजिक सञ्जालको प्रयोग: सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरू मार्फत जानकारी र सुझावहरू साझा गरेर।
अभिभावक शिक्षा कार्यक्रमका चुनौतीहरू
अभिभावक शिक्षा प्रदान गर्ने क्रममा विभिन्न चुनौती तथा समस्याहरू देखा पर्न सक्छन्।केहि चुनौतिहरु यसप्रकार छन्।
अभिभावकको समय अभाव: व्यस्त जीवनशैलीका कारण अभिभावकहरूले शिक्षा कार्यक्रममा सहभागी हुन नसक्नु।
चेतनाको कमी: अभिभावक शिक्षाको आवश्यकता र महत्वबारे अभिभावकहरूमा चेतना नहुनु।
स्रोतसाधनको अभाव: खासगरी विद्यालयले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक आर्थिक र भौतिक स्रोतसाधनको कमी।
अभिभावकमा विविधता : विभिन्न आर्थिक,सामाजिक,शैक्षिक तथा सांस्कृतिक पृष्ठभूमि भएका अभिभावकहरूको माग र आवश्यकतालाई सम्बोधन गर्न कठिनाई।
पहुँचको समस्या: दुर्गम क्षेत्रका अभिभावकहरूलाई शिक्षा कार्यक्रममा समेट्न नसक्नु।
अविश्वास: कतिपय अभिभावकहरूले यस्ता कार्यक्रमहरूप्रति विश्वास नगर्नु।
समाधानको उपायहरु
माथि उल्लेखित चुनौतीहरुलाई समाधान गर्न सरोकारवालाहरु सबैको साथ र सहयोगको आवश्यकता पर्छ।देहायका उपायहरुको अबलम्बन गरेमा यस्ता चुनौती र समस्याहरुलाई सम्बोधन गर्न सकिन्छ।
लचिलो कार्यक्रम तालिका: अभिभावकहरूको सुविधाअनुसार बिहान, बेलुका वा बिदाको दिनमा कार्यक्रम सञ्चालन गर्ने।
जागरूकता अभियान: अभिभावक शिक्षाको महत्वबारे विभिन्न सामाजिक सञ्जाल तथा आम सञ्चार माध्यमबाट व्यापक प्रचारप्रसार गर्ने।
सरकारी र गैर-सरकारी साझेदारी: स्रोतसाधन जुटाउनका लागि सरकार, गैर-सरकारी संस्था र निजी क्षेत्रबीच सहकार्य गर्ने।
स्थानीयकरण: स्थानीय संस्कृति र आवश्यकताअनुसार शिक्षा सामग्री र कार्यक्रमहरू तयार पार्ने।
प्रविधि प्रयोग: अनलाइन प्लेटफर्म, रेडियो, टेलिभिजन जस्ता प्रविधि प्रयोग गरी दुर्गम क्षेत्रमा पहुँच बढाउने।
सफलताका कथाहरूको प्रचार: अभिभावक शिक्षाबाट लाभान्वित भएका परिवारका सफलताका कथाहरू सार्वजनिक गर्ने।
अनुगमन र मूल्यांकन: अभिभावक शिक्षा कार्यक्रमहरूको नियमित अनुगमन र मूल्यांकन गरी सुधारका पक्षहरू पहिचान गर्ने।
समग्रमा, अभिभावक शिक्षाले विश्वव्यापी रुपमा मानिएका बाल अधिकारका चार स्तम्भ/पक्षःबाल बचाउँ,बाल विकास,बाल संरक्षण र बाल सहभागिता लगायत बालबालिकाहरुको सर्वाङ्गिण पक्षहरुलाई सम्बोधन गर्दै अभिभावकहरुलाई उदाहरणिय र जिम्मेवार बन्नमा विशेष भूमिका खेल्ने हुँदा बालबालिका,शिक्षा,स्वास्थ्य,समाजसेवा,राजनीति आदि क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सरोकारवालाहरुले अभिभावक शिक्षा कार्यक्रम सन्चालन,समन्वय र व्यवस्थापनमा सहयोग गर्नुपर्ने देखिन्छ।
(लेखक,सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालय,गण्डकी प्रदेशबाट सन्चालित अभिभावक शिक्षा कार्यक्रममा सहभागी भै तालिम प्राप्त जनशक्ति हुन्)