नेभिगेशन
कला - साहित्य

बज्यै

रुखमा झुन्डिएको चमेरोझैँ यो समयले 
एकदिन छादेरे हिँडिदियो उनको भागका खुसीहरूमा,
त्यसैदिन देखुन्
जिवनको पल्लो किनारसम्म नपुग्दै
पन्युँ खसेको माझीझैँ भइन्  बज्यै, 
 
अब त तैरिएर पल्लो किनार पुगुन्जेल हात गल्छन्
चिच्याएर कतै गुहार मागुँ सुनिदिने कान पर पुगिसके, 
 
उसै त काखमा हुर्किएका लार्भाहरू 
पुतली बनेर आकाशमै बेपत्ता भएपछि, 
भित्ते घडिको सुइ पनि ढिलो चलिरहेको बेला
किनारै किनार लखेटिरहेछ भाग्यले 

 
शिरका बाजे तस्बिरमा बसिदिएपछि,
साँझको सुर्यले सधैं पोखि हिँड्छ पुराना दिन,
पिँढिको कुनामा अलपत्र छ मफलर बुन्ने कुरुस,

 
सबथोक  खोसेपछि  समयले
एक्लो भएकी छिन्

 
उनलाई कयौंपटक गिज्याए सिलिङका पंखाले,
उनको पहिरनलाई खिसी गरिरहन्छ क्षितिजको इन्द्रेनीले,
कयौंपटक अमिलियो मन रंगीन पुतली देखेर
 
चुहाउँ भने आँसु टन्न छन् रोदन
आत्मसमर्पण गर्न कलेजी रेटिने यादहरू छन्
 
तर बगैंचाको फूल ओइलिएको देखेर डराउँदिनन् बज्यै
चप्पल फाटेपनी हिँड्न छाडेकी छैनन्  गन्तव्य ,
रंग हराएपनी उभिन छोडेकी छैनन् पर्खाल झैँ
कतै कोहि नभैकन संसार बोकेकी छन् आफैभित्र

 
बज्यै योद्धा हुन्
बाजेको तस्बिर छातिमा टाँसेरै
हरेकपटक समयसँगको युद्द जित्छिन्
र लेख्छिन् गजलको मिसरा थोता हाँसोले,

 
बज्यै प्रेम बुझेकी छिन् 
हाँस्न सिकेकी छिन्
थोता दाँत देखाएर खिस्स हाँस्छिन् बज्यै 
बज्यै हाँसेको खुप सुहाउँछ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्