नेभिगेशन
समाज

आत्महत्या निरुत्साहन गर्न जनचेतना 

आत्महत्या निरुत्साहन गर्न  प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाले भीरकोट नगरपालिकामा अभिमूखीकरण, अन्तरक्रिया र छलफल कार्यक्रम गरेको छ l कार्यालयले भीरकोट नगरपालिकासँग समन्वय गरी  वडा नम्बर ७ र ८ मा  अभिमूखीकरण, अन्तरक्रिया र छलफल कार्यक्रम गरेको नगर स्वास्थ्य शाखा प्रमुख अन्जु सापकोटाले जानकारी दिनुभयो l प्रदेश जनस्वास्थ्य कार्यालयका अधिकृत सन्तोष पौडेल र भीरकोट नगर अस्पतालका डा. राजिव झाले संयुक्त रूपमा जनप्रतिनिधि , शिक्षक, आमा समुहका सदस्य र स्थानीयहरूलाई प्रशिक्षण दिनुभएको हो।

गत आर्थिक वर्षमा भीरकोटमा १० जनाले आत्महत्या गरेका थिए lयो आर्थिक वर्षको चैत मसान्तसम्म ३ जनाले आत्महत्या गरिसकेका छन् l  वडा नम्बर ७ र ८ मा आत्महत्या गर्नेको संख्या बढी देखिएकाले यी २ वटा वडामा जनचेतना अभिवृद्धिका कार्यक्रम संचालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजारका जनस्वास्थ्य अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो l 

तथ्यांकलाई नै आधार मानेर जनस्वास्थ्य कार्यालयले स्थानीय सरकारसँग समन्वय गरी भीरकोट नगरपालिकामा जनचेतना अभिवृद्धि गर्न अभिमूखीकरण, अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न गरेको  पौडेलले जानकारी दिनुभयो l मानसिक रोगको अन्त्य आत्महत्या भएकोले मानसिक रोगको पहिचान र उपचार समयमै गर्ने हो भने आत्महत्या कम गर्न सकिने जनस्वास्थ्य अधिकृत सन्तोष पौडेलले बताउनुभयो l आत्महत्याले मरेर जानेलाई भन्दा बाच्नेलाई अझ बढी पीडा हुने भन्दै उहाँले यसको न्युनीकरण गर्न जनचेतनालाई प्राथमिकता दिइएको बताउनुभयो l

प्राकृतिक प्रकोप, पारिवारिक कलह , घरेलु हिँसा , दुर्व्यवहार, कुटपिट, लागूऔषधको प्रयोग, अन्तरजातीय विवाह, असमानता, गरिबी, अभाव, बलात्कार, दीर्घ रोग, मनोसामाजिक समस्या आदि जस्ता कारणले व्यक्ति मानसिक रोगको सिकार बन्ने अध्ययनले देखाएको छ l मानसिक समस्या भएका व्यक्तिहरू एकान्तमा बस्न रुचाउने, भविष्यको कुनै योजना बनाउन नसक्ने, पुराना र नकारात्मक कुराहरूमात्र याद गर्ने, उत्तेजनात्मक र झगडालु व्यवहार देखाउने, निन्द्रा नलाग्ने, अरूलाई कत्तिपनि विश्वाश नगर्ने, निन्द्रा नलाग्ने, अनावश्यक डराउने, टाउको दुख्ने, खाना खान मन नलाग्ने, ध्यान केन्दित गर्न नसक्ने, पटकपटक आत्महत्याको सोच आउने  जस्ता समस्याहरूबाट पिडित हुने मनोचिकित्सक र स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् l यस्ता समस्या देखिएका व्यक्तिहरूले समयमा मनोचिकित्सकलाई भेटी आवश्यक परामर्श र औषधी उपचार गरे निको हुने जनचेतना जगाउन फिल्डमा खटिनुभएका जनस्वास्थ्य अधिकृत पौडेलले जानकारी दिनुभयो l  समयमा उपचार नभएमा थप मानसिक समस्या देखिने र  त्यस्ता व्यक्तिहरूले आत्महत्याको बाटो रोज्ने देखिएको उहाँले बताउनुभयो l 

वडा नम्बर ८ का वडा अध्यक्ष नन्दलाल खनालले बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनका क्रममा विद्यालय र समुदायमा जनचेतना अभिवृद्धि कार्यक्रमलाई नगरपालिकाभरी निरन्तर  संचालन गरिएको जानकारी दिनुभयो l बालबालिकालाई सामाजिक समस्या, धुम्रपान, मद्यपान, बालविवाह, बहुविवाह जस्ता विषयमा जनचेतना कार्यक्रम सबै वडामा संचालन गरिएको बताउनुभयो l समाजमा विभेद ,असमानता र गरिबी पनि आत्महत्याको कारण भएकाले यसलाई  हटाउन , आमा र बच्चाको स्वास्थ राम्रो बनाउन २० वर्षे बालबचत अभियान र रातोभाले कार्यक्रम वडा नम्बर ८ मा संचालन गरिएको जानकारी दिनुभयो l भीरकोट नगरपालिकाको वडा नम्बर ८ मा जन्मने हरेक बच्चाको खातामा वडाको ५ हजार र अभिभावकको ५ हजार गरी वार्षिक १० हजार २० वर्षसम्म बचत गर्ने कार्यक्रम कार्यान्वयनको  चरणमा पुगेको उहाँले बताउनुबह्यो l बच्चा र आमालाई स्वस्थ बनाउन एउटा कुखुराको भाले र न्यानो कपडासहित जनप्रतिनिधि हरेक नवजात शिशु र बच्चालाई भेट्न घरदैलोमा नै पुग्ने गरेको उहाँको भनाई छ lजनचेतना अभिवृद्धि र जनाकल्याणका कामहरूलाई निरन्तर संचालन गर्नुपर्ने आवश्यकता औल्याउदै उहाँले आगामी सरोकारवालासँग सहकार्य र समन्वय गरी थप कार्यक्रमहरू संचालन गरिने बताउनुभयो l

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्