भीरकोट नगरपालिकामा आर्थिक वर्ष २०८१ /८२ मा २ किलोमिटर भन्दा बढी तटबन्धन निर्माण भैरहेको छ। भीरकोट नगरपालिकालाई २ भागमा बाँडेर बगेको आँधिखोलाको दायाँ र बायाँ नगरपालिकाको एकल लगानीका साथसाथै नगरपालिका र गण्डकी प्रदेश सरकारको सहकार्यमा तटबन्धन निर्माणको काम भैरहेको छ। संघीय विशेष अनुदान अन्तर्गत नगरपालिकाको लगानीमा १ हजार ७७ मिटर तटबन्धन भैरहेको छ। ३ करोड ७६ लाख रूपैयाँ लागतमा निर्माण हुने यो तटबन्धको काम दर्शन कन्स्ट्रक्सनले गरिरहेको योजना अधिकृत याम प्रसाद रेग्मीले जानकारी दिनुभयो। तर यो योजनाको विवरण खुल्नेगरी कहिकतै पनि योजना सूचना पार्टी राखिएको छैन।
प्रदेश सरकार र भीरकोट नगरपालिकाको लगानीमा आँधिखोलामा १ हजार २ सय ५० मिटर तटबन्धन भैरहेको छ। सिंचाइ डिभिजन कार्यालय स्याङ्जाले कार्यान्वयन गरिरहेको यो नदी नियन्त्रण योजनाको पनि कहिकतै योजना सूचना पार्टी छैन। गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समिती सभापती भोजराज अर्यालले पटकपटक यो योजनाको अनुगमन र सहजीकरण गरिरहेको भएपनि नागरिकले थाहा पाउनेगरी सूचना पार्टी राख्न लगाउने तर्फ उहाँको पनि ध्यान गएको देखिदैन।
योजनाका सम्बन्धमा सिंचाइ डिभिजन कार्यालयका साइड इन्चार्ज शिवराज थापालाई सम्पर्क गर्दा प्रदेशका योजनामा सूचना पार्टी राख्ने चलन नै नभएको बताउनुभयो। उहाँका अनुसार के.डी. कन्सट्रक्ट एण्ड जेभीले आँधिखोला ,पुतलीबजार , भीरकोट र वालिङको तटबन्धनको काम गरिरहेको छ। उहाँका अनुसार गण्डकी प्रदेशको विशेष अनुदानमा पहिलो चरणमा ४ करोड ९१ लाख र दोस्रो चरणमा ५ करोड ६० लाखको लागतमा आँधिखोलामा तटबन्ध हुँदैछ।
मनसुनको समयमा आँधिखोलाको वडा नं १, ४,५, ६ र ७ प्रभावित हुने गर्दछन्। हेलु देखि छाङ्छाङ्दी सम्म व्यवस्थित तटबन्धनको खाँचो छ। प्रायजसो वडा नं ६ को सिमलचौर फाँटको मुख , एकुवारबाट आँधिखोला वर्षैपिच्छे छिर्छ र बालीनालीको क्षती गर्छ। त्यो बाढी निर्माणाधिन आँधिखोला करिडोरलाई क्षतविक्षत पार्दै क्युथुम्का तर्फ निस्कन्छ। तर यो क्षेत्रमा विगतमा बनेको तटबन्ध बाहेक भीरकोट नगरपालिकाले व्यवस्थित तटबन्धन गरेको छैन। २ किलोमीटर तटबन्धन निर्माण हुँदै गर्दा यो क्षेत्रमा १ मिटर पनि निर्माण भएको छैन। व्यवस्थित तटबन्धन नहुँदा र अनियन्त्रित एवं अवैज्ञानिक तरिकाले आँधिखोला उत्खनन हुँदा बयरघारी- एकुवार जोड्ने पक्की पुल समेत जोखिममा परेको छ।

तर वडा नं १ र २ तर्फ गत वर्ष र यो वर्ष पनि व्यवस्थित तटबन्धन बनेको छ। वडा नं ५ मा अवस्थित पकान फाँटलाई लक्षित गरेर तटबन्ध निर्माणको काम भैरहेको छ। बाढी पस्ने मुख्य ठाउँमा तटबन्ध नगरी पकानको पुछारमा तटबन्ध गर्दा गत वर्षको बाढीले एकुवार र पकान पुरै डुबानमा परेको थियो।
त्यस्तै बयरघारी र गैह्राथोक तर्फ डुबान हुँदा बसपार्क, भीरकोट पार्क, बयरघारी फाँट र गैह्राथोक फाँट डुबानमा परेको थियो।यसपटक तटबन्धन गर्दा पनि बाढी छिर्ने मुख्य ठाउँ सिमलचौर एकुवार तर्फ व्यवस्थित तटबन्ध नगरी टालटुल पार्ने रणनीतिका साथ नगरपालिका अगाडि बढेको बुझिएको छ।
वडा नं ६ को सुन्दरचौर टोलका टोल संयोजक डिल बहादुर खत्रीले भन्नुभयो, ” सिरदेखी पुछारतर्फ तटबन्ध हुनुपर्नेमा राजनीतिक दबाब र प्रभावका आधारमा बयरघारी तर्फ र पक्की पुल मुनिबाट तटबन्ध भैरहेको छ। खोला कताबाट कता बग्छ भन्ने कुरा थाह नभएझैं गरी सिमलचौर र एकुवारलाई वेवास्ता गरिएको छ।”
वडा नं ६ का आँधिखोला टोलका टोल संयोजक दिपक कोइरालाले तटबन्धन निर्माणमा एकलौटी भएको गुनासो गर्नुभयो। पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनप्रतिनिधिले आफ्नो कुरा नसुनेको बताउनुभयो।
यस विषयमा नगर प्रवक्ता दिपेन्द्र के.सी. लाई प्रश्न गर्दा आवश्यकता अनुसार सबै ठाउँमा तटबन्धन गरिने र सिमलचौर एकुवार क्षेत्रमा पनि यो वर्ष केही काम हुने बताउनुभयो।तर के कति परिणाममा तटबन्ध हुन्छ भन्ने विषयमा जानकारी दिनुभएन।
गत वर्ष बयरघारी बजार तर्फको तटबन्ध भैरहेको ठाउँमा उभिएर नगर प्रवक्ता दिपेन्द्र के.सी.ले वारीपारी विना भेदभाव व्यवस्थित तटबन्ध गरिने बताउनुभएको थियो। उहाँले आ.व २०८१/८२ मा सिमलचौर एकुवार तर्फ तटबन्ध हुने बताउनुभएको थियो। तर नेपाली काँग्रेस भीरकोटका नगर सभापति याम प्रसाद अधिकारीको दबाब र प्रभावका कारण विशेषगरी गण्डकी प्रदेशका सडक र तटबन्धका योजना वडा नं ५ केन्द्रित भएका छन्। नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले पनि बयरघारी तर्फको तटबन्धलाई प्राथमिकतामा राख्दा सिर र पुछारमा परेका दायाँबायाँका खेतीयोग्य जग्गा र बस्ती संरक्षण गर्ने कार्य नगरको प्राथमिकतामा परेको छैन। भीरकोटका ९ वटा वडा मध्य वडा नं ६ को वडा अध्यक्षमा मात्रै नेकपा एमालेका लक्ष्मण खत्री ( रामकाजी) ले जितेको हुँदा काँग्रेसका जनप्रतिनिधिले विकास निर्माणमा पक्षपात गरेको स्थानीयको बुझाइ छ।