नेभिगेशन
Tihar Banner
Tihar Banner
Tihar Banner
सुरक्षा/अपराध

अर्जुनचौपारी बजारमा १३ सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण

अर्जुनचौपारी, स्याङ्जा

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। 'समुदाय–प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वय र दरौंखोला युवा परिवारको सहयोगमा जडान गरिएका ती क्यामेराहरू शनिबार एक कार्यक्रमका बीच औपचारिक रूपमा प्रहरी चौकी अर्जुनचौपारीलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा अर्जुनचौपारी–१ का वडाध्यक्ष रणबहादुर थापाले प्रविधिको प्रयोगले स्थानीय सुरक्षा प्रणाली थप प्रभावकारी हुने र नागरिकमा सुरक्षाको अनुभूति बढ्ने विश्वास व्यक्त गर्नुभयो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले शान्ति–सुरक्षा कायम गर्न समुदायको सहभागिता अपरिहार्य रहेको चर्चा गर्दै सीसीटीभी क्यामेराले आपराधिक गतिविधिको निगरानी र प्रमाण सङ्कलनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

सहयोगी संस्था दरौंखोला युवा परिवारका सचिव विष्णुप्रसाद पौडेल ‘सारस’ले सामाजिक उत्तरदायित्वअन्तर्गत बजार क्षेत्रलाई सुरक्षित बनाउन सहयोग गरिएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

प्रहरी चौकी अर्जुनचौपारीका प्रमुख प्रहरी सहायक निरीक्षक रामबहादुर रिमालले जडान गरिएका क्यामेराहरूबाट बजार क्षेत्रको २४सै घण्टा प्रभावकारी निगरानी गर्न सहयोग पुग्ने र नागरिकको सुरक्षाका लागि प्रविधिको अधिकतम उपयोग गरिने जानकारी दिनुभयो। बजार क्षेत्रमा सीसीटीभी जडान भएसँगै चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण हुने भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्