तीज नेपाली नारीहरूको महान् पर्व हो । यसले दिदीबहिनीबीचको आत्मीयता, धार्मिक आस्था, सांस्कृतिक झल्को र सामाजिक एकताको सन्देश दिन्छ । परम्परागत रूपमा तीज व्रत बस्ने, शिवपूजा गर्ने, दिदीबहिनी मिलेर दर खाने र गीतगाउने पर्व हो । यसले नारीको श्रद्धा, समर्पण र आत्मबललाई उजागर गर्छ । तर पछिल्ला वर्षहरूमा तीज आफ्नो मौलिकता गुमाउँदै गएको देखिन्छ ।
आजभोलि तीजमा गीत–संगीतमा उत्तेजना, तडकभडक र व्यवसायिकता हावी भएको छ । सन्देशमूलक भाकाभन्दा पनि नृत्यमैत्री र अश्लीलतासम्म पुग्ने गीत प्राथमिकतामा छन् । तीजको नाममा भोजभतेरमा अत्यधिक खर्च, महँगो गहना–लुगा प्रदर्शन र प्रतिस्पर्धा बढेको छ । कतिपयले त तीजलाई राजनीति गर्ने अवसरका रूपमा पनि प्रयोग गर्न थालेका छन्, जसले पर्वको पवित्र उद्देश्यलाई धमिलो बनाएको छ । यस्तै गरी महिनौँसम्म चल्ने दरको परम्परा देखापर्नु अर्को विकृति हो । दर खानु आत्मीयता र स्वास्थ्यसँग सम्बन्धित भए पनि यसलाई हप्तौँ–महिनौँसम्म लम्ब्याउनु मौलिक संस्कृतिसँग मेल खाँदैन ।
सचेत नागरिकका रूपमा हामीले बुझ्नुपर्ने कुरा के हो भने तीज केवल मनोरञ्जन वा प्रदर्शनको पर्व होइन । यो हाम्रो मौलिकता, आस्था र संस्कृतिको धरोहर हो । त्यसैले यसलाई विकृतिबाट जोगाउन सबै मिलेर सचेत हुनुपर्छ । सन्देशमूलक गीत गाउने, साधारण तर आत्मीय ढंगले दर खाने, तडकभडक कम गर्ने र राजनैतिक रंग नचढाउने हाम्रो दायित्व हो । विद्यालय, समाज र सञ्चारमाध्यमले पनि मौलिक परम्परा र संस्कृतिको महत्त्वबारे सचेतना फैलाउनुपर्छ ।
हामी सबैले मिलेर तीजलाई यसको मौलिक स्वरूपमै जोगाउन सके मात्र भविष्यको पुस्ताले यसको वास्तविक स्वाद पाउनेछ । तीजले नारीको श्रद्धा, आत्मबल र संस्कृतिप्रतिको आस्था झल्काइरहोस् भन्ने कामना गर्दै सबै दिदीबहिनीहरूलाई हार्दिक शुभकामना — तीजले तपाईंहरूको जीवनमा स्वास्थ्य, शान्ति, माया र आत्मबल थपियोस् ।