नेभिगेशन
कला - साहित्य

मेरा शिक्षक ! तिमी गुरु बन

मेरा शिक्षक ! तिमी गुरु बन
तिमी मोती हौ ज्ञान-सागरको
ज्योति हौ अज्ञान-अन्धकारको
तिमी त राष्ट्रका गरिमा पो हौ
प्रकाश-पुञ्ज महिमा पो हौ
असाधारण छ, तिम्रो गुरुत्व
त्यसैले त पछ्याउँछन् दुधेबालकहरु पनि
आखिर तिमी के होइनौ र ?
तिमी फूल फुलाउने डाली पनि हौ
ओत दिने पाली पनि हौ
बाँझो जोत्ने फाली पनि हौ
संरक्षक हौ, माली पनि हौ
तिमी रगीन चित्र पनि हौ, अनुकरणीय चरित्र पनि हौ
अनि
अद्भूत कलाका कलाकार पनि हौ
नव-चिन्तनका विज्ञानी पनि हौ
तिमी कृष्ण साध्ने सन्दीपनी पनि हौ
राम रच्ने वशिष्ठ पनि हौ
जनक जन्माउने अष्टावक्र पनि हौ
अर्जुन अर्चाप्ने द्रोणाचार्य पनि हौ
तर
अहिले त पथ-विचलित पो छौ त शिक्षक !
देशको दूर-भविष्य अन्धकार देख्छु-
जब
दलहरुको दलदलमा तिमी फँसिरहको देख्छु
मधुशालामा  बसिरहेको देख्छु
कतै हराएजस्तो तिम्रो ज्ञान-राग
कतै बिलाएजस्तो तिम्रो चरित्र-सुहाग
थाहा छ ? तिमी किन हेपियौ ?
न ज्ञान-महिमा धान्यौ, न गुरु-गरिमा जोगायौ
तिमीलाई मेरो एउटै अनुरोध छ-
तिमी धराभन्दा माथिको बादल बन
चौबाटोको मादल नबन शिक्षक
अब उठ, हेर आफ्नो चेहरा
पुछ दागहरु, गुरुत्व बढाऊ
मेरा शिक्षक ! तिमी गुरु बन  
मेरा शिक्षक ! तिमी गुरु बन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला - साहित्य
कता जाँदैछ हाम्राे समाज?

कता जाँदैछ हाम्राे समाज?

नैतिकता

नैतिकता