पेशाले शिक्षक मात्र नभएर मेरो व्यक्तिगत रुचि अनि नयाँ ठाउँ अवलोकन गर्ने सोख भएकाले पनि कहि कतै फुर्सदको समय मिल्यो भने घुम्न जाने कुरा मनमा आइहाल्छ । त्यसैमा पनि यस पालिको दशैँमा घरमा टिका नभएकाले अझ बढी वाहाना मिलि हाल्यो । स्कुलमा पनि दशैं तिहारको बिदामा कहि कतै भ्रमणको रुपमा नयाँ गन्तव्यहरु जाने विषयमा कुरा नभएको हैन तर टुङ्गोमा पुग्न सकिएन् । दशैँ लगत्तै कमल भान्जा (जो पेशाले शिक्षक हुनुहुन्छ) उहाँको फेसबुकमा यस्तो स्ट्याटस पढे, ‘मेरो त फ्रेण्डलिष्टमा भएका आधा साथीहरु विदेशमा छन्, अनि आधा साथीहरु चाहिँ मुस्ताङ र घान्द्रुक घुम्न निस्केका छन् म मात्रै घरमा’ । त्यसपछि मैले कुरा उहाँसँग खोले, उहाँले पनि साथीहरु र समय मिलाएर ‘जाम न त’ भन्नुभयो । कहाँ जाने भन्दा अनयासै ‘तिलिचो जाम न त’ भन्ने मेरो मुखमा झट्ट आयो । गलफत्ती नगरिकन दुवैले ‘हुन्छ’ भन्ने भयो । तर जाने को–को, कसरी र कहिले ? भन्ने भयो । सुरुमा, विद्यालयका सहकर्मी तथा गाउँका सङ्गीसाथीहरु लगायतलाई प्रस्ताव गर्ने र संम्भव भएसम्म तिहारको भाईटिकाको अघिल्लो दिनसम्म फर्कने गरि बाइकमा जाने निचोड निकालियो । खासमा साथीभाईहरुले सुरुमा ठिकै छ सल्लाह गर्दै गरौला भनेपनि निधो दिएनन् ।
यसैबिच, तिलिचोको मौसम, हावापानी, बसाई, जाने बाटो लगायतका कुराहरुको लागि इन्टरनेटमा खोज्ने तथा मनाङ आसपासका साथीहरु तथा आफन्तहरुसँगबाट विवरण संकलन गरियो । अन्तत, मिलेसम्म तिहारको भाइटिकाको दिनसम्म फर्कने गरि हाम्रै घरको स्करपियो गाडी लिएर जाने भनेर बिदुर दाईले भर पक्का गर्नुभयो । साथमा कृष्ण दाई र सन्दिप दाई पनि हाम्रो यात्रामा सहयात्री बनेर जाने निधो भयो । अब कुरो रह्यो जाडोबाट बच्न लुगाफाटो र अरु पुर्व तयारीहरु ।
धेरैले मंसिर पनि आउन लाइसकेकाले अलि बढी जाडो हुने त कसैले तिलिचो तालको काखमा पुग्नै समेत नसकिने लख काटे । हामी भने वनको बाघले नखाइ नखाइ मनको बाघले खादैन भन्दै जे होला त्यै गरौला भनि तयारीमा लागिरह्यौं । मौसमअनुसारका बाक्ला, न्याना लुगाफाटा, साधारण रुघाखोकि, चिसो, ज्वरो र ग्यास्ट्रिकको औषधी सहित दैनिक प्रयोगका सामाग्रीहरुको संग्रह गरि झोला तयार गरियो र बाँकि सामाग्रीहरु आवश्यकताअनुसार पोखरा तथा लमजुङ, बेसिशहरतिर नै जोहो गरौैंला भनियो ।
पहिलो दिन
वि.सं २०८० साल कार्तिक २५ गते शनिबारका दिन बिहानै सबेरै उठि हातमुख धोई अरु दिनहरुमा लगाउने जस्तै सामान्य लुगा लगाई निस्के। विश्वको सबैभन्दा उचाईमा रहेको, नेपालको मात्र नभएर विश्वकै गौरव बोकेको मनाङ जिल्लामा अवस्थित तिलिचोतालसँग प्रत्यक्ष साक्षात्कार गर्ने र मनाङ आसपासका ठाउँहरु हेर्ने लक्ष्य सहित बिहान करिव ५ः३० बजे यात्रा सुरू गरियो। बिदुर दाईले गाडि चलाउदै, कुष्ण दाई र म स्याङजा वालिङबाट अगाडि बढ्यौं । उता तिलिचोका लागि भनेर सन्दिप दाई काठमाण्डौबाट पोखरामा भेट्ने गरि प्रस्थान गरिसक्नुभएको थियो भने कमल भान्जा पनि फोन आउनासाथ तनहुँ भिमादबाट पोखरा लेखनाथको तालचोकमा भेट्ने गरि आउनका लागि तयार हुनुहुन्थ्यो । करिब ७ बजेतिर स्याङ्जा नागडाँडामा खाजा खाई गाडि पुन: अगाडि बढ्यो । यात्राकै दौरानमा बाटोमा हुनसक्ने चिसो तथा जोखिमको बारेमा पनि अड्कलबाजी गरियो । करिब ८ः३० बजेतिर हामी पोखरा पुग्यौ, विजयपुरको पेट्रोल पम्ममा रोकिएर गाडीमा इन्धन हालियो ।
तालचोकमा यात्राका सबै पाँचैजना भेट भएपछि पोखरा–डुम्रे सडक खण्ड निर्माणाधिन भएकाले ढिलो र धुलो हुने आसयका साथ तालचोबाट पृथ्वी राजमार्गलाई छोडि देब्रे तर्फ लागियो । बेगनासतालको मनमोहक दृष्य तथा त्यहाँबाट देखिने मोति झै हाँसेका हिमश्रृखलाहरु देख्दा हाम्रो यात्राका लागि हात जोडेर कामना गरेजस्तो लाग्यो । रुपाकोट, देउराली हुदै भोर्लेटारका सडक भने पिच भएपनि अलि साघुँरो थियो तर बाटामा पर्ने लेकबेँसी, फाँटहरु, जङ्गल, नदी आदिको मज्जा लिदै करिब २ः३० घण्टाको यात्रा पछि लमजुङ जिल्ला, मध्य नेपाल नगरपालिका वडा नं ७ मा अवस्थित श्री ईशानेश्वर महादेव (जसलाई बोलिचालिको भाषामा करपुटार मन्दिर भनिन्छ) पुगेर हामी रोकियौ ।
पहिलोपटक करपुटार पुगेका हामी सो मन्दिरमा दर्शनमात्र गरि सम्झनाका लागि केहि तस्बिरहरु मोबाइलमा कैद गरेपश्चात पुनः गन्तव्य तय गरियो । खेतको बिचमा रहेको सो मन्दिरमा श्रद्धालु भक्तजनहरुको त्यति चहलपहल देखिएन्, यद्यपी केहि (सायद दम्पतिहरु हेलान्) मन्दिरको परिसरमा पुजा सामाग्रीहरुका साथ बत्ती कुरेर बसेजस्तो देखिन्थ्यो । त्यहाँको छोटो बसाइपछि हामी सुन्दरबजार हुदै लमजुङ बेशिसहर तर्फ लागियो । यात्राकै दौरानमा सुन्दर पहाडी दृष्य, कतै किसानहरु धान खेतमा व्यस्त त कतै धानका पाँजो अनि कुनियाहरु प्रसस्तै देखियो । सडकपनि कतै कच्ची त कतै ग्राभेल जस्तो रहेछ, त्यति नै खेर मौसम भने अलि पानी पर्लाजस्तो भयो । त्यसपछि जाडो र मौसमको प्रतिकुलताले घुमाइमा असर पार्ने हो कि भनेर मनमा डर पनि पलायो । त्यसैबिच, घरतिर तथा आसपासका आफन्तहरुलाई फोन गरेर मौसमको बारेमा बुझ्ने प्रयास भयो, उता स्याङ्जा, पोखरा, दमौली एवं काठमाडौतिर हल्का बर्षा भएको खबर प्राप्त भयो । यसै सिलसिलामा, दिउँसोको खाना कहाँ खाने त भन्ने सन्दर्भमा बिदुर दाईले लमजुङ बेसिशहर पुगेपछि खाने भने पछि बेसिशहरमा रहनुभएका नेपाल जेसिसका समकालिन साथीहरुलाई खाना अर्डर गर्न र भेटघाटका लागि भनेर फोन घुमाउनुभयो । सम्भव भएसम्म भेटघाटका साथै सँगै खाना खानका लागि समय मिलाउन उहाँहरुलाई प्रस्ताव गर्नुभयो । लमजुङ जेसिसका अध्यक्ष विष्णु पंगेनी सर, सचिव प्रतिक तामाङ सर र कोषाध्यक्ष खुसिमाया गुरुङ म्याडमले मिलेसम्म भेट्ने निधो दिनुभयो र खानाको अर्डर पनि गर्नुभयो ।
त्यसपछिको करिब २ घण्टाको रमाइलो यात्रापछि हामी लमजुङ, बेसिशहर पुग्यौ । हाम्रो स्वागतका लागि साथीहरु पर्खिरहनुभएको थियो । एकअर्कासँगको चिनपहिचान, पारिवारिक, संस्थागत तथा गन्तव्यको बारेमा उहाँहरुसँगको भेटघाट निकै रमाइलो भयो, उहाँहरुले तिलिचो यात्राको लागि बाटोको रुट, बस्ने होटल, घुम्नका लागि छुटाउनै नहुने स्थानहरु तथा अन्य पुर्व तयारी तथा सावधानीहरुका बारेमा खुलेर कुरा गर्नुभयो । उहाँहरुको सहजिकरण मलाई यस्तो लाग्यो कि पटकपटक तिलिचो पुगेर फर्किसक्नुभएको मेरो दाजुले भाईलाई सफल अनि सहज यात्राका लागि सम्झाउदै हुनुुहुन्थ्यो । त्यसदिनदेखिको दैनिक रुट नै बनाएर बस्ने होटल र सम्पर्क व्यक्तिको मोवाइल नम्बर सहित लेक लाग्नबाट बच्ने पुर्व सावधानी र आपतकालिन व्यवस्थापनको लागि समेत सम्झाइ बुझाई गर्नुभयो । सबैजनाले खाना सँगै खायौ । चिनोका लागि केहि फोटाहरु पनि खिचेपछि करिब २ः१५ मा हामी मनाङ तालसम्म पुग्ने लक्ष्य सहित साथीहरुहसँग विदा भइयो ।
त्यसपछि बेसिशहर–चामे सडक खण्ड हाम्रो अबको बाटो भयो । मर्स्याङदी नदिको किनारै यात्रा अघि बढ्ने क्रममा मस्याङ्दी पावर हाउस पार गरियो । अनि करिब ५०० मिटर जति सुरुड्मार्ग हुदै अगाडि बढियो, सो मार्गमा अध्यारो हुने भएर होला बत्तीको उज्यालो थियो, बाटो भने अनि साघुँरो र चिप्लो जस्तो पनि । बाटामा पर्ने स्याङ्गे, च्याम्चे लगायतका अनेकौं झरना तथा छहराहरु हेर्दै लमजुङ र मनाङ छुट्टायाउने मार्दि खोला पुल पार गरे पश्चात म्यार्दी भीरको घुम्तीपछि मनाङको सुन्दर गाउँ तालमा पुगियो । झट्ट माथिबाट तल हेर्दा एउटा तालको बिचमा अवस्थित सुन्दर गाउँजस्तो देखिने ताल शहर मर्स्याङ्दीको किनारमा अवस्थित रहेछ । साँझ करिब ६ः३० बजेतिर ताल पुगेपछि सो रात त्यहि मनाङ होटलमा बास बस्ने निर्णय गरियो । बेलुका साधारण खाना खाई सुतियो, मौसम भने चिसै थियो ।
दोस्रो दिन
बिहान ७ बजेतिर उठियो । हातमुख धुन पानी अलि चिसो थियो । कालो चिया खाई हिसाबकिताब चुक्ता गरि करिब ८ः३० बजेतिर दोस्रो दिनको यात्रा सुरुवात गरियो । बाटो उस्तै साँघुरो अनि डरलाग्दो थियो । पिच बाटो भएपनि साँघुरा घुम्ति, तल छङ्गासुर मर्स्याङ्दी नदी, वारिपारि ठुला–ठुला चट्टान अनि अग्ला पहाडहरु । खोला वारि र पारि ढुङ्गाको चुचुरा जस्ता देखिने पहाडका शिरबाट बहने कलकल अग्ला झरनाहरु पदयात्री, स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मोहित पार्ने खालका देखिन्थे । अलि अग्लो र ठुलो झरनाका वरिपरि मानिसहरु दृष्यावलोकन, फोटा तथा भिडियोका लागि झुमिन्थे, अनि तिनैका आसपासमा खाजाघर तथा रेष्टुरेन्ट पनि थिए । बाटो साँघुरो भएर होला जहाँतहि झट्ट गाडि तथा अन्य सवारीहरु रोक्न पनि गाह्रो हुन्थ्यो । चट्टान काटेर बनाइएको बाँदर लड्ने जस्तो भिरको बाटो हुदै करिब १ घण्टापछि हामी धारापानी काटियो । गाडिबाट बाहिर हेर्दा आङै सिरिङ्ग हुने गरि तल मर्स्याङ्दी आफनै लयमा बगेको थियो, बगरहरुमा कतैकै सेताम्मे फुलेका काँसहरु देखिन्थ्यो । धारापानीमा अन्नपुर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पदयात्रीहरुको लागी दर्ता गर्ने ठाँउ रहेछ । स्वदेशी पदयात्रीहरु भन्दा बढी विदेशी पदयात्रीहरु प्रसस्तै देख्न सकिनथ्यो। उनीहरु हातमा लठ्ठी (कसै कसैले त २ बटा सम्म पनि) आफ्नो सानो झोला भिरेका थिए । उनीहरुका पथप्रदर्शक अनि भरियाहरु भने ठुला तथा गह्रौ देखिने झोला बोकेका देखिन्थे । प्राय उनीहरु समुहमा देखिन्थे, तर पैदल यात्रामा हिडाइको गतिका कारण अघिपछि पनि देखिन्थ्ये । यसरि अगाडि बढ्ने क्रममा दानाक्यु, बगरछाप, तिमाङ, थानचोक, कोतो हुदै हिमाल पारिको जिल्लाको रुपमा चिनिने समुन्द्र सतहबाट २६७० मि उचाइमा रहेको मनाङ जिल्लाको सदरमुकाम चामे पुगियो ।
जिल्ला सदरमुकाम भएर होला बजार सानो भएपनि बैंक तथा जिल्ला स्तरिय कार्यालयहरु देख्न सकिन्थ्यो, चहलपहल पनि अलि बाक्लै थियो । चामे पुगेर केहि आवश्यक सामाग्रीहरु किन्ने कुरा भएपनि दिउँसोको खाना खान अलि अबेर पनि भएकाले पछि खाना खाने ठाउँमा किनौला भनेर अगाडि बढीयो । ढुकुरपोखरी मुनि खोलाको किनारमा हिमाल हेर्न र फोटाहरु खिच्न पुनः रोकियो, त्यसपछि ढुकुरपोखरीमा गई खाना खाइयो । होटलकी साहुनी महिला थिइन् तर मिजासिलि । बोलाई पनि उनको फ्रयाङ्क थियो, व्यवहार पनि उस्तै । त्यँहाबाट निलगिरी र अन्नपुर्ण द्वितिय हिमालको दृष्य देखिदो रहेछ । हामीले घरतिर भिडियो कल गरेर ति दृष्यहरु पनि देखायौ । यसैबीच, हाई अल्टिच्युडमा उपयोगी हुने भनेर कोक, शक्तिबर्धक स्निकर्स चकलेट, स्याउ, १ कार्टुन पिउने पानी लागायत आधारभुत सामानहरु किनियो । तर मुल्य सुन्दा र तिर्दा दङ्ग परियो १ लिटर पिउने पानीको रु १२० त्यसमा पनि नेपालीहरुलाई रे । हामी ज्याग्दीखोला र आधीँखोलाको पानीमा पौडिएका अनि पानी पनि किन्न पर्छ र भन्नेहरुका लागि त्यो मुल्य अलि महंगो लाग्यो । अनि स्याउ चाहि प्रति गोटा रु २५ पर्दाे रहेछ । करिब १ घण्टाको विश्रामपछि यात्राले पुनः निरन्तरता पायो । त्यसपछि, मनै आनन्दित हुने ती हिमालहरु त हाम्रो पछाडि देखिन थाले । स–साना गाँउ, बस्ती हुदै हुँदै एयरपोर्टको अगाडी पुग्यौ, मौसम अनुकुल नभएर होला बाहिरबाट हेर्दा एयरपोर्ट सुनसान जस्तो लाग्थ्यो, कुनै चहलपहल थिएन । त्यसपछि बाटाका दाँया–बाँया स्याउका फार्म/बगानहरु समथर भूभागहरुमा देखिन थाले । स्याउहरु भने टिपिसकेका भएर होला एकादुइ सदाफल जस्तामात्र देखियो । स्याउको बगानमा बसेर आफैले टिपेर स्याउ खादैँ फोटो खिच्ने रहर नभएको हैन तर बेसिशहरमा विष्णु सरले स्याउका लागि फर्ममा भनिदिएको छु मिलाएर दिन्छन् त्यहि किने हुन्छ भनेकाले हामी कतै रोकिएनौ गाडिबाट हेर्यौँ मात्र ।
त्यसपछिको बाटो भने ग्राबेल गरेजस्तो र उकालो–ओरालो कम भएका कारण अलि सहज पनि भयो । समथर भुभाग पनि देखिन थाल्यो अनि खोलाको किनारभन्दा थोरै माथि सुन्दर बस्तिपनि । अगाडि किनारमा खर्क जस्तो चरन क्षेत्र, अलि विकशित र होटेलहरु भएको ठाउँ ‘मनाङ’ रहेछ । प्राय मानिसहरु बेसिशहरमा बास बसेपछि एक्लिमाटाइज अर्थात हाई अल्टिच्युडमा बानी पर्नका लागि त्यँहि पनि बास बस्दा रहेछन् । माथि तालसम्म नपुग्नेहरु जो हिमालको काखमा बस्न रुचाउँछन् उनीहरुको गन्तव्य त्यँहिसम्म हुँदो रहेछ । हामीले भने त्यो भन्दा माथिल्लो विन्दु पल्लो डाँडाबाट मनाङको सुन्दरता अवलोकन गर्यौं । त्यसपछि करिब १ घण्टा आसपासमा खाङसार पुगियो । समुन्द्र सतहबाट ३६५६ मिटर उचाइमा रहेको सो क्षेत्र बाइक वा सवारी साधनमा यात्रा गर्नेहरुका लागि अन्तिम बिन्दु रहेछ । वरिपरिको खालि ठाउँ जति सबै गाडी र मोटरसाइकलहरुको पार्किङले भरिभराउ थियो । हामीले पनि स्थानिय एकजना होटलवालासँग समन्वय गरि गाडि पार्किङमा राखियो ।
करिब ४ बजेतिर खाङसार पुगेकाले ‘अब के गर्ने ?’ भन्ने भयो, होटलवालाले माथि डाँडातिर घुम्न जानु राम्रो भ्यु देखिन्छ भन्नुभयो हामी भने अन्योलमा पर्यौं । माथि जान भन्दा बरु भोलिको लागि बाटो छोट्याऊँ न भन्ने भयो तर बेस क्याम्प पुग्ने समय हामीसँग थिएन । अनि माथि श्रीखर्क पुगेर बसौ न त भन्ने तय भयो । गाडीबाट झोला तथा आवश्यक सबै सामाग्रीहरु निकाली पैदलयात्राको लागि उकालो लागियो । तिहार अघिको दिनहरु भएकाले बाटोमा नेपाली पर्यटकहरु जाने भन्दा फर्कदै गरेका धेरै भेटियो । पहिलो पटक हिमाल पारिको जिल्ला मनाङ टेकेका हामी सबैलाई पैदलयात्रा कस्तो होला भन्ने लाग्यो अनि तिलिचो पुगेर खाङसार फर्कदै गरेका नेपाली पर्यटकहरुलाई यात्रा कस्तो रह्यो, अनुभव के कस्तो गर्नु भयो ? लगायतका जिज्ञासाहरु राख्यौं। प्राय सबैले बिना हिचकिचावट हाम्रो जिज्ञासा मेटाउनुभयो । उहाँहरु सबैको सार थियोः छिटो नहिड्नु, विस्तारै जानु, स्वास्थ्यको ख्याल गरेरमात्र जानु, हेर्दा नजिकै देखिए पनि पुग्न निकै समय लाग्दो रहेछ, स्वास्थ्यमा थोरै मात्र समस्या भए फर्किहाल्नु, बिहान सबेरै पुग्नु नत्र सारै हावा चल्छ, गाउँमा हिडेजस्तो सजिलो हुँदैन् …. आदि आदि । स्याङजाको वनपाखा अनि लेकबेशीमा लुकामारी गर्दे हुर्केका हामीलाई के गाह्रो होला र भन्ने लख काट्यौ । अनि सुस्त–सुस्त अगाडि बढियो । साँच्चिकै पुग्नु पर्ने बाटो त्यँहि देखिए पनि पुग्न निकै बेर लाग्यो । शरिरमा शक्ति कम भएजस्तो, अनि थकान र सास फेर्न अप्ठेयारो भएजस्तो हुने रहेछ, अलि जोड गरेर छिटो हिड्न खोज्यो भने त झन मुटुनै फुलेजस्तो हुने । सायद यसैलाई भनिन्छ होला उचाइको कारण ‘लेक लाग्नु’ ।
करिब १ घण्टाको पैदलयात्रा पछि तारे गुम्बा पुगियो, अलि माथि पुगेपछि श्रीखर्क देखियो । बाटो साँघुरो नै थियो एउटामात्र मोटर हिड्न मिल्ने जस्तो । साइकलयात्रीहरु पनि कताकति देखियो विशेष गरि बिदेशीहरुमात्र । बाटामा कोक र चकलेट पनि खादै गइयो । अनि माथि पुगेर पहिले खाङसारबाट बुक गरिएको हिमालय होटल बाहिर पुगियो । होटल हेर्दा निकै नै ठुलो र भव्य थियो तर बाहिर सुनसान जस्तै किनकि चिसोका कारण मानिसहरु बाहिर निस्किदारहेनछन् त कोहि होटलको डाइनिङ हलमा आगो ताप्दै रमाउदै त कोहि इतरिदै बस्दा रहेछन् । बत्तिको पावर नपुगेको कारण बिद्युत काटिएको रहेछ । बत्ति राति ९ बजे आउँछ भन्नुभयो । मोवाइल बालेर कोठा देखाउनुभयो । त्यँहि झोला बिसायौ । हातखुट्टा धुन पानी चिसो भएका कारण आँट आएन । अनि डाइनिङ हलमा गइयो, स्वास्थ्यमा थोरै असजिलो महसुस होला जस्तो भएपछि के खाने भन्ने भयो अनि गार्लिक सुप खाऔं न त भनि खाना अघि सुप खाने निर्णय गरियो । त्यहाँ हलमा भने पर्यटकको घुईचो थियो । पदयात्री विदेशी र नेपालीहरु सबैजसो गाइडजस्ता देखिन्थे । सबै आ–आफ्नै धुनमा व्यस्त थिए । एकछिन फलामको ठुलो लाम्चो चुलोबाट आएको तातो तापियो । सुप खायौं र त्यसपछि खाना पनि । खाना प्राय उस्तै थिए लोकल सिमिको दाल, आलुको तरकारी र बेसाहा चामलको भात । भोलि बिहानै हिड्ने भनेकाले होटलको हिसाब किताब मिलाईयो, सादा खाना रु ६५०, गार्लिक सुप रु ३७० प्रति कचौरा, एक थर्मस तातो पानी रु ४०० । करिब ८ बजे कोठामा गइयो अनि, छोटो गफगाफ पछि सुतियो । निन्द्रा लाग्ने सुर भएन । बिस्तारा ठिकै थियो ओढ्ने सिरक पनि जनहि एक–एक वटा बाक्लै थियो । रातभर यताउती पल्टिरहियो तर राम्रो निन्द्रा लागेन । बिदुर दाई सुरुमा निदाए पनि पछि गाह्रो भयो भन्नुभयो । कुष्ण दाई र कमल भान्जालाई पनि त्यति निन्द्रा लागेन भन्नुभयो । म र सन्दिप दाई हल्का निदायौ । रातको न्युनतम तापक्रम सायद माइनस १०÷१२ डिग्री सेल्सियस थियो होला ।
तेस्रो दिन
अघिल्लो रात अलि असहज भए पनि आज त छिटै हिडेर ताल पुग्ने है भनि बिहान करिब ४ बजेतिर बिउँझियो । दिशा पिसाबका लागि ट्वाइलेट जादा पानी थाप्ने बाल्टिमा पानी जमेर हिउँ भएको थियो, माथिको तरजस्तो पन्छयाएर हात धोइयो । बाटोमा साथीले दिनुभएको एसिटाजोलामाइड औषधी एक–एक गोलि खाई, टाउकोमा हेडलाइट बाधेर तिलिचोका लागि हिडियो । करिब १ घण्टाको भरको बाटो हिडाइपछि पहिरो जोखिम क्षेत्र ‘ल्याण्डस्लाइड एरिया’ पुगियो । बलौटे माटो माथिबाट खस्ला जस्तै गरि अडिएका ढुङ्गा, ढुङ्गा बीचको खोँचको बाटो सुस्त–सुस्तै हिड्दै, चकलेट, कोक, लसुन चाप्दै अलि अफ्ठ्यारो पहिरो खस्ने जोखिम मानिएको बाटो कटियो । तल ठाडो भिर कतै माथिबाट पहिरो खसिहाले पनि भाग्ने ठाँउ नहोला जस्तो । अनि त केहि बेरमा ४१५० मिटर उचाइमा अवस्थित तिलिचो बेस क्याम्प पुगियो ।
प्राय नाङ्गो डाँडामा ५-७ वटा होटलहरु मात्रै अनि होटलकै परिसरमा पर्यटक लक्षित ग्रोसरि सपहरु पनि । मानिसहरु घोडामा पनि यात्रा गरिरहेको थिए । हामी त्यँहा पुग्दा विदेशीहरु बल्ल उठेर टहलिदै थिए । तिलिचो बेस क्याम्पमा सुप र ब्रेकफास्ट गरि केहि फोटा खिचेपछि हामी फेरि गन्तव्यतिर लाग्यौं । मनमा थोरै डर, तर साहस बटुलेर प्रतिकुलताका बाबजुत पनि बिस्तारै अगाडि बढियो । बाटो भने गोरोटा जस्तो थियो, सेताम्मे हिउँ । तर अभ्यस्त साइकल यात्रीहरु भने साइकलमा पनि आउदा रहेछन् । आधार शिविरबाट बाइस घुम्ति पुग्न करिब २ घण्टा लाग्यो । एउटै पहाडको माथि पुग्न २२ वटा घुम्ति पार गर्नुपर्ने गाउँमा दाँईमा गोरु घुमेजस्तो । बाइस घुम्ति पार गर्न बाह्र बज्ला जस्तो भयो । घरि–घरी त मनमनै फर्कने पो हो कि भन्ने पनि भयो तर मुख खोल्ने आँट आएन किनकी अरुको पनि हालत उस्तै थियो । त्यँहा पुगेपछि हाम्लाईमात्र हैन प्राय सबैलाई उस्तै हुदो रहेछ त कोहि–कोहि साँच्चिकै फर्कदा पनि रहेछन्, हाई अल्टिच्युडका कारणले । तिलिचो पुग्ने सपना बोकेर हिडेका हामीलाई पुग्नु नै थियो । हेर्दा निकै नै नजिक देखिने ताल पुग्न पनि बर्षौ लागेजस्तो भयो । हिउँमा बानी नपरेका पहाडिया हामीहरु कतै–कतै त हिउँमा चिप्लियौ पनि । पदयात्रीहरु समुन्द्रको पानी माथिको सेतो फिँजमा हिडेजस्तो देखिने माथिबाट हेर्दा त ! ठाडो उकालो कटेपछि कताकति मोबाइलको नेटवर्कले काम गरेजस्तो लाग्यो तर कसैलाई फोन गर्ने आँट आएन ।
आधार शिविरबाट करिब साढे तिन घण्टामा स–साना २ वटा ताल÷पोखरी जस्ता पार गरेपछि मात्र तिलिचो पुगियो, अनि केहि जितेजस्तो आनन्द अनुभव भयो । सारा थकान बिर्सियो । हिमालको बिचमा रहेको ताल सेतो क्यानभासमा निलो रङले चित्र कोरेजस्तो थियो । किनारमा विरलै ढुङ्गा देखिन्थ्यो, देखिन्थ्यो त बुद्धमार्गीहरुको प्रेअर फ्ल्यागस् फर्फराइरहेको अनि आगन्तुकहरुले ढुङ्गामाथि ढुङ्गा चिनेर बनाएका ढुङ्गाका चाङहरु । मौसम मध्यम थियो न त पुरै सफा न त बादल भरिएको । पानी छुने आँट आएन । केहि थान फोटा खिचियो, तर बाटामा मोबाइल बालेर हिडेको अनि चार्ज गर्ने तालमेल नमिलेका कारण मोबाइलको ब्याट्रि लो देखाइसकेको थियो ।
“तिलिचो ताललाई स्थानिय भाषामा ‘तिरिछो’ भन्दा रहेछन् जहाँ ‘तिरि’ को अर्थ ‘कुनाकाप्चा’ र ‘छो’ भनेको ‘ताल’ हुँदो रहेछ । यो ताल तिलिचो, निलगिरी, खम्सार र मुक्तिनाथ हिमालको काखमा तिलिचो हिमाल र निलगिरी हिमालको हिमनदीबाट बनेको रहेछ । हिमालय पर्वत शृखलामा रहेको यो तालको लम्बाइ ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ २ सय मिटर रहेको जानाकारी पाइयो । विभिन्न अन्तराष्ट्रिय सर्वेक्षणहरुले जीवनमा एकपटक पुग्नै पर्ने उत्कृष्ट १० गन्तव्य मध्येको एक अन्नपुर्ण पदयात्रा अन्तर्गत पर्ने यो ताल समुन्दी सतहबाट सबैभन्दा उचाइ ४९१९ मिटरमा अवस्थित रहेछ ।”
यसैबिच, लगेका तयारी खाजा, चिसो, चकलेट पनि बाँडेर खाइयो । अलिअलि हावा चल्न थालिसकेको साथै शरिर पनि थकित भएकाले करिब आधा घण्टाको रमाइलो बसाई पछि फर्कने सुर कसियो । फर्कदा भने जति तल झर्यो त्यति अक्सिजनको मात्रा बढी भएर होला राहत महसुस गरियो । बिहान जाँदा निकै समय लागेको अनि कठिन महसुस गरिएको ठाउँहरु छिट्टै पार गरियो । मौसम खुलेकाले दृष्य अझ प्रष्ट देखियो । बाटोमा पहिरो देख्दा आङै सिरिङ्ग भयो, थकाइ अनि भोकले गर्दा होला बोल्ने आँट त्यति आएन । बेस क्याम्पमा पुगेर खाना खाई केहि समय आराम गरि पुनः अगाडि बढीयो । त्यसपछि करिब ३ घण्टामा श्रीखर्क हुदै खाङसार आइपुग्दा अध्यारो भइसकेको थियो । टेन्ज होटल, खाङसारमा त्यो रात बिताइयो । खाना खाएर सुतिहालियो । केहि असहज त भयो नै तर पनि आँखा चिम्लदै निदाउने प्रयास गरियो । कताकति निन्द्रा लागे पनि आँखा ओभानै भए ।
चौथो दिन
यस दिन पनि हामी सबेरै बिउझियौं किनकि निन्द्रा राम्रोसँग लागेन । करिब ५ बजेतिर उठियो, सुपमात्र खाएर होटलबाट बिदा भइयो अनि फर्कने यात्रा तय गरियो । जब हामी पार्किङमा रहेको गाडि स्टार्ट गर्न लाग्दा चिसोले गाडि स्टार्ट भएन । पछाडिबाट धकेलियो तर पनि केहि सिप लागेन । जब ब्याट्रि हेरियो अनि थाहा भयो कि ब्याट्रिको तार जोड्ने ठाउँमा त सेतै हिउँ पो जमेको रहेछ । अनि पर्याे फर्साद, नजिकैको होटलमा गएर रु ३०० तिरेर १ थर्मस तातो पानी ल्याएर हिउँ पगाल्न हालियो । तर अन्तिममा स्थानियको जीपको ब्याट्रि जोडेर स्टार्ट गरियो । त्यसपछि मनाङ हुदै फर्कियो, बाटामा चरिरहेको चौंरी गाई पनि देखियो, गाडि रोकि फोटो, भिडियो खिचियो । मर्स्याङदीको किनारै किनार फर्कियो । एयरपोर्टको नजिकै स्याउ फर्ममा रोकियो तर ठुला स्याउ सकिएकाले साना–साना मात्र रहेछन्, अनि बोटमा पनि सकिएको । पाँच किलो स्याउ रु ५०० मा किनेर पुनः अगाडि बढियो । स्याउ ताजा नभएपनि चाख्दा फरक स्वाद पाइयो । त्यसपछि हामी अगाडि बढिरह्यौ । अनि बिचमा मनाङको अर्गानिक स्याउबाट बनाइएको वाइन फ्रयाक्ट्रि तथा विक्री कक्ष अगाडि रोकियो, केहि फोटा खिचियो र विष्णु सरले सम्पर्क गराउनुभएको साथीलाई फोन गरियो तर उहाँ बाहिर भएका कारण भेट्न सकिएन । चामेमा आएपछि बिहानको खाना खाइयो । बाटोमा पदयात्रीहरुहरु प्रशस्तै देख्न सकिन्थ्यो । त्यसपछि पुनः यात्रा निरन्तर रहिरह्यो ।
विभिन्न बस्ति तथा साना गाउँ एवं भूभागहरु पार गर्दै ग्रिन लेक जानको लागि रोकियौ। झोलुङ्गे पुल पार गरि करिब १० मिनेटको पैदल यात्रा पछि त्यहाँ पुगियो, मोटरसाइकल भने तालमै पुग्दो रहेछ । वरिपरि सल्लाको बिचमा ताल र नजिकै होटल पनि रहेछ । अनि माथितिर हेर्दा प्रष्ट हिमाल देखिने घमाइलो मौसम रमाइलो लाग्यो । सम्झना स्वरुप केहि तस्बिरहरु कैद गरेपछि फेरि अगाडि बढीयो । निरन्तर यात्रामा बिचबिचमा बाटो भिडियो बनाउदै, बाँकि रहेका चकलेट, अनि स्याउ टोक्दै रमाइलो गर्दै यात्रा अगाडि बढीरह्यो । बिचबिचमा गीत सुन्दै त घरीघरी दोहोरी गाउदै यात्रा गरियो । लामो समयपछि धारापानीमा आइ खाजा खाइयोः चाउचाउ र अन्डा । ति साँघुरा अनि घुमाउरा बाटाहरु छिचोल्दै लमजुङ बेशीसहर आउदा घाम छिप्पिइसकेको थियो । केहि समय त माथि अग्ला पहाड तल नागबेलि झै मर्स्याङदी नदी अनि शिरमा उस्तै अग्लो भिर भएको पहाडको बाटो पार गर्दा पट्यार पनि लाग्यो । जति अगाडि गएपनि नआउने ठाउँ र दृष्यहरु प्राय: उस्तै उस्तै । तर बाटामा देउसि भैलो खेल्दै गरेका समुहको नाचगान तथा साँस्कृतिक पहिरनले मनै फुरुङ्ग गराउथ्यो । अनि आजै फर्कने कि बेशिसहर बस्ने भन्ने भयो । थकान पनि छ बसौं भो भनेर लमजुङ बेसिशहरको होटल रोयल माउन्टेनमा खाना खाइवरी त्यो रात रमाइलो गरि बिताइयो ।
पाँचौं दिन
यात्राको अन्तिम दिन भएकाले बिहान चिया खाएर होटलबाट बिदा भयौं । यसै बिच सन्दिप दाईलाई बेसिशहरबाट काठमाडौं जाने माइक्रोबस काउन्टरबाट बिदा गरियो । डुम्रे–बेसिशहर सडक खण्ड छोडि सुन्दरबजार तर्फ लाग्नासाथ गाडीमा समस्या आयो । लोकेशन सोधेर ग्यारेजमा गाडी देखायौं, तिहार तथा छठको पुर्वसन्ध्या भएर होला मिस्त्रीहरु पनि धेरै नभेटिने । करिब २ घण्टासम्मको प्रयासपछि पनि समस्या समाधान नभएपछि त्यहि खाना खाने निधो गरियो । अनि पोखरासम्म विस्तारै जान सकिने आँकलनका साथ
अगाडि बढ्यौं । बाटो बिराएर जादा भन्दा फरक बाटो लागिएछ । तर बाटो उस्तै जस्तो पछि राम्रो पिच बाटो पुगियो, यात्रा झन सहज भयो । करिव ३ घण्टापछि राजचौतारा हुदै लेखनाथ तालचोकमा पुगेपछि पृथ्वी राजमार्गलाई भेटियो । कमल भान्जालाई पनि त्यँहिबाट बिदा गरियो । अनि पोखरामा गाडि मर्मतका लागि महेन्द्र शोरुममा छाडि भ्यान चढेर वालिङ आइयो । बिदुर दाई बयरघारी ओर्लनुभयो । म र कृष्ण दाई वालिङमा ओर्लदा रात परिसकेको थियो ।


….र अन्त्यमा
यदि तपाई पनि हिमाल पारीको जिल्ला मनाङमा रहेको संसारको उच्च स्थानमा रहेको तिलिचो आसपासमा घुम्न जादै हुनुहुन्छ भने यी व्यवहारिक सुझावहरु तपाईका लागि रामवाण हुन सक्छन्ः
- यात्राका लागि मानसिक रुपमा तयार हुनुस्, यात्रा गर्ने केहि दिन अघिदेखि चुरोट, जाँड–रक्सि र गाँजा सेवन नगर्नु यसले स्वासप्रस्वासमा असर पार्न सक्छ ।
- बाक्लो र न्यानो लुगा लगाउनु तर हिड्न असहज हुने गरि धेरै नलगाउनुहोस्, हिड्दा पसिना आउन सक्छ अनि भित्र चिसो हुन सक्छ ।
- एसिटाजोलामाइड औषधि हाइ अल्टिच्युडमा पुग्नु अगाडि देखि नै नियमित सेवन गर्नु लाभदायक हुन्छ ।
- ट्रेकिङमा आउनु अघि पनि पैदलयात्राको अभ्यास गर्नु राम्रो हुन्छ । मौसमको पनि ख्याल राख्न् उपयुक्त हुन्छ ।
- बाटामा खाजाका लागि धेरै खानेकुरा भन्दापनि बढी इनर्जी दिने कुराहरु जस्तै चकलेट, काजु आदी लैजानु
- मुख चलाइरहन सुख्खा हुन नदिन लसुन तथा अदुवाका टुक्राहरु लिएर चाप्न नबिर्सनु, तातो पानीका लागि आफ्नै थर्मस बोक्न उत्तम हुन्छ ।
- एक्लिमाटाइज हुनका लागि पहिलो दिन चामे वा मनाङमा बास बस्दै क्रमशः खाङसार तथा आधार शिविर आदी जस्ता ठाउँठाउँमा रात बिताउदै शरिरलाई बानी पारेरमात्र माथि जान सकिन्छ ।
- सफा र स्वच्छ पानी तथा प्रशस्त झोलिलो खानेकुरा खानु तथा सादा खानाका अलवा हाई क्यालोरियुक्त चिजमा ध्यान दिनुस् ।
- हिउँग्रस्त क्षेत्रमा हिड्दा हिउँ टल्कनबाट बच्न कालो चस्मा र चिप्लिनबाट जोगिन गोटिबाला तर हिड्न सहज हुने खालको जुत्ता प्रयोग गर्न सकिन्छ ।
- सबेरै अध्यारो बिहानीमा पनि हिड्नु पर्ने हुदाँ लाइट वा टर्च लिएर जान नभुल्नु, ताल परिसरमा सबेरै पुग्नु नत्र हावा चल्न सक्छ ।
- पहिरो ग्रस्त क्षेत्रमा यात्रा गर्दा सबै सँगै हिड्नुभन्दा एकजनाले माथिबाट पहिरो वा ढुङ्गाहरु खस्छ कि हेर्दै पालैपालो अगाडि बढ्नुहोस् ।
- बेलाबेलामा चियाको सट्टा गार्लिक सुप पिउन सकिन्छ ।
- पदयात्रामा आत्तिएर छिटोछिटो नहिड्नुहोस् । तर घोडाको यात्राभने अलि महंगो पर्दोरहेछ ।
- बास बस्नका लागि भन्दा बढी पैसा खानाका लागि छुट्टायाउनुहोस् र बाटामा खाने चिजहरु सकेसम्म आफै बोकेर लैजानुहोस् , पछि किन्नु परे अलि महंगो पर्न सक्छ ।
- पदयात्रामा टेक्ने लठ्ठी पनि लैजान नबिर्सनु अनि ट्वाइलेट पेपर पनि किनकी पानीमा हिउँ जम्न सक्छ ।
- साधारण रुँघा खोकि, चिसो, ज्वरो, ग्यास्ट्रिक लगायतका औषधीहरु आफै बोकेर जान सकिन्छ ।
- उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमीले लेक लाग्दा टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाक लाग्ने, रिंगटा लाग्ने, अस्वभाविक रुपमा थकाइ लाग्ने हुन सक्छ त्यसो भएमा माथि नजाने वा त्यहि आराम गर्ने, पानी पिउने र औषधी पनि २५० mg दिनको दुई पटक खाने ।
- त्यसैगरि बेस्सरि टाउको दुख्ने, बान्ता हुने, शरिर असन्तुलित हुने, आराम गर्दा पनि स्वाँ–वाँ हुने, दिमाखले राम्रो काम नगर्ने, अति थकाइ लाग्ने तथा बेहोस भएमा फर्किहाल्ने साथै तल झर्दा एकजना साथीसँग झर्ने । (यसको लागि माथि चढ्नु अघि खाङसार स्वास्थ्य चौकि र तिलिचो बेस क्याम्प अस्थायी आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गराउन सकिन्छ ।)
- गाडी वा मोटरसाइकल खाङसार क्षेत्रमा पार्किङ गर्दा पछि चिसोका कारण सहजै स्टार्ट नहुन सक्छ त्यसैले ओरालो तर्फ धकेल्न मिल्ने गरि पार्किङ गर्नुहोस् ।
- ज्यान जोखिममा पर्ने गरि कहिल्यै पनि यात्रा नर्गनुहोला किनकि उद्वार समयमै नहुन पनि सक्छ साथै निकै मुल्य चुकाउनुपर्ने हुनसक्छ वा ज्यानै जान पनि सक्छ ।
र यो पनि…
यदि तपाईसँग प्राइभेट सवारीको अनुकुलता छैन भने लमजुङ, बेसिशहर सम्म सार्वजनिक सवारी, बाइक वा स्कुटरमा गई त्यँहाबाट खाङसारसम्मको लागि स्थानिय भाडाका जीप चढ्ने, करिब ६÷७ घण्टामा खाङसार पुगिन्छ । त्यो रात त्यँहि बास बसि पदयात्रा पछि अर्को रात बेस क्याम्प बसि बिहानै उठेर तिलिचो ताल घुमेर खाङसारमा नै आई बास बस्न सकिन्छ, अनि सोहि अनुसार फर्कन पनि विकल्प हुनसक्छ ।
(लेखक श्री बालसिद्व माध्यमिक विद्यालय,वालिङ्गका शिक्षक हुन्।)