नेभिगेशन
कला - साहित्य

चिहानबाट उम्रने फूल

कुनै शिकारीको गुलेलीले लागेको चराझैँ
रगतले लतपतिएर सडकमा निदाएको 
मुर्दा गुलाफ को होला ?
 
को होला ऊ,
जसको शरीरमा कुनै आन्दोलनको झण्डा छैन,
न ओठमा सत्ता घोच्ने नाराको कुनै छाप छ,
न अनुहारमा देशद्रोही आक्रोशको छायाँ ,
न रगतमा सत्तामोहको गीत

 
यसरी रगतले लेखिएको गजलको अपुरो मिसरा --
कि त इजरायल र हमासको युद्धमा देखिन्छ,
कि देखिन्छ  कश्मिरका सिमानामा ।

 
कमिजको गोजीमा 
कुनै आन्दोलनका मागपत्र नबोकेर
आमाको औषधिको पर्चा बोकि हिँड्ने को होला?
कहाँ हिँडेको होला, गोजीमा बैंकको चिठ्ठीले 
हप्काएको मानिस?

 
यो बाटो हुँदै त प्राय:
सत्ताको मन्दिरमा धुप बाल्न जाने गर्छन् 
कतै देउतासँग झोँक्किएर फर्केको भक्त पो हो कि?
कि हो, हृदयमा देशप्रेमको मौनता बोकी
विमानस्थल हिँडेको यात्रु?
 
जो अचानो र खुकुरीको बिचमा परेपछि
अनिदो रातका सपनाहरूमा
लाह छाप लगाइ निदाएको छ ऊ।
 
ऊ निदाए सँगै अब --
ढलेको भित्तोझैँ हुनेछ आमाको आशा,
सुक्दै जानेछ आँगनको तुलसी,
तम्सुकले नचाउन सक्छ परिवारको नांगो नाच।
 
छोराले काँधमा बसेर अब देख्न पाउँदैन गाउँ ,
सधैं मुस्कुराइरहने अनुहार भित्तामा हुनेछ,
प्रियसि झस्किरहने छिन् आगो भरभराउँदा
र झुक्किएर बाटो हेर्नेछिन् —
जुन बाटो हुँदै गएको हो ऊ, नफर्किने गरी।
 
शक्ति र सत्ताको उन्मादमा 
प्राय धृष्टराष्ट्रहरू
बन्दुकको नालले तय गर्दा रहेछन् --
 बटुवाका आयु,
र जिन्दगीको  मञ्चमा पर्दा झरेपछी 
फूल लिएर आउँछन् चिहानसम्म।
 
हेर्दै जानू ---
यही चिहानबाट झाङ्गिनेछ एकदिन  
जंगली फूल।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्